नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पहिलो कार्यकालमा माओवादीलाई प्रधानमन्त्री नदिने अडान यथावत राखेपछि माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बैठकबाट बाहिरिएका छन्।
आइतबार बालुवाटारमा कांग्रेस सभापति देउवा, माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीचको बैठक थियो।
डेढ घण्टा लामो बैठकमा कांग्रेस सभापति देउवा पहिलो कार्यकाल प्रचण्डलाई दिन तयार नभएपछि प्रचण्ड चिढिँदै बाहिरएका हुन्।
विगतको भद्र सहमति पालनामा कांग्रेस सभापति देउवा सकारात्मक नदेखिएपछि उनी बाहिरिएको माधवकुमार नेपालले सेतोपाटीसँग बताए। ‘विगतमा सहमति गरेपछि देउवाजीले पालना गर्नुपर्थ्यो। तर, सहमति पालनामा उहाँले सकारात्मक संकेत देखाउनुभएन। त्यसपछि उहाँ बाहिरिनुभयो,’ नेपालले भने।
प्रचण्ड गठबन्धनको औचित्य सकिएको भन्दै बाहिरिएका थिए।
बैठकमा समाजवादीका अध्यक्ष नेपालले राष्ट्रपतिलाई सरकार गठनको समय थप गर्न प्रधानमन्त्रीलाई आग्रह गर्न पनि सुझाएका थिए। त्यसमा पनि देउवा सकारात्मक देखिएनन्। ‘राष्ट्रपतिले दिएको समय सकिन लागेको छ समय थपौँ भन्दा पनि देउवाले आलस्यता देखाउनुभयो,’ नेपालले भने।
बैठकमा दुई नेताबीच कुरा नमिलेपछि एकीकृत समाजवादीले पहिलो कार्यकाल आफूलाई दिन समेत प्रस्ताव गरेको छ।
‘तपाइँहरू नमिल्ने हो भने २-२ -१ को सहमति पालना गर्दा पहिलो कार्यकाल हामीलाईनै दिनोस् भन्ने ढंगले पनि कुरा भए,’ नेपालले भने, ‘तर कुनै पनि विकल्पमा देउवा तयार हुनुभएन।’
बालुवाटारबाट निस्किएका माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले एमालेसँग छलफल गर्न नेताहरूलाई बालकोट पठाएका छन्। उनी पनि केही बेरमा बालकोट पुग्ने प्रचण्डको सचिवालयले जानकारी दिएको छ।