नेपाली कांग्रेसको पदाधिकारी बैठकमा नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई निलम्बन गरेर जानुपर्ने विषयमा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बिहीबारको बैठकमा पनि अडान राखेका छन्।
धुम्बाराहीमा बिहीबार दिउँसो बसेको पदाधिकारी र पूर्वपदाधिकारी बैठकमा महामन्त्रीद्वयले खाणलाई निलम्बन गर्नुपर्ने भनेर राखेको अडानमा उपसभापति धनराज गुरूङले पनि साथ दिएका छन्।
बुधबार सभापति शेरबहादुर देउवा निवास धुम्बाराहीमा बसेको पदाधिकारी बैठकमा पनि महामन्त्रीद्वयले खाणलाई निलम्बन गर्नुपर्ने बताएका थिए।
बैठकमा सहभागी एक पदाधिकारीले सेतोपाटीलाई दिएको जानकारीअनुसार बिहीबारको बैठक पनि खाणलाई निलम्बन गर्ने कि नगर्ने भन्नेमै केन्द्रित रह्यो।
'महामन्त्री गगन थापाले सार्वजनिक पदमा भएको व्यक्ति अनुसन्धान अवधिभर स्वतः निलम्बनमा जान्छ, त्यसकारण खाण आफैं पार्टीबाट अलग रहनुपर्ने कुरा राख्नुभएको हो,' ती पदाधिकारीले थापाका भनाइ उद्धृत गर्दै भने, 'नत्र पार्टीले उहाँलाई निलम्बन गर्नुपर्छ।'
महामन्त्री थापाका कुरामा उपसभापति गुरूङ र अर्का महामन्त्री शर्माले समर्थन जनाए।
यसपछि महामन्त्री थापाले सभापति देउवालाई यो प्रकरणबारे प्रस्ट कुरा राख्न भनेका थिए।
'हामीले हाम्रो कुरा व्यक्ति र सांसदका रूपमा पनि बोलेका छौं,' थापाले भनेका थिए, 'पार्टी केन्द्रीय समिति बैठक केही दिनभित्र त बस्नैपर्छ। पार्टी बैठकले यसबारे केही निर्णय त गर्ला। तर त्यतिन्जेलसम्म तपाईंको मत त चाहिएला! आफ्नो कुरा राख्नुस्, राय राख्नुस्।'
अरूका कुरा सुने पनि देउवाले केही बोलेनन्।
सभापति देउवालाई केन्द्रीय समिति बैठक बोलाउन समेत पदाधिकारीहरूले माग गरेका थिए। गत भदौदेखि कांग्रेस केन्द्रीय समिति बैठक बसेको छैन। कांग्रेस विधानअनुसार केन्द्रीय समिति र केन्द्रीय कार्यसम्पादन समितिले मात्रै आधिकारिक निर्णय गर्न सक्छ।
बिहीबारको पदाधिकारी बैठक सकिएपछि पत्रकारहरूसँग बोल्दै सहमहामन्त्री जीवन परियारले भने खाणले अनुसन्धानलाई सहयोग गरिरहेको बताएका थिए। नक्कली भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष अनुसन्धान हुनुपर्ने र पार्टीले अनुसन्धानलाई सहयोग गर्ने उनको भनाइ थियो।