नेपाली कांग्रेसले पार्टीलाई थप गतिशील बनाउन आन्तरिक गृहकार्य सुरू गरेको छ।
पार्टीलाई सैद्धान्तिक र सांगठनिक रूपमा सक्रिय बनाउन सभापति शेरबहादुर देउवासँग उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरूङ तथा महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले बारम्बार छलफल गरेका छन्।
छलफलले बिहीबार पनि निरन्तरता पाउनेछ। सभापति देउवा निवास धुम्बाराहीमा बिहीबार बिहान सभापति, उपसभापति र महामन्त्रीहरूबीच छलफल हुनेछ। छलफलमा ८ जना सहमहामन्त्रीलाई पनि बोलाउने तयारी छ।
विधानअनुसार पदाधिकारी बैठकले कुनै निर्णय लिन सक्दैन। तर केन्द्रीय समिति बस्नुअघि सहमतिमै एजेन्डा तय गर्न पदाधिकारी र पूर्वपदाधिकारी बैठक बस्ने कांग्रेसभित्र परम्परा छ।
सांगठनिक र पार्टीले लिने नीतिबारे कांग्रेसले अब हुने केन्द्रीय समितिमा छलफल गर्न लागेको छ।
महामन्त्री विश्वप्रकाश शर्माका अनुसार नीति अधिवेशन बोलाउनेजस्ता विषयमा कुराकानी भइरहेका छन्। अब बस्ने केन्द्रीय समितिबाट नीति महाधिवेशनको मिति तय गर्ने तयारी छ।
२०७८ मंसिरमा १४ औं महाधिवेशन गर्दा कांग्रेसले नेतृत्व अधिवेशन मात्रै गरेको थियो।
विगतका महाधिवेशन अभ्यास हेर्दा नेतृत्व चयनमा मात्रै नेता, महाधिवेशन प्रतिनिधि केन्द्रित हुने गरेको पाइएपछि नीति अधिवेशन बेग्लै गर्न कांग्रेस तयार भएको थियो।
यसअघि कांग्रेसले महाधिवेशन र महासमिति बैठकका बेला मात्रै पार्टीले लिने नीतिबारे बहस गरी निर्णय लिने गरेको थियो। पहिलो पटक कांग्रेसले नीति अधिवेशन गर्न लागेको हो।
महामन्त्री शर्माका अनुसार पार्टीका विभाग र नेविसंघ, तरूण दलजस्ता भ्रातृ संस्थालाई पूर्णता दिने विषयमा पनि अबको केन्द्रीय समिति बैठकबाट निर्णय हुनेछ।
कांग्रेसमा संगठन, प्रचारसहित २८ विभाग छन्। नेविसंघ, तरूण दललगायत अधिकांश भ्रातृ संस्थामा नियमित अधिवेशन हुन सकेको छैन, अध्यक्ष तोकिए पनि तदर्थ समितिलाई पूर्णता पनि दिइएको छैन।
कांग्रेसले गत भदौदेखि केन्द्रीय समिति बैठक राखेको छैन।
विधानअनुसार हरेक दुई महिनाको अन्तरालमा कम्तीमा एक पटक केन्द्रीय समिति बैठक राख्नुपर्ने हुन्छ। महाधिवेशनपछि जम्मा ३ पटक मात्र केन्द्रीय समिति बैठक बसेको छ।
कांग्रेसको केन्द्रीय समिति १६८ सदस्यीय छ। तर अहिले १४७ केन्द्रीय सदस्य मात्रै छन्।
सभापति देउवाले विभिन्न कल्ष्टर समेटेर अझै २० केन्द्रीय सदस्य मनोनीत गर्न बाँकी छ। देउवाले विधानअनुसार महाधिवेशन सकेको ६ महिनाभित्र केन्द्रीय समितिलाई पूर्णता दिइसक्नुपर्ने थियो तर डेढ वर्षसम्म कोषाध्यक्षसमेत मनोनीत गरेका छैनन्।
