नेकपा (एमाले) का उपाध्यक्ष एवं सांसद बिष्णु पौडेलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पुस १० मा बनेको गठबन्धनबाट पुरानै गठबन्धनमा फर्किनुको कारण दिनुपर्ने बताएका छन्।
सोमबार प्रतिनिधि सभामा प्रधानमन्त्री प्रचण्डले पेस गरेको विश्वासको मतमाथिको प्रस्तावमा भएको छलफलमा बोल्दै पौडेलले पुस १० गते गठबन्धन बन्नुको पृष्ठभूमि उल्लेख गर्दै प्रधानमन्त्री प्रचण्ड अर्को दिनदेखि नै पुरानो गठबन्धनमा फर्किन खोजेको बताए।
‘तपाईंलाई पुरानै गठबन्धनमा फर्किनु थियो भने हामीसँग सहयात्रा गर्न किन सहमत हुनुभयो?,’ पौडेलले भने,‘तपाईंले अहिले जवाफ नदिनु होला तर इतिहासले यो प्रश्नको जवाफ खोज्नेछ।’
एमालेलाई बाहिर राखेर राष्ट्रिय सहमति नहुने पौडेलको जिकिर थियो।
उनले पुस १० गते प्रधानमन्त्री बन्दा नै प्रचण्डले एमालेका राष्ट्रपति उम्मेदवारलाई मत दिने प्रतिवद्धता व्यक्त गरेको बताए।
तत्कालीन परराष्ट्र मन्त्री विमला राई पौड्याललाई गरिएको अपमानका कारण एमालेले सरकार छोडेको पौडेलले बताए।
‘एमालेले किन सरकार छाड्यो भन्ने दुनियाँलाई थाहा छ। सबैभन्दा धेरै प्रधानमन्त्रीलाई नै थाहा छ,’ उनले भने।
पौडेलले कति पटक विश्वासको मत लिने हो भन्दै प्रधानमन्त्री प्रचण्डलाई व्यंग्य पनि गरे।
पुस २६ मा प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिने बेलामा पौडेल उपप्रधान तथा अर्थमन्त्री थिए।
‘दुई महिनामै फेरि विश्वासको मत माग्नुभयो। कति पटक विश्वासको मत लिने हो?,’ उनले सोधे।
प्रचण्ड सरकारलाई विश्वासको मत दिनु पर्ने कुनै आधार र कारण नभएकाले एमालेले विश्वासको मत नदिने पौडेलले स्पष्ट पारे।
यसअघि विश्वासको मत माग्दै प्रधानमन्त्री प्रचण्डले आफूले राष्ट्रिय सहमतिको प्रस्ताव गर्दा एमाले र राप्रपाले सरकार छोडेको उल्लेख गर्दै उनीहरू अस्थिरताको कारक बनेको बताएका थिए।