पूर्वगृहमन्त्री बालकृष्ण खाण भाग्नसक्ने आशंकामा प्रहरीले अदालतबाट पक्राउ पुर्जी लिनु पहिले प्रहरीले नै जारी गर्ने जरूरी पुर्जी थमाएर उनलाई पक्राउ गरेको हो।
उनलाई पक्राउ गर्ने निष्कर्षमा पुगेपछि सुरूमै अदालतबाट पुर्जी लिने कि नलिने भनेर प्रहरीले केही समय छलफल गरेको थियो। तर एमाले सचिव टोपबहादुर रायमाझीजस्तै खाण पनि लुक्न वा भाग्न सक्ने आशंकामा सुरूमा जरूरी पुर्जी थमाउने र त्यसपछिमात्र अदालती प्रक्रियामा पुग्ने निर्णय गरेको प्रहरी उच्च स्रोतले बतायो।
‘अदालतमा पुर्जी लिन जाँदा त्यो कुरा बाहिरिन सक्ने र उनलाई पक्राउ गर्न गाह्रो हुने भएकाले हामीले जरूरी पुर्जी दिएर पक्राउ गरेका हौं,’ प्रहरी स्रोतले भन्यो।
जरूरी पुर्जी लिएर प्रहरी टोली उनको मैजुबहालस्थित निवासमा पुगेको थियो। प्रहरी घरमा आएको थाहा पाएपछि खाण चुकुल लगाएर केहीबेर घरभित्रै बसेका थिए।
यसअघि पक्राउ परेकाहरूले खाणपत्नी मञ्जुलाई ६ करोड रुपैयाँ बुझाएको दाबी गरिएको अडिओ बाहिरिएपछि उनी प्रहरी निगरानीमा थिए।
खाणलाई पक्राउ गरेर अहिले उनलाई काठमाडौं जिल्ला प्रहरी परिसर टेकु ल्याइएको छ। उनीविरूद्ध पक्राउ पुर्जी लिन प्रहरी काठमाडौं जिल्ला अदालत जाँदैछ।
कोही आरोपी भाग्ने आशंका भएपछि प्रहरीले जरूरी पुर्जी थमाएर नियन्त्रणमा लिन सक्ने व्यवस्था छ। आज/भोलि अरू थप मानिसहरू पनि पक्राउ पर्न सक्ने प्रहरीले बताएको छ।