गत मंसिर ४ गते सम्पन्न निर्वाचनबाट लुम्बिनी प्रदेशसभामा प्रतिनिधित्व गर्ने राजनीतिक दलहरूको संख्या दोब्बरले वृद्धि भएको छ।
यसअघि २०७४ सालको निर्वाचनबाट प्रत्यक्ष तथा समानुपातिक गरी पाँच वटा राजनीतिक दलहरूको प्रतिनिधित्व रहेकोमा यसपटक भने दोब्बरले वृद्धि भई १० वटा दलको प्रतिनिधित्व हुने भएको छ।
प्रत्यक्ष निर्वाचनबाट ५२ जना र समानुपातिकबाट ३५ गरी ८७ सदस्यीय रहने प्रदेश सभामा २०७४ सालमा नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाको प्रतिनिधित्व रहेको थियो। यद्यपि एमाले विभाजनपछि भने पाल्पाबाट समानुपातिक सांसद बनेकी रमा घर्तीले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी पार्टी रोजेकी थिइन्।
यस पटकको निर्वाचनबाट भने यसअघि प्रतिनिधित्व गरेका नेकपा एमाले, नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चासँगै राष्ट्रिय प्रजातन्त्र पार्टी, एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीको प्रतिनिधित्व थपिएको छ।
निर्वाचन आयोगका अनुसार आठ वटा दल प्रत्यक्ष निर्वाचनमा समेत सिट जिते पनि राष्ट्रिय जनमोर्चा र एकीकृत समाजवादीले भने समानुपातिकबाट मात्रै प्रतिनिधित्व गर्ने मौका पाएका हुन्।
प्रत्यक्षतर्फ नेकपा एमालेले १८, नेपाली कांग्रेसले १७, माओवादी केन्द्रले ५ तथा जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीले दुई दुई स्थान जितेका थिए।
त्यस्तै, जनमत पार्टीले १ स्थानमा र ३ जना स्वतन्त्र उम्मेदवारले जितेका थिए।
३५ जना समानुपातिक सांसदको सिट बाँडफाँटका आधारमा नेकपा एमालेले ११ सिट पाएको छ।
त्यस्तै, नेपाली कांग्रेसले १०, माओवादी केन्द्रले ४, राष्ट्रिय प्रजातन्त्र पार्टी, जनमत पार्टी र नागरिक उन्मुक्ति पार्टीले २/२ तथा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा र लोकतान्त्रिक समाजवादीले १/१ सिट पाएका छन्।
समानुपातिकबाट सिट पाएका सबै दलहरूले सांसदहरूको सूची समेत निर्वाचन आयोगमा पठाइसकेका छन्।
नेकपा एमालेले खस आर्यबाट गिरिधारीलाल न्यौपाने, जानकी न्यौपाने र बसन्ती न्यौपानेलाई सिफारिस गरेको छ।
जनजातिबाट सरिता पुन र यमुना रोका, थारुबाट सीता शर्मा चौधरी, भगवती कुमारी थरुनी, दलितबाट इन्द्रकुमारी गहतराज र रेखाकुमारी शर्मालाई सिफारिस गरेको छ।
त्यस्तै, मधेशी कोटाबाट शान्ती लोधलाई तथा मुस्लिम कोटाबाट सायरा बानोलाई सिफारिस गरेको छ।
नेपाली कांग्रेसले खसआर्यबाट जमूना ढकाल, निमा गिरी र मालती सोडारीलाई सिफारिस गरेको छ भने जनजातिबाट धनलक्ष्मी श्रेष्ठ, माया पुन, थारुबाट देवीप्रसाद चौधरी, मञ्जुकुमारी चौधरीलाई सिफारिस गरेको छ।
यसैगरी दलितबाट लोकीकुमारी वि.क., मधेसीबाट सुगौली बादी र मुस्लिमबाट मिनाकुमारी सिद्दिकीलाई प्रदेश सांसद सिफारिस गरेको छ।
चार जना मात्रै समानुपातिक सिट पाएको माओवादी केन्द्रले भक्ति प्रसाद आचार्य, दिलकुमारी बुढा, यमबहादुर नेपाली सार्की र कृष्णा कुस्मा थारुलाई सिफारिस गरेको छ।
त्यस्तै, नागरिक उन्मुक्ति पार्टीले निर्मलादेवी थारु र नोरीकुमारी चौधरीलाई सिफारिस गरेको छ।
जनमत पार्टीले सुमन शर्मा रायमाझी र गीता गुरुङलाई सिफारिस गरेको छ भने राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेनुका खाण र मिना कुमारी श्रेष्ठ सिफारिस भएका छन्।
एकएक जना सांसद सिट पाएको जनमोर्चाले तारा थापालाई सिफारिस गरेको छ भने लोसपाले हेमा बेल्बासे केसीलाई सांसदका लागि सिफारिस गरेको छ।
त्यसैगरी जनता समाजवादी पार्टीले अम्बिका काफ्लेलाई र एकीकृत समाजवादीले भगवती अधिकारी घिमिरेलाई प्रदेश सांसदका लागि सिफारिस गरेको छ।
राजनीतिक दलहरूले निर्वाचन आयोगमा सांसदहरूको नाम सिफारिस गरी पठाए पनि निर्वाचन आयोगले दलहरूलाई सूची नमिलेको भए सच्याउन सोमबारसम्मको समय दिएको छ।
प्रत्यक्ष र समानुपातिक गरी २९ सिटसहित यसपटक पनि नेकपा एमाले नै सबभन्दा ठूलो दल बनेको छ।
त्यस्तै नेपाली कांग्रेस २७, माओवादी केन्द्रबाट ९, राष्ट्रिय प्रजातन्त्र पार्टी र नागरिक उन्मुक्ति पार्टीका ४/४ जना सांसद रहेका छन्।
त्यस्तै जनता समाजवादी पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी र जनमत पार्टीका ३/३ जना सांसद रहेका छन् भने एकीकृत समाजवादी र राष्टिय जनमोर्चाबाट एकएक मात्रै सांसद रहेका छन्।
लुम्बिनी प्रदेश सभामा यसपटक स्वतन्त्र रूपमा उम्मेदवारी दिएका तीन जना सांसद बनेका छन्।
यसअघि २०७४ सालमा प्रत्यक्ष र समानुपातिक गरी नेकपा एमालेबाट ४१, माओवादी केन्द्रका २०, नेपाली कांग्रेसका १९, जनता समाजवादी पार्टीका ६ र राष्ट्रिय जनमोर्चाका एकजना सांसद रहेका थिए।