काठमाडौं महानगरपालिकाले कार्यालयका सामान लिएर काठमाडौं प्लाजामा सर्न सुरू गरेको छ।
बिहीबार महानगरको प्रशासन विभागले जेडिए कम्प्लेक्समा पार्टेसन गरी बनाएका संरचना लिएर काठमाडौं प्लाजामा सामानहरू सार्न सुरू गरेको प्रशासन विभागका प्रमुख एवं महानगरका सहायक प्रवक्ता दीपक अधिकारीले जानकारी दिए।
उनका अनुसार सामान सार्ने काम महानगरको प्रशासन विभागबाट सुरू भएको छ।
'कम्प्लेक्सको छैटौं तलामा रहेको विभागसँगै प्रमुख प्रशासकीय अधिकृतको सचिवालय, अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय र पाँचौं तलामा रहेको वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाइका पार्टेसन खोल्ने काम बुधबारदेखि सुरू हो', उनले भने।
यस्तै सेवा प्रभावित नहुने गरी कार्यालय सार्ने काम भइरहेको उनले बताए।
करिब ५ रोपनी २ पैसा क्षेत्रफलमा निर्माण भएको ७ तले भवनमा महानगरको सबै कार्यलयहरू एकै ठाउँमा हुनेछ।
प्लाजाको ग्राउण्ड फ्लोरमा पार्किङ, नगर प्रहरी बल, बैंक काउन्टर, आपत्कालीन सेवा केन्द्र, विपत व्यवस्थापन विभाग, स्वास्थ्य सेवा केन्द्र, मूल दर्ता र पञ्जिकरण सेवा रहनेछ। यसैगरी पहिलो तलामा राजस्व विभाग, सहरी व्यवस्थापन विभाग, सामाजिक विकास विभाग, मिसिल तथा तथ्याङ्क शाखा, वातावरण व्यवस्थापन विभाग, सभा कक्ष र विषयगत समितिको कार्यकक्ष रहने छ।
यस्तै दोस्रो तलामा उपप्रमुखको सचिवालय, ट्राफिक व्यवस्थापन सल्लाहकार, स्वास्थ्य विभाग, सहकारी विभाग, कृषि पशुपन्छी विभाग, शिक्षा विभाग, कानुन तथा मानव अधिकार विभाग र इजलास रहने छ।
तेस्रो तलामा वित्त विभाग, आन्तरिक लेखा परीक्षण एकाई, खरिद एकाई, अनुगमन तथा मूल्याङ्कन एकाई, प्रशासन विभाग, प्रमुख प्रशासकीय अधिकृतको सचिवालय हुनेछ । चौथो तलामा प्रमुखको सचिवालय, सहरी योजना आयोग, सार्वजनिक निर्माण विभाग, सम्पदा तथा पर्यटन विभाग, सार्वजनिक निजी साझेदारी एकाई, सूचना प्रविधि विभाग, अन्तरराष्ट्रिय सम्बन्ध सचिवालय रहनेछ।
पाँचौं तलामा उद्यान तथा हरियाली प्रवर्धन आयोजना, क्यान्टिन, रिफ्रेसमेन्ट सेन्टर, सभा कक्ष, कल सेन्टर रहने महानगरले जानाएको छ।
छरिएर बसेका सबै संरचना र सेवालाई एउटै ठाउँमा ल्याएर सेवा प्रवाहलाई व्यवस्थित गर्न महानगरले प्लाजा भाडामा लिएको हो।
२०७२ को भूकम्पअघि एकै स्थानबाट सेवा प्रवाह गरिरहेको महानगरको अहिले केन्द्रीय कार्यलय सुन्धारामा छ भने वातावरण विभाग टेकुमा, राजश्व विभाग बबरमहलमा, सहकारी विभाग बिजुलीबजार, शिक्षा विभाग ताहाचल, केही विभाग राष्ट्रिय सभा गृहमा गरी विभिन्न १० स्थानबाट सेवा प्रवाह गरिरहेको छ।
यो पनिः
दोब्बर बढी बहाल तिरेर काठमाडौं प्लाजामा सर्दै महानगर