नेपाली कांग्रेसभित्र अहिले उकुसमुकुस छ। संसदको सबैभन्दा ठूलो दलभित्र छलफल र बहस हुनुपर्ने एक होइन, अनेक विषय छन्। तर नेता-कार्यकर्ताले आफ्ना कुरा राख्ने उपयुक्त थलो पाएका छैनन्।
कमै बोल्ने स्वभावका सभापति शेरबहादुर देउवा पछिल्लो समय त लगभग मौन छन्। साउनयता केन्द्रीय समिति बैठक बस्न सकेको छैन।
यहीबीच संसदको चुनाव भयो। पाँच दलसँग गठबन्धन गरेर चुनावमा होमिएको कांग्रेस चुनावपछि बनेको नयाँ गठबन्धनका कारण विपक्षी दल बन्न पुग्यो। राष्ट्रपतिको चुनावसँगै ऊ फेरि सत्तासीन भएको छ।
यही बीचमा उपनिर्वाचन भयो। तीन निर्वाचन क्षेत्रमा उपचुनाव हुँदा कांग्रेसले दुई ठाउँमा उम्मेदवार उठायो। तर एउटामा पनि जित निकाल्न सकेन।
कांग्रेसले चुनावअघिको गठबन्धन, त्यसको नतिजा, सरकारमा सहभागिता, उपनिर्वाचनको परिणामलगायत कुनै पनि विषयमा समीक्षा गरेको छैन।
पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणमा केन्द्रीय सदस्य एवं पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेपछि कांग्रेसले उनलाई निलम्बन सम्म गर्न सकेको छैन।
१४ औं महाधिवेशन भएको डेढ वर्ष भए पनि केन्द्रीय समिति पूर्ण छैन। कोषाध्यक्ष छैनन्। २८ विभाग रित्तै छन्, भ्रातृ संस्थाले पूर्णता पाएका छैन, महाधिवेशनका बेला गर्ने भनिएको नीति महाधिवेशन कहिले हुन्छ अत्तोपत्तो छैन।
यतिका विषय हुँदा पनि सभापति देउवा पुरानै शैलीमा चलिरहेका छन्। छलफल र बहस गरेर विषयलाई टुंग्याउनेतर्फ उनले कुनै चासो देखाएका छैनन्।
सभापति देउवाले कार्यशैली सुधार गर्नुपर्ने महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको भनाइ छ।
कांग्रेसभित्रको उकुसमुकसबारे महामन्त्री थापाले बेलाबेलामा सामाजिक सञ्जालमा लेख्ने गरेका छन्। बुधबार प्रजातान्त्रिक विचार समाजको महाधिवेशनमा उनले कांग्रेस अहिलेको स्थितिमा आइपुग्नुका केही कारण खुलाए।
पहिलो, अलपत्र पार्टी संरचना
कांग्रेस विधानले महाधिवेशनको ६ महिनाभित्र केन्द्रीय समितिलाई पूर्णता दिन, कोषाध्यक्ष मनोनीत गर्न, विभाग र समितिहरू बनाउनुपर्ने भनेको छ। तर सभापति देउवाले यी काम अगाडि नै बढाएका छैनन्। विभाग र भ्रातृ संस्थालाई पूर्णता दिएर परिचालन गर्ने भने पनि केन्द्रीय समिति नै बस्न सकेको छैन।
कांग्रेसले चुनावमा पनि आफ्नै पार्टी संरचना परिचालन गर्न सकेन। कांग्रेसका ८ लाख ४२ हजार क्रियाशील सदस्य छन् तर उनीहरूमध्ये अधिकांश चुनावमा खटेनन्। पार्टीले जिम्मेवारी नदिएको भन्दै पन्छिएका थिए। वडादेखि केन्द्रसम्म कांग्रेसमा ८ तहमा संरचना छ।
‘विभाग र भ्रातृ संस्था पूर्णता नदिँदा पार्टी केही कमजोर भएको साँचो हो तर यो गौण कुरा हो,’ थापाले भने।
