नेकपा (एमाले) का सचिव गोकर्ण बिष्टले सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय नभएको बताएका छन्।
‘सरकारमा सामेल हुने विषय एमालेको प्राथमिकताको विषय होइन तर, सरकार गठनको प्रक्रियाबाट एमाले भाग्दैन,’ बुटवलमा आइतबार पत्रकारहरुसँग संक्षिप्त कुराकानी गर्दै बिष्टले भने, ‘लोकतन्त्रको मर्यादा र भूमिकालाई कायम राख्दै संसदीय अभ्यासलाई सम्मान गर्छौं तर, त्यो भन्दैमा सबै प्रक्रियाबाट टाढा हुँदैनौं। जनताको भावनालाई शिरमा राखेर काम गर्छौं।’
गुल्मीबाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित बिष्टले एमालेलाई दिएको जनमत प्रतिपक्षमा बस्नको लागि भएकाले सत्तामा बस्नका लागि अवाञ्छित गतिविधि गर्ने पक्षमा आफूहरू नरहेको स्पष्ट पारे।
‘सरकार निर्माणका लागि एमालेलाई हतारो छैन,’ उनले भने।
बिष्टले यो निर्वाचनले वाम आन्दोलन, राष्ट्र र जनताको हितको लागि महत्वपूर्ण सन्देश दिएको उल्लेख गर्दै एमालेले जनताको त्यो म्यान्डेटलाई शिरमा राखेर काम गर्ने बताए।
एमालेको भूमिका कमजोर बनाउन चौतर्फी घेराबन्दी गरिए पनि जनताले एमालेलाई समानुपातिकमा पहिलो पार्टीको रूपमा अनुमोदन गरेको उनले बताए।
उनले वाम पार्टीको नामबाट राष्ट्रियता, स्वतन्त्रता स्वाधिनताको अपमान गर्ने, समृद्धिको हितविपरीत लाग्ने तथा दक्षिणपन्थीसँग गठबन्धन गर्नेहरूसँग गठबन्धन गरेर सरकार बनाउन आफूहरू नलाग्ने बताए।
‘हामी लोकतन्त्रको मूल्य र मान्यतालाई केन्द्र भागमा राखेर सरकार निर्माणमा लाग्ने छौं,’ बिष्टले भने।
जनताको आशा र भरोसालाई माथि उठाउने गरी जनपक्षीय सरकार बनाउने काममा लाग्ने उल्लेख गर्दै उनले सरकार बनाउने र सामेल हुने विषय एमालेको प्राथमिकताको विषय नभएको दोहोर्याए।