प्रधानमन्त्री पुष्पकमल दाहाल 'प्रचण्ड' उपस्थित एक कार्यक्रममा नाराबाजी गरिरहेका व्यक्तिहरूमाथि प्रहरीले जसरी धरपकड गर्यो, त्यसले नागरिकमाथि प्रहरीको व्यवहारलाई लिएर प्रश्न उठेको छ।
मंगलबार काठमाडौंको बानेश्वरमा आयोजित अन्तर्राष्ट्रिय जातीय भेदभाव उन्मूलन दिवसको कार्यक्रममा सरिक हुन प्रधानमन्त्री प्रचण्ड प्रवेश गरिरहेका बेला एक जना युवाले नाराबाजी सुरू गरे।
उनले बैंकको चर्को ब्याज मिनाहा हुनुपर्ने भन्दै नारा लगाएका थिए। जसै उनले नारा लगाए, त्यहाँ उपस्थित सुरक्षाकर्मीहरू जाइलागे।
नियन्त्रणमा लिने क्रममा प्रहरीले उनको मुख थुनिदिएको थियो। चार-पाँच जना प्रहरी मिलेर उनलाई लछारपछार पार्दै भ्यानमा हुलेका थिए।
प्रहरीले ती व्यक्तिलाई नियन्त्रणमा लिएपछि त्यहाँ उपस्थित अरू दुई जनाले पनि नाराबाजी सुरू गरे। प्रहरीले उनीहरूलाई पनि त्यसरी नै मुख थुनेर लछारपछार पार्दै नियन्त्रणमा लियो।
यस क्रममा एक जनाले पटकपटक एउटै प्रश्न दोहोर्याइरहे, ‘हामी अपराधी हौं? हामी अपराधी हौं? के गर्या यो?’
संविधानप्रदत्त अभिव्यक्ति स्वतन्त्रता प्रयोग गर्दै नारा लगाउँदा प्रहरी धरपकडको शिकार भएका ती व्यक्तिहरू सोलुखुम्बुका २३ वर्षीय उद्धव बस्नेत, बझाङका १८ वर्षीय विप्लव खड्का र बाग्लुङका सोम शर्मा हुन्।
प्रहरी हिरासतमा रहेका उनीहरूले आफू नेपाल स्वतन्त्र युवा अभियन्ता समूहमा आबद्ध रहेको बताएका छन्।
प्रहरी वृत्त बानेश्वरले उनीहरूमाथि अभद्र व्यवहारको मुद्दा चलाएको छ। काठमाडौं जिल्ला प्रशासन कार्यालयले उनीहरूलाई पाँच दिन हिरासतमा राख्न अनुमति दिइसकेको छ।
यसरी नारा लगाइरहेका युवाहरूको मुख थुनेर लछारपछार पार्दै प्रहरीले पक्राउ गरेको तस्बिर र भिडिओ सामाजिक सञ्जालमा आएपछि अहिले नागरिकमाथि प्रहरीको व्यवहार र सरकारको भूमिकालाई लिएर सर्वत्र आलोचना भइरहेको छ।
खासगरी प्रहरीले विरोध गरिरहेका नागरिकको मुख थुन्ने जुन हर्कत गर्यो, त्यसलाई अभिव्यक्ति स्वतन्त्रता हननसँग जोडेर आलोचना गरिएको छ।
काठमाडौं प्रहरीले भने ड्युटीमा खटिएका प्रहरीलाई मुख थुन्न निर्देशन नदिएको र संयोगले त्यस्तो घटना हुन पुगेको बताएको छ।
यति मात्र होइन, यसअघि नाराबाजी वा आन्दोलन गरी नियन्त्रणमा लिइएका व्यक्तिलाई त्यसै रात छाड्ने गरिन्थ्यो। यसपटक भने पक्राउ परेका तीनै जनालाई मुद्दा चलाइएको छ।
यसबारे प्रश्न गर्दा जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी सीताराम रिजाल यो घटनामा दुई कारणले मुद्दा चलाउनुपर्ने अवस्था आएको बताउँछन्।
‘एउटा, भिभिआइपीको कार्यक्रम भइरहेको ठाउँमा हुलहुज्जत गर्न पाइन्न, मिल्दैन। जातीय छुवाछुतको कार्यक्रममा हात र लात्ती फाल्दै जान मिल्दैन। त्यहाँ भएकै समूहबाट थ्रेट हुनसक्ने अवस्था रह्यो,’ उनले भने, ‘दोस्रो कारण, यसले भिभिआइपीमाथि पनि थ्रेट हुनसक्ने देखियो। त्यसरी अभद्र प्रदर्शन गरिसकेपछि नियन्त्रणमा लिएर कारबाही गर्नुपर्ने भएकाले म्याद थप गरियो।’