दोस्रो, कांग्रेसका तीन तहमध्ये बीचको निष्क्रिय
महामन्त्री थापाका अनुसार कांग्रेसमा तीन तह छ। पहिलो कार्यकर्ताहरू हुन्। दोस्रो, शुभेच्छुक संघसंस्था र तेस्रो मतदाता तथा समर्थक हुन्। पार्टीको झन्डा र झोला बोकेर हिँड्ने कार्यकर्ता पार्टीका निर्णयअनुसार चल्छन्। निर्णय प्रक्रियामा विचार फरक-फरक राखे पनि पार्टी केन्द्रीय समितिको निर्णय कार्यकर्ताले मान्छन्, नेताका आदेश मान्छन्।
बीचको तह हो, शुभेच्छुक। प्रजातान्त्रिक विचार समाजजस्तो।
‘शुभेच्छुक संघ-संस्था हामीजस्तो झोला बोकेर हिँड्ने होइन। नेतृत्वले गरेका तमाम कामलाई निर्णय हेरेर प्रश्न गर्ने, अवज्ञा गर्ने र दबाब दिने हो,’ थापाले भने, ‘यो पंक्ति कमजोर हुँदा पार्टी नेतृत्वको गलत प्रवृत्ति थप बलियो भएको छ।’
बीचको तह नै लोभ र डरका कारण कमजोर भइरहेको थापाको भनाइ छ।
‘कतिपय ठाउँमा प्रश्न गर्दा नेता रिसाउँछ कि भन्ने ठान्न थाल्यो। कतै टिकटको लोभमा पर्यो,’ उनले भने, ‘भ्रातृ संघसंस्थामा राख्छ/राख्दैन डर पाल्न थाल्यो। डर र भरमा शुभेच्छुक संस्था हुँदा नेतृत्वलाई खबरदारी पुगेन।’
तेस्रो तह हो, मतदाता र समर्थक। कांग्रेसलाई चुनावमा मत दिने र समर्थन गर्ने तेस्रो तह भएको थापा तर्क गर्छन्। यसपालि कांग्रेसको भोट विगतका चुनावमा भन्दा बढेको उनले बताए।
‘हामी किन निरन्तर कमजोर र अलमलमा छौं? संगठन चलायमान भएन होला। यो एउटा कुरा हो,’ उनले भने, ‘तर ०१५ को चुनावमा कांग्रेसले धेरै मत ल्याउँदा त्यसबेला केन्द्रीय कार्यालयसमेत थिएन, कोष थिएन। भ्रातृ संस्था थिएनन्। तर त्यसबेला नेताका व्यक्तित्व थियो।’
समर्थक र मतदाताले नेताको व्यक्तित्व भए त्यो हेरेर पनि भोट दिने गर्दछन् भन्ने ०१५ को चुनावले देखाउने उनले बताए।
तर यसपालि चुनावमा कांग्रेसले अपेक्षाअनुसार मत ल्याउन सकेन। ८ लाख बढी क्रियाशील सदस्य भए पनि लोकप्रिय मत धेरै नआएको थापा बताउँछन्।
यसो हुनुमा के कारण हुनसक्छ? थापाले भने, ‘८ लाख बढी क्रियाशील सदस्य भए पनि ०१५ को जस्तो मत अहिले कांग्रेसको आएन किनभने नेतृत्वले जनताको विश्वास र भरोसा गुमाएको छ। हामी जो-जो नेतृत्वमा छौं, अनुहारमा दाग लागेको छ। अनुहारको दाग ऐना पुछेर जाँदैन, अनुहारकै दाग पुछ्नुपर्छ। नेताका अनुहारमा लागेका दाग पुछ्नुपर्यो भनेर प्रजातान्त्रिक विचार समाजजस्ता शुभेच्छुकले भन्न सक्नुपर्छ तर भन्न सकेन।’
तेस्रो, चुनावअघि अरू दलसँग गठबन्धन
कांग्रेसले सबैभन्दा ठूलो गल्ती चुनावअघि नै ५ दलबीच गरेको गठबन्धन भएको महामन्त्री थापाको ठहर छ।
‘चुनावअघि नै गठबन्धन गर्ने निर्णय अपवित्र र अप्रजातान्त्रिक थियो,’ उनले भने, ‘दल भनेका सरकार बनाउनका लागि मात्रै हुन्? विचार, सिद्धान्त केही मिलेको छैन।’
