‘मिनी संसद्’ मानिएको प्रतिनिधि सभाका विषयगत समितिको बैठक आजबाट सुरू भएको छ। संसद् अधिवेशन सुरू भएको छ महिनापछि विषयगत समितिहरू सक्रिय हुन थालेका हुन्।
सभापति चयन नभएकाले समितिको ज्येष्ठ सदस्यको अध्यक्षतामा आजको बैठक बस्यो।
प्रमुख प्रतिपक्षीले पाएको सार्वजनिक लेखा समितिको बैठकको अध्यक्षता नेपाली कांग्रेसका सांसद अर्जुननरसिंह केसीले गरे। समितिको सभापति चयन नभएकाले केसीले बैठकको अध्यक्षता गरेका हुन्।
यता पूर्वाधार विकास समितिको बैठकको अध्यक्षता नागरिक उन्मुक्ति पार्टीका सांसद लालवीर चौधरीले र उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको अध्यक्षता नेकपा माओवादी केन्द्रका सांसद रणेन्द्र बराइलीले गरे।
नेकपा एमालेका सांसद कालुराम राईले शिक्षा तथा स्वास्थ्य समितिको बैठकको अध्यक्षता गरेका छन् भने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकको अध्यक्षताचाहिँ राप्रपाका सांसद पशुपति समशेर जबराले गरे।
कानुन, न्याय तथा मानवअधिकार समितिको अध्यक्षता नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका थिए।
प्रतिनिधिसभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समिति छन्।
संसद सचिवालयमा दर्ता भई प्रतिनिधि सभाले सैद्धान्तिक, दफावार छलफलका लागि पठाएका विधेयकलाई टुंगोमा पुर्याउने जिम्मेवारी समितिको हुन्छ।
संसदीय समितिहरू करिब २५ सदस्यीय छन् ।
तस्बिरहरू