प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच सोमबार ओली निवास बालकोटमा छलफल भयो।
पुस ११ गते प्रधानमन्त्रीको शपथ लिएका प्रचण्डले अहिलेसम्म ओलीसँग सात पटक एक्लाएक्लै भेटेर कुरा गरिसकेका छन्। कुराकानी गर्न कहिले ओली प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुग्छन् भने कहिले प्रचण्ड नै ओली निवास बालकोट जान्छन्।
पुस २६ गते संसदबाट विश्वासको मत पाइसकेपछि पनि प्रधानमन्त्री प्रचण्ड दुई पटक बालकोट पुगिसके। सोमबार त उनले दिउँसो खाना पनि बालकोटमै खाए।
ओली र प्रचण्डबीच बालकोट र बालुवाटारमा बारम्बार भेटवार्ता भए पनि अहिलेसम्म मन्त्रिपरिषद्ले पूर्णता पाउन सकेको छैन। नयाँ मन्त्री नियुक्ति त परको कुरा प्रधानमन्त्री प्रचण्डले नियुक्त भएको महिना दिन पुग्न लाग्दा पनि ४ जना मन्त्रीलाई बिना विभागीय राखेका छन्। आफू एक्लैले १७ मन्त्रालयको जिम्मेवारी लिएका छन्।
राजनीतिक घटनाक्रम हेर्दा सोमबार पनि मन्त्रिपरिषद् विस्तार हुने सम्भावना न्यून छ।
स्रोतका अनुसार मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुनुको कारण नेपाली कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई दिएको विश्वासको मत हो। पुस २६ गते कांग्रेसले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दियो। प्रमुख प्रतिपक्षी दलले प्रधानमन्त्रीलाई विश्वासको मत दिने घटना संसदीय लोकतन्त्रमा बिरलै हुने गर्छ। प्रधानमन्त्रीलाई विश्वासको मत दिएपछि कांग्रेस नेतृत्वको आलोचना पनि भयो।
कांग्रेसको त्यही विश्वासको मतले प्रधानमन्त्री प्रचण्ड र एमाले अध्यक्ष ओलीबीच भने ‘अविश्वास’को वातावरण बनेको देखिन्छ। आकस्मिक रूपमा भएको प्रचण्ड-ओली सुलहपछि अहिलेको गठबन्धन बनेको हो। जसको धरातल निकै कमजोर भएको ठान्नेहरू धेरै छन्।
कांग्रेसको विश्वासको मतपछि प्रचण्डले आफ्नो सरकारलाई राष्ट्रिय सहमतिको सरकारका रूपमा अघि सार्न खोजेको देखिन्छ। पुस २६ गते विश्वासको मतसम्बन्धी मतदानमा सहभागी भएका २७० मध्ये २६८ सांसदले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिएका थिए। कांग्रेसले समेत विश्वासको मत दिएपछि प्रचण्डले राष्ट्रिय सहमतिमा जोड दिइरहेका छन्।
सभामुख तथा राष्ट्रपतिको निर्वाचनमा राष्ट्रिय सहमतिमै अघि बढ्ने भनेर प्रधानमन्त्री प्रचण्डले मंगलबार सर्वदलीय बैठकसमेत बोलाएका छन्।
प्रचण्डले राष्ट्रिय सहमतिमा जोड दिइरहेका बेला एमाले अध्यक्ष ओली भने राष्ट्रपति चुनावमा माओवादीले दायाँबायाँ नगर्ने प्रतिवद्धता खोजिरहेका छन्। अहिलेको गठबन्धन बनाएर संसदको सबैभन्दा ठूलो दल कांग्रेसलाई सत्ताबाहिर राख्न मुख्य भूमिका खेलेका ओली राष्ट्रपतिको चुनावसँगै अहिलेको गठबन्धन नधर्मराओस् भन्ने सचेत देखिन्छन्।
पुस २६ गते नै संसदमा बोल्दै ओलीले कांग्रेसले विश्वासको मत दिएर माछा मार्न ढोक्सा थापेको वा जाल फालेको हो भने त्यसमा कुनै माछा नपर्ने बताएका थिए। संसदमा कांग्रेसको जालमा माछा नपर्ने दाबी गरेका ओली प्रचण्डबाट पनि राष्ट्रपतिमा एमाले उम्मेदवारलाई पूर्ण सहयोग हुने सुनिश्चितता चाहन्छन्।
प्रतिनिधि सभामा ३२ र राष्ट्रिय सभामा १५ र प्रदेश सभामा ८४ सांसद रहेको माओवादी केन्द्रको राष्ट्रपतिको चुनावमा मतभार ७ हजार ७ सय ४५ छ।
राष्ट्रपतिको निर्वाचनमा माओवादी केन्द्रले जसलाई समर्थन गर्छ त्यता नै पल्ला भारी हुने स्थिति छ। त्यसैले माओवादी केन्द्रसँग एमालेले राष्ट्रपतिको निर्वाचनमा अहिलेनै विश्वासिलो समर्थन खोजिरहेको छ।
एमाले उपमहाचिव विष्णु रिमाल दुई नेताबीचको भेटघाट स्वाभाविक रहेको र यसले थप विश्वासको वातावरण निर्माण गर्ने बताउँछन्।
‘सात दलको समर्थनमा प्रचण्ड प्रधानमन्त्री बन्नुभएको छ। त्यो गठबन्धन कांग्रेसको कारणले अप्ठेरोमा पर्ने स्थिति अहिलेसम्मलाई छैन। सरकार सञ्चालन तथा अन्य राजनीतिक विषयमा छलफलका लागि दुई नेताबीच बारम्बार हुने भेट स्वाभाविक हुन्, यसले सरकार सञ्चालनमा सहजता र थप विश्वासको वातावरण सिर्जना गर्छ,’ उपमहासचिव रिमालले भने।
सत्ता गठबन्धनभित्र केही विषय मिल्न बाँकी रहेकाले मन्त्रिपरिषद् विस्तारमा केही विलम्ब भएको उपप्रधानमन्त्रीसमेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले बताए।
‘सत्ता गठबन्धनभित्र केही विषय अझै मिल्न बाँकी छन्। प्रधानमन्त्रीले छलफल गरिरहनुभएको छ केही दिनभित्रै मन्त्रिपरिषद् विस्तार हुन्छ,’ उनले भने।
प्रतिनिधि सभाको सभामुख चयन माघ ५ गते हुँदैछ। मंगलबार सभामुखको निर्वाचन कार्यतालिका सार्वजनिक हुनेछ। मंगलबार प्रचण्डले आफूलाई विश्वासको मत दिने सबै दलसँग छलफलसमेत राखेका छन्। मन्त्रिपरिषद्को विस्तार सभामुखको निर्वाचनपछि हुनसक्ने बताइएको छ।