बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले मन्त्रिपरिषदलाई पूर्णता दिन सकेका छैनन्।
दोस्रो पटक विश्वासको मत पाएको झन्डै दुई महिना हुँदा पनि मुख्यमन्त्री जम्कट्टेलले सरकारलाई पूर्णता दिन नसकेका हुन्।
सत्ता गठबन्धनका दलहरूबीच मन्त्रालय भागबन्डामा सहमति जुट्न नसक्दा मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेको हो।
राष्ट्रपति निर्वाचनका बेला केन्द्रमा सत्ता समीकरण फेरबदल भएपछि त्यसको प्रभाव प्रदेशमा पनि परेको थियो। मुख्यमन्त्री जम्कट्टेललाई नेकपा एमाले र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएका थिए। जसका कारण मुख्यमन्त्री जम्कट्टेलले दोस्रो पटक विश्वासको मतसमेत लिनुपरेको थियो।
मुख्यमन्त्रीलाई विश्वासको मत दिने बेला नै नेपाली कांग्रेसले 'पावर सेयरिङ' मा सहमति हुनुपर्ने अडान राखेको थियो। त्यही कारण विश्वासको मत लिने मितिसमेत २ दिन पर धकेलिएको थियो। मुख्यमन्त्री जम्कट्टेलले चैत ८ गते विश्वासको मत लिने तयारी गरेका थिए। तर कांग्रेसले 'पावर सेयरिङ'को अडान नछाड्दा चैत १० मा मात्रै मुख्यमन्त्रीले विश्वासको मत लिएका थिए।
कांग्रेसका बागमती संसदीय दलका नेता बहादुरसिंह लामाले केन्द्रको निर्देशनका कारण 'पावर सेयरिङ'मा लिखित सहमतिबिनै मुख्यमन्त्रीलाई विश्वासको मत दिइएको सेतोपाटीलाई बताए। त्यसबेला कांग्रेसले ६ मन्त्रालय पाउने मौखिक सहमति भएको दाबी उनको छ।
कांग्रेसले उक्त सहमतिलाई पालना गर्नुपर्ने अडान मुख्यमन्त्री जम्कट्टेलसँग राखेको छ। साथै एकीकृत समाजवादीले पनि आफूहरूले २ मन्त्रालय नपाए सरकारमा नजाने अडान राखिरहेको छ। कांग्रेस र एकीकृत समाजवादीलाई मुख्यमन्त्रीले 'चित्त बुझाउन नसक्दा' मन्त्रिपरिषदले पूर्णता पाउन सकेको छैन।
सत्तारूढ नेकपा माओवादी केन्द्रका मुख्य सचेतक रत्न ढकालले कांग्रेस र एकीकृत समाजवादीको हठका कारण मन्त्रिपरिषद विस्तारमा ढिलाइ भइरहेको बताए।
दलहरूबीच मन्त्रालय भागबन्डामा सहमति नहुँदा मुख्यमन्त्री जम्कट्टेल र कांग्रेस संसदीय दल नेता लामाले विभिन्न मन्त्रालयको जिम्मेवारी लिएका छन्। लामाले वन, उद्योग पर्यटन र स्वास्थ्य मन्त्रालयको जिम्मेवारी लिएका छन् भने यातायात र कृषि मन्त्रालय मुख्यमन्त्री जम्कट्टेलले हेर्दै आएका छन्।
‘मुख्यमन्त्रीज्यूले कांग्रेस र एकीकृत समाजवादीका नेताहरूसँग छलफल गरिरहनुभएको छ। तर सहमति हुन सकिरहेको छैन,’ ढकालले भने।
मन्त्रालय भागबन्डाको रस्साकस्सीबीच गत चैत २६ गते कांग्रेसले २ जनालाई सरकारमा पठाएको थियो।
संसदीय दलका नेता बहादुरसिंह लामा आर्थिक मामिला तथा योजना मन्त्री र तीर्थ लामा उर्जा तथा सिँचाइ मन्त्री बनेका थिए।