यो घटना त एउटा उदाहरण मात्र हो, केही समययता प्रहरीको ज्यादती निकै बढेको छ। प्रहरीले सुरक्षाका नाममा आमनागरिकमाथि अत्यधिक बल गर्ने गरेको पाइएको छ। नागरिकमाथि उनीहरूको व्यवहार निकै रूखो सुनिन्छ भने बोलीचाली पनि अशिष्ट हुँदै गएको छ। 'प्रहरी मेरो साथी' भन्ने आफ्नै नाराविपरीत आमनागरिकमाथि हप्कीदप्की लगाउँदै वर्दीको रवाफ देखाउन खोज्ने प्रहरीको हर्कतलाई लिएर आलोचना पनि बढ्दै गएको छ।
प्रहरी दुर्व्यवहारको यस्तै घटना चैत २ गते कीर्तिपुरको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको थियो।
त्यस दिन नेपाल र युएईबीच आइसिसी अन्तर्राष्ट्रिय लिग-२ को अन्तिम खेल हेर्न मैदानको क्षमताभन्दा बढी दर्शक उर्लिएका थिए। जिल्ला प्रहरी परिसर काठमाडौंले पनि ठूलो संख्यामा प्रहरी परिचालन गरेको थियो।
खेल हेर्न झुम्मिएका दर्शक पारापिटभित्र मात्र नभएर बाहिर पनि उत्तिकै थिए। कति रूखमा चढेका थिए भने कति पर्खाल नाघेर पारापिटभित्र पसे।
त्यही क्रममा एक जना पुरूष पर्खाल नाघेर पारापिटमा झर्नेबित्तिकै त्यहाँ उपस्थित डिएसपीले उनको गाला चड्काए।
सामाजिक सञ्जालमा सेयर गरिएको उक्त घटनाको भिडिओअनुसार डिएसपीले गाला चड्काएपछि अर्का एक इन्स्पेक्टर पनि त्यहाँ आइपुग्छन्। नियम मिच्न नपाइने भन्दै प्रहरीले उनलाई तानेर पारापिटबाट निकाल्न खोज्छन्। त्यति बेला ती पुरूष भन्दै थिए, ‘सर हिर्काउन पाइन्न नी!’
उनलाई प्रहरीले तानिरहँदा दर्शकको भीडले पनि 'हिर्काउन पाइँदैन' भन्दै कराएको भिडिओमा देखिन्छ।
यसैगरी माघ २७ गते तत्कालीन राष्ट्रपति विद्यादेवी भण्डारीले प्रतिनिधिसभा र राष्ट्रियसभामा संयुक्त सम्बोधन गर्ने दिन पनि प्रहरीले राष्ट्रिय ट्रमा सेन्टरबाहिर गरेको लाठीचार्जको खुब आलोचना भएको थियो।
त्यस दिन राष्ट्रपतिको सवारी भएकाले सवारी साधन तथा सर्वसाधारणका लागि बाटो छेकिएको थियो। त्यही बेला ट्रमा सेन्टरबाहिर चिकित्सक जनिथलाल सिंह प्रहरीद्वारा कुटिएका थिए। उनीसँगै अन्य चिकित्सकमाथि पनि लाठीचार्ज भएको थियो।
उक्त घटनापछि चिकित्सकहरूले आन्दोलन गर्ने घोषणा गरे। यो घटनालाई लिएर प्रहरी वृत्त जनसेवाका प्रहरी वरिष्ठ हवल्दार शम्भुजंग गुरूङलाई निलम्बन नै गरिएको थियो।
गत फागुन २६ गते पनि सप्तरीको एउटा भिडिओ बाहिरिएको थियो, जसमा प्रहरी जवान संजिवकुमार राय र स्थानीयबीच विवाद भएको देखिन्छ।
त्यस सम्बन्धमा अनुसन्धान गर्न प्रहरी जवानलाई निलम्बन गरियो भने स्थानीय चार जनालाई नियन्त्रणमा लिइएको थियो।
स्थानीयले प्रहरी जवानमाथि मापसे गरी झगडा गरेको आरोप लगाएका थिए। जिल्ला प्रहरी कार्यालयले भने उनले मापसे नगरेको र उनको अरू नै समस्या भएको बताएको छ। यसमा अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ। पक्राउ परेका चारमध्ये दुई जनालाई साधारण तारेखमा छाडिएको छ भने दुई जनामाथि मुद्दा चलाइएको छ।
ड्युटीमा खटिएका प्रहरीसँग अभद्र व्यवहार गरेको र काममा बाधा-अड्चन पुर्याएको भन्दै मुद्दा चलाइएको हो। उनीहरू ६ दिन हिरासतमा बसेर धरौटी बुझाएर छुटेका थिए।