केन्द्रीय समिति ठूलो रहेको र तत्काल बैठक राख्न सम्भव नहुने भन्दै कांग्रेसले महत्वपूर्ण निर्णय केन्द्रीय कार्यसम्पादन समितिबाट गर्दै आएको छ। पदाधिकारी र पूर्वपदाधिकारीसहित केही केन्द्रीय सदस्य राखेर कार्यसम्पादन समिति गठन गरिएको छ।
चुनावी तालमेल गर्ने निर्णय केन्द्रीय समिति बैठकबाट भए पनि चुनावी समीक्षा गर्न भने सभापति देउवाले केन्द्रीय समिति बैठक बोलाएनन्। चुनावपछि पुस १० मा गठबन्धन जोगाउन नसकेपछि देउवाको आलोचना भएको थियो। आफ्नो आलोचना हुने भएपछि देउवाले तीन पटकसम्म केन्द्रीय समिति बैठक सारेर अनिश्चितकालसम्म स्थगित गरेका थिए।
यसबीचमा कांग्रेसबाट रामचन्द्र पौडेल राष्ट्रपति र पुरानै गठबन्धन ब्युँताउँदै कांग्रेस सरकारमा पनि सामेल भएपछि देउवाको आलोचना केही मत्थर भएको थियो। तर वैशाख १० को उपनिर्वाचनमा तनहुँ १ गुमाएपछि भने कांग्रेसभित्र 'सच्चिने कि सक्किने' भन्नेबारे बहस भइरहेका छन्।
नेता प्रकाशमान सिंहले पार्टीले कार्यशैली नै बदल्नुपर्ने बताए।
‘अब तत्काल नीति अधिवेशन गरेर बदलिएको परिस्थितिमा कसरी जान उपयुक्त हुन्छ भन्नेबारे गहन समीक्षा गर्नुपर्छ,’ सिंहले भने, ‘परम्परागत प्रचार र पार्टी निर्माण शैलीले आगामी चुनौती सामना गर्न सक्दैन।’ समयको मागअनुसार कांग्रेस रूपान्तरण हुनुपर्ने पनि सिंह बताउँछन्।
समूह-समूहमा छलफल गरेर पनि पार्टी रूपान्तरणका लागि दबाब दिने काम कांग्रेसभित्र भइरहेको छ। नेता गुरूराज घिमिरे, भूपेन्द्रजंग शाही, रञ्जित कर्णलगायतले कांग्रेस रूपान्तरण र सुधारका लागि 'विशेष युवा भेला' नै बोलाएका छन्।
नेता भूपेन्द्रजंग शाहीका अनुसार भेला बत्तिसपुतलीमा बिहीबार बिहान ११ बजे हुनेछ। उनकाअनुसार पार्टीलाई अब सुधार गरेर लैजाने विषयमा छलफल केन्द्रित रहनेछ।
‘कांग्रेसले आफ्नै शक्तिलाई पनि चिन्न सकेन भन्ने कुरा वैशाख १० को उपनिर्वाचनमा देखियो। पार्टीले संयन्त्र, विभाग, भ्रातृ संगठन र वडासम्मको समितिलाई परिचालन गर्न सकेको छैन, यहाँ कमजोरी छ,’ उनले भने, ‘जनताका दैनिक जीवनयापनका समस्या समाधानतिर ध्यान दिनुपर्यो, पार्टी भनेको सत्तामा जाने र ठूला कुरा गर्ने मात्र होइन नि!’
पार्टीले जनजीविकाका सवालमा काम गर्न नसकेको उनले बताए। ‘भ्रष्टाचार नियन्त्रणमा कांग्रेसले पहल गर्न सकेन। ठूला भ्रष्टचारीलाई कारबाहीका लागि पहल गर्नुपर्यो,’ उनले भने, ‘देशमा सुशासन हुनुपर्यो।’