अर्थ मन्त्रीसमेत रहेका नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले नक्कली भुटानी शरणार्थी प्रकरणमा पार्टीले अनुसन्धानलाई सघाइरहेको बताएका छन्।
मंगलबार बिहान बिजुलीबजारको एक क्याफेमा पत्रकार सम्मेलन गर्दै महतले सभापति शेरबहादुर देउवा पनि यो प्रकरणको निष्पक्ष र स्वतन्त्र अनुसन्धानको पक्षमा रहेको बताए।
नक्कली भुटानी शरणार्थी प्रकरणमा कांग्रेस केन्द्रीय सदस्य बालकृष्ण खाण पक्राउ परेपछि कांग्रेसका प्रवक्ताले पहिलो पटक पत्रकार सम्मेलन गरेका हुन्।
यो विषयमा पार्टीका बैठक र सार्वजनिक रूपमा पनि सभापति शेरबहादुर देउवा किन मौन हुनुहुन्छ? भन्ने प्रश्नमा प्रवक्ता महतले भने- सभापतिको धेरै बोल्ने बानी छैन। उहाँले स्वतन्त्र र निष्पक्ष अनुसन्धानको पक्षमा छौं भन्नुभएको छ। दोषीलाई बचाउनु पर्छ भन्ने हामीले भनेका छैनौं।
यही प्रकरणमा एक अडिओमाथि प्रहरीले छानबिन गरिरहँदा कांग्रेस सांसद मञ्जु खाणबारे अनेक चर्चा भइरहेका छन्। उनी अहिले कहाँ छिन भन्ने प्रश्नमा महतले भने- उहाँ पार्टीको केन्द्रीय सदस्य हो। केन्द्रीय सदस्यलाई हामीले फलो गर्दैनौं।
खाणका श्रीमान बालकृष्ण खाण गत साता पक्राउ परेपछि मञ्जु सार्वजनिक रूपमा देखिएकी छैनन्। उनी संसद बैठकमा पनि अनुपस्थित भएकी छन्।
प्रवक्ता महतले अर्की सांसद आरजु राणा र मञ्जु खाणबारे अहिले मिडिया ट्रायल भइरहेको तर्क गरे।
‘आरजुले त्यो अडिओ फेक हो भनेर साइबर ब्युरोमा उजुरी पनि दिइसक्नुभएको छ। हामीलाई पनि त्यो फेक हो भन्ने लाग्छ,’ महतले भने,‘अहिले उहाँहरूविरूद्ध मिडिया ट्रायल भइरहेको छ।’
पक्राउ परेका केन्द्रीय सदस्य खाणले आफू यो प्रकरणमा निर्दोष रहेको बताएकाले उनलाई पार्टीको जिम्मेवारीबाट निलम्बन नगरिएको महतले बताए।
‘टोपबहादुर रायमाझी र बालकृष्ण खाणको मुद्दा एकै किसिमको होइन,’ महतले भने,‘उहाँले म निर्दोष छु प्रमाणित गरेर देखाउँछु भन्नुभएको छ। दोषी प्रमाणित नहुँदै दोषी करार गर्ने कुरा नमिल्ने भएकाले पार्टीले कारबाही गरेको छैन।’
कांग्रेसका दुई महामन्त्रीहरू गगन थापा र विश्वप्रकाश शर्माले यो विषयमा असन्तुष्टि जनाउनुभएको छ नि भन्ने प्रश्नमा उनले दुई महामन्त्रीले पार्टी पदाधिकारी बैठकमा कुनै असन्तुष्टि व्यक्त नगरेको दाबी गरे।