पूर्वगृहमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य बालकृष्ण खाणले नक्कली भुटानी शरणार्थी प्रकरणमा पछिल्लो समय मुख्य भूमिका खेलेको प्रमाण भेटिएपछि उनलाई पक्राउ गरिएको प्रहरी उच्च स्रोतले बताएको छ।
‘पछिल्लो समयमा उनकै नेतृत्वमा यो प्रकरण अघि बढाइएको र पैसाको लेनदेनसमेत गरेको प्रमाणका आधारमा उनलाई पक्राउ गरिएको हो,’ स्रोतले भन्यो।
खाण गृहमन्त्री हुँदा शरणार्थी प्रकरणमा बनाइएका नक्कली प्रतिवेदन र कागजात, उनी र निकटले पैसा लेनदेन गरेका प्रमाण र पछिल्लो बयानमा गृहसचिव टेकनारायण पाण्डेले नै खाणको संलग्नतामा आफूले काम गरेको स्वीकार गरेपछि प्रहरीले उनलाई पक्राउ गर्ने निर्णय गरेको स्रोतले बतायो।
प्रहरीले गृहसचिव पाण्डेसँग विभिन्न चरणमा सोधपुछ गरिरहेको थियो। पछिल्लो पटक उच्च प्रहरी नेतृत्वसामु पाण्डेले पूर्वगृहमन्त्री खाणको संलग्नता स्वीकार गरेका थिए। पाण्डेले सरकारी वकिलको कार्यालयमा समेत बयान दिइसकेका छन्।
पाण्डेले प्रहरी र सरकारी वकिलसमक्ष सुरूमा इन्कारी बयान दिएका थिए। प्रहरीले पाण्डेले पैसा लिएको प्रमाण देखाएपछि भने उनी गलेका थिए। सबै कुराको दोष आफू लिने वा खाणको निर्देशनमा आफूसमेत संलग्न भएर गरेका कर्तुतहरूमा पूर्वगृहमन्त्रीलाई पनि पोल्ने भन्ने निर्णयमा पुग्न पाण्डेलाई केही समय लागेको थियो। अन्तत: उनले खाणको निर्देशन र संलग्नतामा आफूले काम गरेको बयान दिएका छन्।
सचिव पाण्डेलाई पक्राउ गर्न जाँदा प्रहरीले उनको फोन बरामद गरेको थियो। अनुसन्धान अघि बढाउन उक्त फोनले ठूलो सहयोग पुग्यो। प्रहरीले फोनबाट मेटिएका विवरण उकास्न फरेन्सिक प्रयोगशालामा पठाएको थियो।
फोनबाट ‘रिट्रिभ’ गरिएका (उकासिएका) विवरणमा नक्कली भुटानी शरणार्थी प्रकरण अघि बढाउने गिरोहका सदस्यहरू केशव दुलाल, सानु भण्डारी लगायतसँग सचिव पाण्डेले पटक-पटक गरेका कुराकानीका साथै अन्य सामग्री पनि थिए।
कुराकानीमा पाण्डेसहितले करोडौं रकमको लेनदेन गरेको प्रमाण भेटिएको छ। त्यसरी लेनदेन गर्नमा खाणकै पिए नरेन्द्र केसीको पनि ठूलो भूमिका देखिएको प्रहरी स्रोत बताउँछ। केसीलाई पनि प्रहरीले आज खाणसँगै उनकै निवासबाट पक्राउ गरेको छ। चितवनको शारदा माविका प्रधानाध्यापक केसी योभन्दा अघि पनि पटक-पटक खाण मन्त्री हुँदा उनको पिए बनेका थिए। यसरी उनीहरूबीच लामो सम्बन्ध देखिन्छ।
‘यो प्रकरणमा खाणको पनि ठूलो भूमिका देखिएको छ। गृहमा हुँदा उनैले धेरै रकम बुझेको देखिन्छ,’ स्रोतले भन्यो,‘ दुबै जनाविरूद्ध हामीसँग पर्याप्त प्रमाण छन्।’
