सत्तारूढ गठबन्धनका दलहरूले मंसिर ४ मा भएको संसदीय चुनावमा सोचेजस्तो परिणाम नआएको बताएका छन्। गठबन्धन बनाएर चुनावमा होमिएका सत्तारूढ दलहरूमध्ये माओवादी केन्द्र र एकीकृत समाजवादीका नेताहरूले कांग्रेसको मत ट्रान्सफर नहुनु अनपेक्षित नतिजा आउनुको एउटा कारण भएको गुनासो गरेका छन्।
गत वैशाख ३० मा भएको स्थानीय चुनाव र अहिलेको चुनावी परिणामलाई हेर्ने हो भनेचाहिँ सत्ता गठबन्धनका दलहरूबीच उल्लेख्य मात्रामा मत ट्रान्सफर भएको देखिन्छ।
त्यसको सबैभन्दा बलियो उदाहरण हो, नेकपा (एकीकृत समाजवादी) का उम्मेदवारले पाएको मत।
पहिलो पटक संसदीय चुनाव लडेको एकीकृत समाजवादीको यसअघि कुनै क्षेत्रमा कति मत थियो भन्ने एकिन गर्न सकिन्न। तर गत वैशाखमा भएको स्थानीय तहको चुनावमा उसका वडाध्यक्ष उम्मेदवारहरूले पाएको मतलाई आधार मान्दा यसपालि कति मत ट्रान्सफर भएको छ भन्ने चित्र प्रष्ट देखिन्छ।
प्रतिनिधि सभा निर्वाचनमा त्यस पार्टीले उम्मेदवारी दिएको १९ मध्ये १८ वटै निर्वाचन क्षेत्रमा समाजवादीलाई मत ट्रान्सफर भएको छ। गत वैशाखमा भएको स्थानीय निर्वाचनमा यी १९ निर्वाचन क्षेत्रमा पर्ने स्थानीय तहहरूबाट १ लाख ७ सय १३ मत ल्याएको एकीकृत समाजवादीले प्रतिनिधि सभा निर्वाचनमा भने ३ लाख ९४ हजार ८ सय ८१ मत ल्याएको छ।
एकीकृत समाजवादी एक्लैको मत कति कमजोर छ भन्ने तथ्य उसले समानुपातिकतर्फ प्राप्त गरेको मतले नै प्रस्ट पारेको छ।
समानुपातिकतर्फ ४३ लाख ३६ हजार मत गणना हुँदा एकीकृत समाजवादीले २ दशमलव ३ प्रतिशत अर्थात् ८७ हजार ९ सय ४४ मत मात्रै प्राप्त गरेको छ।
सबैभन्दा पहिला अहिले विजयी भएका एकीकृत समाजवादीका उम्मेदवारले पाएको मत विवरण हेरौं।
एकीकृत समाजवादीले १० निर्वाचन क्षेत्र जितेको छ।
रौतहट-१ मा अध्यक्ष माधवकुमार नेपाल ३३ हजार ५ सय २२ मतका साथ विजयी भएका छन्। उनको क्षेत्रमा स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीका वडाध्यक्ष उम्मेदवारले पाएको मत संख्या १९ हजार ६ सय ९८ थियो। त्यहाँ नेपाली कांग्रेसको मत १९ हजार ९ सय २८ र माओवादी केन्द्रको मत ८ हजार १ सय ९१ थियो। स्थानीय तहमा गठबन्धनको कुल मत ४४ हजार ८ सय १७ थियो। अध्यक्ष नेपाललाई १३ हजार ८ सय ५४ मत गठबन्धन दलबाटै थपिएको छ।
धादिङ १ मा स्थानीय तह चुनावमा एकीकृत समाजवादीले ८ हजार ८ सय ३६ मात्रै पाएको थियो। यसपालि उक्त दलका उपाध्यक्ष राजेन्द्र पाण्डे ३५ हजार ९ सय ३४ मतसहित प्रतिनिधि सभामा विजयी भएका छन्। स्थानीय तहको मतभन्दा २७ हजार १ सय बढी मतले एकीकृत समाजवादीका पाण्डे निर्वाचित भएका हुन्। स्थानीय तह चुनावको परिणामअनुसार त्यहाँ कांग्रेसको मत १९ हजार ४ सय २३ थियो भने माओवादी केन्द्रको मत २४ हजार ९ सय २८ थियो।
एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला पार्टीको मतभन्दा २६ हजार २ सय ३३ मत बढी मतले विजयी भए। स्थानीय तहको परिणामअनुसार त्यहाँ एकीकृत समाजवादीको मत ९ हजार ४ सय ६७ थियो। ज्वाला ३५ हजार ७ सय मतसहित विजयी भएका हुन्। स्थानीय चुनावमा त्यहाँ कांग्रेसको मत ३३ हजार ६ सय १६ थियो भने माओवादी केन्द्रको मत २६ हजार ७ सय १८ मत प्राप्त गरेको थियो।
डोटीबाट समाजवादीका प्रेम आले विजयी भएका छन्। उनी निर्वाचित क्षेत्रमा एकीकृत समाजवादी मात्रैको मत ३२ सय ५ थियो। आले अहिले २७ हजार १० मतसहित निर्वाचित भएका हुन्। त्यहाँ स्थानीय तहमा कांग्रेसको मत ३४ हजार ४७ मत थियो भने माओवादीले ७ हजार ७ सय ८९ मत ल्याएको थियो। उनलाई गठबन्धन दलबाट २४ हजार पाँच मत थपिएको देखिन्छ।
बझाङबाट समाजवादीका भानुभक्त जोशीलाई गठबन्धन दलको २० हजार ७ सय ८१ मत थप भएको देखिन्छ। स्थानीय तह निर्वाचनमा एकीकृत समाजवादीको ७ हजार ६ सय ३२ मत रहेको निर्वाचन क्षेत्रमा उनले २८ हजार ४ सय १३ मत ल्याएका छन्। स्थानीय तहको निर्वाचन परिणामअनुसार त्यहाँ कांग्रेसको मत २० हजार १ सय ६६ थियो भने माओवादी केन्द्रको मत ९ हजार १ सय ४५ थियो।
अछाम १ बाट निर्वाचित शेरबहादुर कुँवरले १९ हजार ५ सय ३४ मत ल्याएका छन्। स्थानीय चुनावको परिणामअनुसार त्यस क्षेत्रमा समाजवादीको मत २७५२ मात्रै थियो। त्यहाँ कांग्रेसको मत १६ हजार ७ सय २८ थियो भने माओवादी केन्द्रको मत ६ हजार ७ सय ९० थियो।
यस्तै, डोल्पाबाट विजयी भएका धनबहादुर बुढालाई पनि गठबन्धनको मत ट्रान्सफर भएको देखिन्छ। समाजवादीको मत ५५ सय २९ रहेको क्षेत्रमा उनी ११ हजार ९२ मत सहित विजयी भएका हुन्। स्थानीय तहको परिणामअनुसार त्यहाँ कांग्रेसको मत ३ हजार ६९ र माओवादी केन्द्रको मत ४ हजार ८ सय ५५ थियो।
यता, दैलेख १ मा निर्वाचित अम्बरबहादुर थापाले पनि पार्टीको मतभन्दा १२ हजार ७ सय ६८ बढी मतले विजयी भए। स्थानीय तहको परिणामअनुसार त्यहाँ एकीकृत समाजवादीको मत ५५ सय २९ थियो भने कांग्रेसको २० हजार ३ सय ४४ र माओवादीको ३१ सय ७५ थियो। थापा १८ हजार २ सय ९७ मतसहित निर्वाचित भएका हुन्।
यता, दाङ १ मा मेटमणि चौधरी पार्टीको मतभन्दा २४ हजार २ सय २२ मत बढीले निर्वाचित भए। समाजवादीको मत २३ सय ४१ रहेको निर्वाचन क्षेत्रमा उनी २६ हजार ५ सय ६३ मतसहित निर्वाचित भएका हुन्। स्थानीय तहको परिणामअनुसार त्यहाँ कांग्रेसको मत २९ हजार ७ सय ५७ थियो भने माओवादीको मत १९ हजार २ सय ७६ थियो।
यता, बारा ४ बाट किसानकुमार श्रेष्ठलाई पार्टीको मतभन्दा ११ हजार ४ सय २० मत थपिएको छ। स्थानीय चुनावमा एकीकृत समाजवादीको मत ५ हजार १९ रहेको क्षेत्रमा उनी १६ हजार ४ सय ४९ मत सहित विजयी भएका हुन्। त्यहाँ कांग्रेसको १६ हजार ५ सय ८९ र माओवादीको ९ हजार ७१ मत थियो।
