राष्ट्रिय स्वतन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको छ।
शुक्रबार पार्टी कार्यालय बसुन्धारामा बसेको रास्वपाको संयुक्त बैठकले उक्त निर्णय गरेको एक नेताले जानकारी दिए।
सत्ता गठबन्धनले रास्वपालाई सरकारमा ल्याउन खोजिरहेको थियो। तर रास्वपाले भने सरकारले न्यूनतम साझा कार्यक्रममा आफ्नो एजेन्डा हटाएको भन्दै आपत्ति जनाउँदै आएको थियो।
पार्टी सभापति रवि लामिछानेले पनि सांसदको शपथ लिएको बेला सरकारमा जानेभन्दा फिर्ता लिने सम्भावना बढेको बताएका थिए।
उनले भनेका थिए, ‘कुनै पनि कालखण्डमा भएको भ्रष्टाचारको छानबिन हुनुपर्छ भन्ने विषय थियो। सरकारले न्यूनतम साझा कार्यक्रममा भ्रष्टाचारसम्बन्धी यो विषय हटाएकाले हाम्रो गम्भीर आपत्ति छ।’
सरकार ढाल्ने खेलमा भन्दा रचनात्मक प्रतिपक्षको रूपमा अघि बढ्छौं- रवि लामिछाने
राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफूहरू सरकार ढाल्ने खेलमा भन्दा रचनात्मक प्रतिपक्षको रूपमा अघि बढ्ने बताएका छन्।
शुक्रबार बसेको पार्टीको संयुक्त बैठकपछि पत्रकारहरूसँग बोल्दै उनले आफूहरू पार्टी र संगठन निर्माण र रचनात्मक प्रतिपक्षको रूपमा अघि बढ्ने बताएका हुन्।
‘हामीले जनभावना र जनमतको कदर गर्नु पर्ने हुन्छ। यो पटकको उपनिर्वाचनले हामीलाई दिएको म्यान्डेट र अधिकांश शुभचिन्तकको चाहना यही थियो कि सशक्त प्रतिपक्षको रूपमा भूमिका निर्वाह र पार्टी संगठनलाई सशक्त बनाएर लानुपर्ने हामीलई म्यान्डेट प्राप्त भयो,’ उनले भने, त्यही अनुरूप हामी अगाडि बढ्छौं।’
एउटा रचनात्मक प्रतिपक्ष कस्तो हुनुपर्छ भनेर धेरैले हेर्न चाहेको भन्दै आफूहरू त्यही अनुरूप अघि बढ्ने उनले बताए।
यो कार्यकाल तपाईंहरू सरकार बनाउने/भत्काउने खेलमा लाग्नु हुँदैन भन्ने पत्रकारको प्रश्नमा उनले भने, ‘हामी त्यो खेलमा लाग्दैनौं तर खेलले कुनै रूप लियो भने ... हामीले पहिला पनि भनेका थियौं एउटा राजनीतिक दल अस्थिरता चाहँदैन। सत्ताका लागि जे पनि गर्ने भयो भने जनभावनाको अपमान हुन्छ।’
सरकारलाई समर्थन गरेको बेला न्यूनतम साझा कार्यक्रममा आफूहरूको एजेन्डा हटाएको भन्दै रास्वपाले आपत्ति जनाएको थियो।