नेपाली कांग्रेसका तीन पदाधिकारीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई भेटेका छन्।
शुक्रबार बिहान बालुवाटार पुगेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मा तथा सहमहामन्त्री भीष्मराज आङ्देम्बेले प्रधानमन्त्री दाहालसँग कुराकानी गरेका हुन्।
प्रधानमन्त्री दाहालसँग कांग्रेस नेताहरूले मुख्यगरी २ विषयमा कुरा राखेका छन्।
पहिलो, कोशी प्रदेश सरकार।
दोस्रो, भुटानी शरणार्थी प्रकरण।
बिहीबार सभापति देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा कोशी प्रदेश सरकारबारे कुरा उठेको थियो।
कोशीमा अहिले नेकपा एमाले नेतृत्वमा सरकार छ। अन्य प्रदेशमा सत्ता गठबन्धनका दलहरू मिलेर नयाँ सरकार बनाइसके पनि कोशीमा सरकार परिवर्तन भइसकेको छैन।
गठबन्धन दलहरूकै तर्फबाट सरकार बनाउनेबारे दलहरूले आन्तरिक तयारी गरिरहेका छन्। यसबारे कांग्रेसले पहल लिने समझदारी बनेको थियो।
सोहीअनुसार प्रधानमन्त्री प्रचण्डसँग कुराकानीका लागि महामन्त्रीद्वय र सहमहामन्त्री आङ्देम्बेलाई जिम्मेवारी दिइएको थियो। त्यसैले प्रधानमन्त्री दाहालसँग कुराकानी गर्न आज कांग्रेसका तीन पदाधिकारी बालुवाटार पुगेका हुन्।
भेटवार्ताका क्रममा नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर ठगी प्रकरणबारे पनि कुरा उठ्यो। यो प्रकरणमा कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका पूर्वगृहमन्त्री बालकृष्ण खाणलाई प्रहरीले पक्राउ गरी अनुसन्धान जारी राखेको छ।
खाणलाई पार्टीबाट निलम्बन गर्नुपर्ने र अहिल्यै निलम्बन गर्न नहुने विषयमा नेताहरूबीच मत बाझिएका छन्।
भेटवार्ताका क्रममा कांग्रेसका नेताहरूले नक्कली भुटानी शरणार्थी प्रकरणमा सरकारले दह्रोसँग खुट्टा टेकेर निष्पक्ष ढंगबाट अनुसन्धानलाई टुंग्याउन प्रधानमन्त्री दाहाललाई आग्रह गरेको बालुवाटार स्रोतले जानकारी दिएको छ।
प्रधानमन्त्री दाहालले यो प्रकरणलाई निष्कर्षमा पुर्याइने प्रतिबद्धता जनाएका थिए।
‘तपाईंहरूको साथ र सहयोगबाट मलाई हौसला प्राप्त भएको छ,’ प्रधानमन्त्री दाहालका भनाइ उद्धृत गर्दै बालुवाटार स्रोतले भन्यो, ‘संसदमा तपाईंहरूले राखेका कुरा र पार्टीका बैठकहरूका अभिव्यक्तिले पनि मलाई यो प्रकरणलाई टुंगोमा पुर्याउने गरी अघि बढ्न सहयोग मिलेको छ।’
कांग्रेसका नेताहरूको साथ र सहयोग पाएमा भ्रष्टाचारका अन्य फाइलहरूसमेत खोल्न आफू तयार रहेको प्रधानमन्त्री प्रचण्डको भनाइ थियो। ‘तपाईंहरूको सहयोग निरन्तर रहिरहेमा अन्य यस्ता फाइलहरू पनि खोल्छु,’ प्रधानमन्त्री दाहालका भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।
कोशी प्रदेशमा सरकार बनाउने विषयमा थप छलफल गर्ने पनि समझदारी बनेको छ।