नेकपा एमालेका पोलिटब्युरो सदस्य सूर्य थापाले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'को नेतृत्व नेकपा एमालेले कुनै पनि हालतमा स्वीकार नगर्ने बताएका छन्।
प्यूठानबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित थापाले वामपन्थी एकता वा कुनै पनि मोर्चाको मुरली बजाउने नाममा प्रचण्डलाई प्रधानमन्त्री बनाउने काममा एमाले नलाग्ने बताए।
‘प्रचण्डलाई प्रधानमन्त्री बनाउने नाममा कुनै एकता वा मोर्चा बनाउने काममा एमाले लाग्दैन, एमालेले सकेसम्म केपी ओलीको नेतृत्वमा सरकार बनाउँछ नभए नेपाली कांग्रेसलाई समर्थन गरेर प्रतिपक्षमा बस्छ,’ बुटवलमा पत्रकारहरूसँग संक्षिप्त कुराकानी गर्दै थापाले भने।
उनले यदि एमालेले प्रचण्डलाई प्रधानमन्त्री बनाउने गरी कुनै निर्णय गर्याे भने आफूले असहमति जनाउने र नोट अफ डिसेन्ट लेख्ने बताए।
‘केपी ओली नेतृत्वको सरकारलाई समर्थन गरे प्रचण्डलाई स्वीकार गर्छौं तर, प्रचण्ड नेतृत्वको सरकार किमार्थ मानिँदैन। कसैले बनाउने प्रस्ताव गरे संसदीय दल, पोलिटव्यूरो र केन्द्रीय समितिमै मैले नोट अफ डिसेन्ट लेखेर विरोध गर्छु,’ थापाले भने।
विगतमा एकीकरणका नाममा प्रचण्डले पार्टी कब्जा गर्ने षड्यन्त्र गरेकोले उनलाई स्वीकार गर्न नसकिने थापाको तर्क थियो।
नेता थापाले अहिले वामपन्थी एकता समेत सम्भव नभएको बताए।
नेकपा एमालेले वामपन्थी एकताको अभ्यासबाट यसअघि नै धोका खाएको भन्दै उनले वामपन्थी एकताको मुरली धुन अब नचल्ने स्पष्ट पारे।
‘वामपन्थी मिलन वा एकताको नाममा पार्टीले पहिले जस्तै गाईजात्रा गरोस् भन्ने पक्षमा जनता छैनन्, आफैं वामपन्थी हुनुभन्दा अरूको उपयोगका लागि बनिएका वामपन्थीहरूसँग एकता हुन सक्दैन,’ थापाले भने।
नेता थापाले सत्ता बनाउनकै लागि हुने गठबन्धनको चलखेल, सांसद किनबेच तथा अनैतिक सम्झौताबाट पार्टी जोगिनुपर्ने बताए।
उनले एकथान प्रधानमन्त्री वा मन्त्री बन्नकै लागि एमालेलाई सरकारमा जानु आवश्यक नरहेको तर मुलुक जिताउने शर्तमा नेपाली कांग्रेससँग आलोपालो गरी सरकारमा जान सकिने बताए।