खाण गृहमन्त्री हुँदा मन्त्रालयले यो प्रकरणमा नक्कली प्रतिवेदन र कागजातसमेत तयार गरेको प्रहरीले बताएको छ। प्रहरीले सक्कली र नक्कली दुबै प्रतिवेदन प्राप्त गरेको छ र तिनै कागजात भिडाएर प्रमाणित गरेको बताएको छ।
प्रहरीलाई दिएको जाहेरीमा पीडितहरूले एउटा आधा घन्टाको अडिओ पनि बुझाएका छन्। उक्त अडिओमा पीडितले खाणको घरमा गएर ६ करोड रुपैयाँ बुझाएको उल्लेख छ। खाणकी श्रीमती मञ्जु खाणलाई ६ करोड र नेपाली कांग्रेसकी सांसद आरजु देउवा राणालाई साढे दुई करोड रुपैयाँ बुझाएको अडिओमा उल्लेख छ।
अडिओमा भनिएको छ, ‘आरजुलाई साढे दुई करोड बुझाएको हो, ६ करोड त्यो बालकृष्ण खाणलाई बुझाएको हो, मञ्जुदेवीले बुझ्नुभएको हो घरमा। हनुमानथानमा घर छ त्यहाँ बुझ्नुभएको हो।’
उक्त संवाद पीडित र बिचौलियाबीच भएको थियो। बिचौलिया हाल पनि हिरासतमै छन्।
उक्त अडिओबारे पनि अनुसन्धान जारी रहेको प्रहरीले बताएको छ।
अनुसन्धानकै क्रममा प्रहरीले एक जना तत्कालीन प्रमुख जिल्ला अधिकारीसँग बयान लिएको छ।
प्रहरी उच्च स्रोतका अनुसार भुटानी शरणार्थी प्रकरणमा कैयन अनधिकृत काम गर्न ती सिडिओलाई खाण र पाण्डेले दबाब दिएका थिए। नमानेपछि उनको सरूवा गरिएको थियो। ती सिडिओले आफूलाई अनधिकृत काम गर्न दिएको दबाबलगायत विषयमा बयान दिएका छन्।
भुटानी शरणार्थी पहिचान गर्न केपी शर्मा ओली नेतृत्वको सरकारले २०७६ जेठमा कार्यदल बनाएको थियो। गृह मन्त्रालयका सहसचिव बालकृष्ण पन्थीको संयोजकत्वमा कार्यदल बनेको थियो।
उक्त कार्यदलले बुझाएको प्रतिवेदन अहिलेसम्म पनि गोप्य नै छ। तर बिचौलियाले उच्च राजनीतिक व्यक्तिहरूबाट प्रतिवेदन प्राप्त गरेका थिए।
प्रतिवेदन प्राप्त गरेपछि बिचौलियाहरूले आफूखुसी नक्कली भुटानी शरणार्थीको नाम थप गरेका थिए। आफूहरूको गृह मन्त्रालयसम्म चिनजान रहेको भन्दै उनीहरूले झापा, दाङ, मोरङलगायत जिल्लाका मानिसहरूसँग भेटेका थिए।
निवेदन दर्ता गर्न लगाएर बिचौलियाहरूले पछि प्रतिवेदनमै ती नक्कली शरणार्थीको नाम राखेका थिए। त्यसरी नाम राखेर उनीहरूले करोडौं रकम असुल गरेको देखिएको हो।
अनुसन्धानका लागि प्रहरीले सक्कल प्रतिवदेन उपलब्ध गराउन गृह मन्त्रालयमा पत्राचार गरेको थियो। गृहले दिएको र बिचौलियासँग भएको प्रतिवेदन प्रहरीले भिडाएर हेरेको थियो। दुबै प्रतिवेदन हेर्दा उनीहरूले छेडखानी गरेको देखिएको स्रोतले बतायो।
प्रहरीले अहिलेसम्म यस प्रकरणमा खाण र उनका पिए केसीसहित १२ जनालाई पक्राउ गरेको छ। प्रहरीले पूर्वगृहसचिव टेकनारायण पाण्डे, पूर्व गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, टंककुमार गुरूङ र नेकपा एमाले सचिव एवं सांसद टोपबहादुर रायमाझीका छोरा सन्दीपलाई पक्राउ गरिसकेको छ।