चुनावपछि सरकार बनाउन बहुमत पुगेन भने दलहरूबीच गठबन्धन गर्नु प्राकृतिक हुने उनको भनाइ छ।
‘कांग्रेसको सबैभन्दा ठूलो भुल चुनावअघिको तालमेल हो। हामीले चुनावी तालमेलको निर्णय रोक्न चाहेको हो, सकिएन,’ थापाले भने, ‘त्यस्तो निर्णय भएकोले भारी मैले पनि बोक्नुपर्छ। त्यसबेला हामीले तालमेल गर्न हुन्न भनेर शुभेच्छुक तथा समर्थकबाट साथ पाउनुपर्ने थियो तर पाइएन।’
कांग्रेसका शुभेच्छुक तथा समर्थकले निर्वाचनअघिका तालमेल गलत भनेर त्यसबेला भन्ने सामर्थ्य राख्नुपर्ने थापा बताउँछन्।
चौथो, गलत परम्परालाई निरन्तरता
कांग्रेसले गलत परम्परालाई निरन्तरता दिँदा पनि क्षति पुग्ने गरेको थापा बताउँछन्। बेलाबेला आउने विभिन्न प्रकरणमा नेताहरू मुछिने र आरोपीलाई निलम्बन नगर्ने परम्परा कायमै राख्दा पार्टीलाई क्षति पुगेको उनले बताए।
‘नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीका नेता पक्राउ परेपछि निलम्बन गर्ने/नगर्नेमा बहस चलिरहेको छ। यस्ता प्रकरणमा आरोप लागेकालाई निलम्बन गर्ने र अदालतबाट दोषी ठहरिए जेल पठाउन पार्टीले सहयोग गर्ने हो,’ थापाले भने।
केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाण नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धानलाई प्रहरी नियन्त्रणमा छन्। खाणलाई निलम्बन गर्न पार्टीभित्र माग भइरहे पनि सभापति देउवा यसका लागि तयार देखिएका छैनन्।
‘केही साथीहरूले आरोप लाग्दा हाम्रो पार्टीभित्र निलम्बन गर्ने परम्परा छैन भनिरहेका छन्। गतल कुरालाई परम्पराका नाममा बोक्न हुँदैन,’ थापाले भने, ‘पार्टी भ्रष्टाचारी हुँदैन। कांग्रेसमा आबद्ध कुनै व्यक्तिले भ्रष्टाचार गर्यो भने त्यसलाई निकालेर फाल्ने हो, अनि पार्टी चल्छ।’
उनले खाणलाई तुरून्त निलम्बन गरेर पार्टीबाट अलग राख्दै अनुसन्धानलाई सहयोग गर्नुपर्ने बताए।
पाँचौं, लोकरिझ्याइँको राजनीतिप्रति सतर्क
महामन्त्री थापाले रोकरिझ्याइँको राजनीतिले पनि पार्टीलाई अलोकप्रिय बनाउन सहयोग गरिरहेको उल्लेख गरे।
‘लोकरिझ्याइँको राजनीति नेपाली संस्करण यसरी आएको छ, त्यसले के गर्ने सोच्दैन। के भन्ने मात्रै सोच्छ,’ थापाले भने, ‘के भन्दा मान्छेको भावनासँग खेल्न सकिन्छ, त्यो हेर्छ। तिनीहरूले न कुनै एजेन्डामा जवाफ दिनुपर्ने, न कुनै प्रश्न गर्नुपर्ने!’
मंसिरको आमचुनाव र वैशाखको उपचुनावमा कांग्रेसकै कार्यकर्ताले राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारहरूलाई मत दिएका थिए।
थापाले दक्षिणपन्थी ध्रुवीकरण र वाम एकताका नाममा हुने चलखेलसँग भिड्दै अघि बढ्नुपर्ने बताए।
‘कांग्रेसमा शुद्धीकरण आवश्यक छ। आफ्नो कोर भ्यालुलाई समातेर कांग्रेसलाई नेताबाट नागरिकतिर फर्काउनुपर्नेछ,’ उनले भने।