यसरी लगातार प्रहरी ज्यादतीका घटना बढ्दै जानुमा प्रहरी मनोविज्ञान जोडिएको हुनसक्ने पूर्व नायब महानिरीक्षक (डिआइजी) हेमन्त मल्ल बताउँछन्।
मंगलबारको जस्तो घटना यसअघि कहिल्यै नभएको प्रस्ट्याउँदै तल्लो तहका प्रहरी कर्मचारी कारबाहीमा पर्ने भयले पनि त्यस्तो भएको हुनसक्ने उनले बताए।
‘पहिले पनि कालो झन्डा, कालो छाता देखाउँथे। तर मुख थुन्ने काम हुन्थेन। विरोध गर्नेलाई नियन्त्रणमा लिइन्थ्यो, पछि छाड्ने गरिन्थ्यो,’ उनले भने, ‘आफू कारबाहीमा परिन्छ कि भन्ने मनोविज्ञानका कारण यस्तो भएको हुनसक्छ। भिभिआइपी सवारी बेला रोकिएन भने कारबाहीमा परिने डर, तनाव, ओभरड्युटी लगायत कारण यसमा जिम्मेवार हुन सक्छन्।’
उनले थपे, ‘प्रहरी पनि समाजकै व्यक्ति हो। नेपाली समाजमा हुने आक्रोश र तुरून्तै प्रतिक्रिया जनाउने बानीका कारण पनि यस्ता घटना हुन्छन्।’
यति हुँदाहुँदै सर्वसाधारणले गर्ने गतिविधि र सरकारी निकायका व्यक्तिले गर्ने गतिविधिमा फरक हुनुपर्ने उनको भनाइ छ।
‘सरकारी निकाय भनेको जिम्मेवार निकाय हो, उसले यस्तो नगर्दा नै हुन्छ। यसले गलत सन्देश जान्छ,’ उनले भने, ‘मानिस नियन्त्रण गर्दा होस् वा भीड नियन्त्रण गर्दा, यस्ता गुनासा धेरै आइरहेका छन् भने प्रहरी प्रधान कार्यालयले नोटिसमा लिनुपर्छ। प्रशिक्षण दिएर हुन्छ कि ब्रिफिङ गर्ने हो कि के गर्नुपर्छ, त्यो गर्नुपर्छ।’
मंगलबारको घटनामा पक्राउ गरी मुद्दा चलाउनाले पछि प्रहरी नै अप्ठ्यारोमा पर्ने उनी बताउँछन्।
अनुसन्धान अधिकृतलाई अधिकार नै भए पनि हरेक कुरामा मुद्दा चलाउन थाले जनताले त्यसलाई अरू मुद्दासँग दाँजेर हेरेपछि प्रहरी अप्ठ्यारोमा पर्ने उनले बताए।
‘जनताले यसलाई तराजुमा राखेर हेर्छन्। फलानोलाई नचलाउने, यस्तोमा चाहिँ मुद्दा चलाउने भनेर भन्छन्। मान्छेले दाँज्दा ठूला व्यक्तिहरूसँग दाँज्छन्। यसले गलत सन्देश जान्छ,’ उनले भने।
प्रहरी प्रवक्ता एवं नायब महानिरीक्षक (डिआइजी) पोषराज पोखरेलले पनि मंगलबारको जस्तो मुख थुन्ने घटना निर्देशन वा कुनै नीतिअनुरूप नभएको बताए। उक्त घटना भवितव्य र संयोगबाहेक अरू नभएको उनको भनाइ छ।
‘कसैलाई बोल्न नदिने वा मुख थुन्ने नीति र निर्देशन केही पनि छैन। फिल्डमा जानी-नजानी भएको भन्ने हामीले बुझ्यौं। कमान्डरले पनि यस्तो आदेश दिँदैन, अपर्झट-अचानक भएको घटना हो,’ उनले भने, ‘स्वतन्त्रता, मानवअधिकार, कानुनभन्दा बाहिर जान हामी भन्दैनौं। स्पष्ट ब्रिफिङ गरेका हुन्छौं। गस्ती जाँदा प्रहरी भीडसँग लडेजस्तै भएको मात्र हो।’
कीर्तिपुरको घटनामा पनि एक्कासि भीड बढेकाले केही समय नियन्त्रण गर्न गाह्रो भएकाले त्यस्तो भएको उनले बताए।
यस्ता पटकपटक आइरहने घटना मनसाययुक्त नभए पनि प्रहरी प्रधान कार्यालयले संवेदनशीलताका विषयमा ब्रिफिङ गरिरहने उनले उल्लेख गरे।
‘हामी ब्रिफिङ गरिरहन्छौं। अझै पनि गर्छौं। हिजोको घटनापछि सेटमै सर्कुलर भयो, ब्रिफिङ पनि भयो,’ उनले भने, ‘परिसर, रानीपोखरीले मातहत कार्यालयलाई सचेत गराउने काम भयो। हामी यस विषयमा सचेत छौं। यो घटनाले नेपालभरिकै प्रहरीले यस्तो गर्नहुन्न भन्ने सन्देश पनि पाए।’