खाण र उनका पिए केसीलाई भने बुधबार बिहान मात्रै खाणको निवासबाट प्रहरीले पक्राउ गरेको हो। उनलाई प्रहरीले जरूरी पक्राउ पुर्जी थमाएर पक्राउ गरेको हो। उनी भाग्न सक्ने आशंका भएपछि प्रहरी बुधबार बिहान काठमाडौंको मैजुबहालस्थित निवासमा पुगेको थियो।
प्रहरी पुग्दा उनले सुरूमा कपडा लगाएर आउने बताएका थिए। तर उनी भित्र पसेपछि चुकुल लगाएर बसे। त्यसपछि प्रहरीले केही समय लगाएर उनलाई पक्राउ गर्यो।
अहिले उनलाई जिल्ला प्रहरी परिसर काठमाडौंमा लगेको छ। आजै काठमाडौं जिल्ला अदालतमा लगेर म्याद थप गर्ने पनि प्रहरीको तयारी छ।
आफूलाई ठगेको भन्दै पीडितले २०७९ जेठ १८ गते काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयमा जाहेरी दिएका थिए। त्यतिबेला हालका आइजिपी बसन्तबहादुर कुँवर कार्यालय प्रमुख थिए। अनुसन्धान गरेको केही समयमै उनको बढुवा भएर सरूवा भएको थियो। त्यसपछि लामो समय अनुसन्धान रोकिएको थियो। तर केही महिनायता यसको अनुसन्धानले गति पाएको हो।
यस्तै अनुसन्धानकै क्रममा प्रहरीले सुरूमै चैत १२ गते केशव दुलाल, सानु भण्डारी र टंककुमार गुरूङलाई पक्राउ गरेको थियो।
पक्राउ परेपछि बयान लिने क्रममा सानु भण्डारीले पैसा बुझाएका व्यक्तिहरू सबैको नाम लिइदिए।
नाम लिएपछि बयान रोक्न विभिन्न दबाबसमेत दिइएको थियो। तर भण्डारीले आफ्नो बयान जस्ताको तस्तै राख्नुपर्ने अड्डी कसेका थिए। जसक्रममा खाण लगायतको नाम आयो।
उनले नाम लिएसँगै प्रहरी प्रमाण जुटाउन लाग्यो। अनुसन्धानको घेरामा पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षाविज्ञ इन्द्रजित राई थिए।
राईलाई वैशाख १९ गते ललितपुरबाट पक्राउ गर्यो। त्यसपछि वैशाख २० गते पाण्डे पक्राउ परे। उपराष्ट्रपति कार्यालय बहालवाला सचिव उनी हाल निलम्बनमा छन्।
गत बुधबार पक्राउ पुर्जी जारी भएका रायमाझी अझै फरार छन्। उनको खोजी गर्न ७७ वटै जिल्लामा पत्राचार र केन्द्रीय अनुसन्धान ब्युरो सिआइबीको टोली पनि खटिएको छ। उनी भारत भागेको आशंका प्रहरीको छ। यस्तै इन्द्रजितका छोरा निरज पनि फरार छन्।
उनीहरूमाथि ठगी तथा संगठित अपराधको कसूरमा अनुसन्धान गरिरहेको छ। यस कसूरमा प्रहरीले ६० दिनको म्याद पाउँछ। अब प्रहरीले १४ दिनभित्र अनुसन्धान सकेर काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गर्नुपर्ने हुन्छ।
सम्बन्धित समाचारहरू: भाग्न सक्ने आशंकामा प्रहरीले ‘जरूरी पुर्जी’ थमाएर पक्राउ गरेको थियो खाणलाई
ब्रेकिङ: पूर्वगृहमन्त्री बालकृष्ण खाण उनकै निवासबाट पक्राउ
नक्कली भुटानी शरणार्थी प्रकरणमा अहिलेसम्मका घटनाक्रम
नक्कली भुटानी शरणार्थी प्रकरणका अभियुक्त इन्द्रजितको बादल कनेक्सन