विजयी भएका स्थानमा मात्रै नभएर समाजवादी पराजित भएका क्षेत्रमा समेत गठबन्धनको मत ट्रान्सफर भएको छ। समाजवादीका ९ उम्मेदवार पराजित भएका छन्। काठमाडौं ८ बाहेक अन्य सबै स्थानमा गठबन्धन दलको मत गएको छ।
एमालेकी सचिव रामकुमारी झाँक्री गुल्मी २ बाट पराजित भइन्। एकीकृत समाजवादीको ६ सय ५८ मत रहेको त्यस क्षेत्रमा उनले २६ हजार ७ सय ४१ मत प्राप्त गरिन्। त्यहाँ कांग्रेसको २९ हजार ८ सय २१ र माओवादी केन्द्रको १८ सय ४१ मत थियो।
यस्तै, कास्की २ बाट पराजित श्रीनाथ बराललाई ९ हजार ६ सय ५९ मत प्राप्त भएको छ। स्थानीय तहको परिणाम अनुसार समाजवादीले २ हजार ५३ मत पाएको थियो भने कांग्रेसले १९ हजार ८ र माओवादीले ११ हजार ९९ मत पाएका थिए।
मकवानपुर २ बाट पराजित विरोध खतिवडालाई पनि २६ हजार ४ सय ६२ मत थपिएको छ। एकीकृत समाजवादीको २७ सय १९ मत रहेको निर्वाचन क्षेत्रमा उनले २९ हजार १ सय ८१ मत ल्याएका थिए। त्यहाँ कांग्रेसको मत ३२ हजार २ सय ४० थियो भने माओवादीको मत २२ हजार ६ सय ११ थियो।
यता ललितपुर २ मा पराजित कृष्णलाल महर्जनले ८ हजार ६ सय ६६ मत प्राप्त गरे। स्थानीय तहको निर्वाचन परिणामअनुसार त्यहाँ समाजवादीको मत ३१ सय ९२ मत थियो भने कांग्रेसको २१ हजार ८१ र माओवादी केन्द्रको मत ५२ सय ५४ थियो।
उदयपुर २ मा उपमहासचिव जगन्नाथ खतिवडा पराजित भए। उनलाई पार्टीको मतभन्दा ९ हजार ४ सय ६६ मत थपिएको छ। खतिवडाले १२ हजार ८ सय ९३ मत प्राप्त गरेका थिए। स्थानीय चुनावको परिणामअनुसार त्यहाँ समाजवादीको मत ३४ सय २७ थियो भने कांग्रेसको ११ हजार ३ सय ४४ र माओवादीको ८ हजार २ सय २ मत थियो।
पाल्पा २ मा पराजित सोमप्रसाद पाण्डेले २३ हजार ८ सय ५१ मत प्राप्त गरे। समाजवादीको मत ४ सय ३३ रहेको त्यस क्षेत्रमा उनलाई २३ हजार ४ सय १८ मत थपिएको छ। त्यहाँ कांग्रेसको मत २९ हजार ३९ र माओवादी केन्द्रको मत १९ हजार २ सय ७६ थियो।
समाजवादीका सम्मानित नेता झलनाथ खनालको क्षेत्र इलाम १ मा पनि उनलाई गठबन्धनको मत प्राप्त भएको छ। त्यहाँ परिणाम आउन अझै बाँकी छ।
हालसम्मको परिणामअनुसार खनालले ११ हजार ७ सय ७२ मत ल्याएका छन्। त्यहाँ समाजवादीको मत ९ हजार ४ सय ८१ रहेको छ। स्थानीय चुनावको परिणामअनुसार त्यहाँ कांग्रेसको मत २५ हजार ७ सय ७२ र माओवादीको मत १२ सय ३५ रहेको छ।
काठमाडौं ८ मा मात्रै समाजवादीलाई मत ट्रान्सफर भएको छैन। समाजवादीका जीवनराम श्रेष्ठले त्यहाँ ४८ सय ८१ मत प्राप्त गरेका छन्। स्थानीय चुनावको परिणामअनुसार त्यहाँ कांग्रेसको १० हजार ८ सय ७२ र माओवादी केन्द्रको १ सय ८९ मत थियो।