११ सदस्यीय मन्त्रीमण्डलमा माओवादीबाट मुख्यमन्त्रीसहित ४ जना चैत १० अघिदेखि नै सरकारमा छन्। तीमध्ये आन्तरिक मामिला मन्त्री गंगानारायण श्रेष्ठ बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका हुन्।
५ मन्त्रालय बाँकी रहँदा कांग्रेस थप ४ मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेको छ। एकीकृत समाजवादीले २ मन्त्रालय चाहिने अडान छाडेको छैन। ३७ सिटसहित आफूहरू प्रदेश सभाको ठूलो दल भएकोले चाहेजति मन्त्रालय पाउनुपर्ने अडान कांग्रेसको छ।
'कि पहिल्यै ६ वटा दिन सकिँदैन भन्नुपर्थ्यो, सहमति गरेर कार्यान्वयन नगर्ने हो भने गठबन्धनमा कसरी विश्वास कायम हुन्छ?,' कांग्रेस संसदीय दल नेता लामाले प्रश्न गरे।
यसबीचमा मुख्यमन्त्री जम्कट्टेलले एकीकृत समाजवादीलाई एक मन्त्रालय र एक संसदीय समितिको सभापति दिने प्रस्ताव अघि सारेर छलफल गरे पनि एकीकृत समाजवादीले मानेको थिएन।
एकीकृत समाजवादीकै कारण मन्त्रिपरिषदले पूर्णता पाउन नसकेको कांग्रेस संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले दाबी गरे। 'उहाँहरूले अल्लि बढी नै खोज्नुभयो, त्यो भएर मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेन,' चित्रकारले भने।
एकीकृत समाजवादीका सांसद लक्ष्मण लम्सालले गठबन्धनमा सबै दलको आवश्यकता र अस्तित्वलाई स्वीकार गर्न कांग्रेस तथा माओवादीलाई आग्रह गरेका छन्। '२ मन्त्रालय पाउनुपर्छ भन्ने हाम्रो बटमलाइन हो, त्यसमध्ये एउटा रोजेर लिने हो,' उनले भने।
एकीकृत समाजवादीलाई सरकारमा सहभागी नगराउन कांग्रेसले नियोजित रूपमा ६ मन्त्रालय दाबी गरेको उनको आरोप छ।
बाहिर आश्वासन बाँड्ने तर सहमति नगर्ने कांग्रेस र माओवादीको प्रवृत्तिका कारण सहमति नभएको उनले बताए। 'व्यक्तिगत भेट्दा तपाईंहरूको माग जायज छ, पाउनुपर्छ भन्छन्। तर छोड्न कोही तयार हुँदैनन्,’ लम्सालले भने, 'माओवादीले छोड्नै चाहेन, कांग्रेस दिनै खोज्दैन।'
२ वटा मन्त्रालय नपाउने अवस्थामा आफूहरूले नयाँ कदम चाल्ने उनी बताउँछन्। दलहरूबीच सहमति जुट्न नसकेपछि कांग्रेस संसदीय दलका नेता लामा बुधबार काठमाडौं आएका छन्।
बजेट ल्याउने बेला भइसक्दा पनि सरकारलाई पूर्णता दिनेबारेमा दलहरू गम्भीर नभएपछि केन्द्रबाटै निर्णय गर्नुपर्ने अवस्थामा पुगेको लामाले बताए।
उनले केन्द्रबाट सहमति गरेर भए पनि जेठ ९ गतेभन्दा अगाडि नै कांग्रेसले मन्त्रीको नाम पठाउने बताए। ३ दलको लडाइँमा २ सांसद रहेको हाम्रो नेपाली पार्टीले भने मन्त्रालय नपाउने संकेत देखिएको छ।
'हामीले मन्त्रालय पाउने/नपाउने कुरा गौण हो। अहिले सरकारले छिटो पूर्णता पाओस् र जनताका काम धमाधम होस् भन्ने हाम्रो चाहना छ,' हाम्रो नेपाली पार्टीका सांसद शैलेन्द्रराज बज्रचार्यले भने।