गोरखा क्षेत्र नम्बर २ राजनीतिक घटनाले बेलाबेला चर्चामा आउने गर्छ।
२०६४ को संविधान सभा चुनावमा तत्कालीन माओवादी नेता बाबुराम भट्टराई सबैभन्दा बढी मतान्तरसहित यो क्षेत्रबाट चुनाव जिते।
२०७४ को चुनावमा पनि गोरखा २ राजनीतिको केन्द्रमै रह्यो। यहाँ तत्कालीन वाम गठबन्धनबाट माओवादीका नारायणकाजी श्रेष्ठ र नयाँ शक्तिका अध्यक्ष बाबुराम भट्टराई प्रतिस्पर्धामा उत्रिए। भट्टराई चुनाव जिते।
५ वर्षपछि गत मंसिरमा भएको चुनावमा पनि गोरखा २ को चर्चामै रह्यो। चितवन छाडेर नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ गोरखा २ उम्मेदवार बने। कांग्रेससँगको गठबन्धनमा चुनाव जिते।
चुनावपछि प्रचण्ड (गत पुस १० गतेदेखि) प्रधानमन्त्री छन्।
चुनाव प्रचारप्रसारका बेला गोरखाका गाउँ-गाउँमा प्रचण्डले एउटा कुरा भन्न छुटाउँदैनथे- यहाँबाट चुनाव जितेपछि सम्भवत: म प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बन्ने हो।
पाण्डे नेपाली कांग्रेसका केन्द्रीय सदस्य हुन्। प्रचण्ड चुनाव उठेकै क्षेत्र गोरखा २ को प्रदेश सभा क्षेत्र २ बाट पाण्डे गण्डकी प्रदेश सभा सदस्य निर्वाचित भएका हुन्।
पाण्डे बिहीबार गण्डकी प्रदेश मुख्यमन्त्री नियुक्त भए। कांग्रेसका २७, नेकपा माओवादी केन्द्रका ७, नेकपा एकीकृत समाजवादीका १ गरी ३५ जना सांसदको समर्थन जुटाएका पाण्डेलाई प्रदेश प्रमुख पृथ्वीमान गुरूङले संविधानको धारा १६८ को उपधारा २ अनुसार मुख्यमन्त्री नियुक्त गरेका हुन्।
प्रचण्डले चुनावका बेला आफू प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे मुख्यमन्त्री बनेपछि गोरखामा विकास निर्माणले गति लिने दाबी गरेका थिए।
गोरखा २ मा चुनाव लड्न नेपाली कांग्रेसले पाण्डेको नाम एकल सिफारिस गरेको थियो। तर गठबन्धन हुने, प्रचण्ड नै उम्मेदवार हुन आउने भनेपछि पाण्डे प्रदेश सभामा उम्मेदवार भए। प्रचण्डलाई पाण्डे र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले मैदान खाली गरिदिए।
यो कुरा प्रचण्डले चुनावी घरदैलोमा समेत खुलाएका थिए।
‘सुरेन्द्रजी पहिले त संघमा लड्ने तयारी गरिरहनुभएको थियो। प्रचण्ड आउने भनेपछि उहाँले सर्लक्कै ल प्रचण्ड आउने हो भने त बोल्ने कुरै भएन। म बोल्दै बोलिनँ, छाडिदिएँ भन्नुभयो,’ प्रचण्डले गोरखामा भनेका थिए।
आफू गोरखा २ मा चुनाव लड्न आउने भएपछि कांग्रेस सभापति शेरबहादुर देउवासँग पनि कुराकानी गरेर पाण्डेलाई प्रदेशमा उठ्न भनिएको प्रचण्डको भनाइ थियो।
‘शेरबहादुरजीसँग पनि कुरा गरेँ, सुरेन्द्रजी प्रदेशमा जानु हुने भयो, उहाँलाई मुख्यमन्त्री बनाउने सल्लाह गरियो,’ प्रचण्डले भनेका थिए, ‘मलाई लाग्छ, चुनाव जितेपछि सुरेन्द्रजी मुख्यमन्त्री बन्नुहुन्छ। त्यस्तै तालमेल मिल्यो भने म पनि देशको नेतृत्व गर्न पाउने सम्भावना छ। त्यसो भयो भने गोरखा २ त भाग्यमानी क्षेत्र हुने भयो। प्रधानमन्त्री पनि, मुख्यमन्त्री पनि पाउने।’
प्रधानमन्त्री र मुख्यमन्त्री भएमा गोरखाका बाटाघाटा कुनैमा पनि धुलो नउड्ने, कालोपत्र गरिने दाबी प्रचण्डको थियो।
चुनावलगत्तै नेकपा एमालेसहित ७ दलसँग मिलेर सरकार गठन गरेका प्रचण्ड गत पुस १० मा प्रधानमन्त्री बने पनि गण्डकीमा पाण्डे भने मुख्यमन्त्री हुन पाएका थिएनन्। नेकपा एमाले संसदीय दल नेता खगराज अधिकारी माओवादीसहित दलको समर्थनमा मुख्यमन्त्री बनेका थिए।
राष्ट्रपति निर्वाचनका बेला प्रचण्डले पुस १० को गठबन्धन छोडेर कांग्रेससहित पुरानै गठबन्धनमा फर्किएका थिए। प्रचण्डले गठबन्धन फेरेका कारण गण्डकीमा बिहीबार मुख्यमन्त्री कांग्रेसले पायो। पाण्डेको नियुक्तिसँगै प्रचण्डले चुनावका बेला गरेको वाचा पूरा भयो।
मंसिरको प्रतिनिधि सभा र प्रदेश सभा चुनावमा गोरखामा तत्कालीन सत्ता गठबन्धनका उम्मेदवारले 'क्लिन स्वीप' गरेका थिए।
प्रतिनिधि सभामा जितेका प्रचण्ड प्रधानमन्त्री र प्रदेश सभामा जितेका पाण्डे मुख्यमन्त्री बनेको गोरखा २ अरू सांसदले कार्यकारी भूमिका पाउने सम्भावना छ।
यही क्षेत्रको प्रदेश सभा क्षेत्र १ बाट चुनाव जितेका नेपाल समाजवादी पार्टीका नेता फणिन्द्र देवकोटा पनि मन्त्री हुने सम्भावना छ। उनी बाबुराम भट्टराईनिकट हुन् भने मंसिरको चुनावमा माओवादीकै चुनाव चिन्ह लिएर उनी उठेका थिए। देवकोटालाई पनि मन्त्री बनाउने आश्वासन चुनावका बेला प्रचण्डले दिएका थिए।
गोरखा क्षेत्र नम्बर २ जौवारी घर भएका नारायणकाजी श्रेष्ठ राष्ट्रिय सभा सांसद छन्। माओवादीका वरिष्ठ उपाध्यक्ष श्रेष्ठ उपप्रधान तथा गृहमन्त्री पनि छन्।
यस्तै गोरखा २ कै हितराज पाण्डे समानुपातिकतर्फबाट माओवादी केन्द्रमा सांसद छन्। माओवादीका सचिव रहेका उनी प्रमुख सचेतकसमेत हुन्।
गोरखा २ कै कमला पन्त कांग्रेसबाट राष्ट्रिय सभा सांसद छिन्।