गठबन्धन तथा तालमेलका कारण एउटा चुनावमा सहयात्री बनेकासँग अर्को चुनावमा प्रतिस्पर्धी बन्नु अहिलेको राजनीतिक व्यवस्थामा सामान्य मान्न थालिएको छ।
तर लुम्बिनी प्रदेशका ५ वटा निर्वाचन क्षेत्रमा २०७४ सालको निर्वाचनमा एउटै पार्टीभित्र रहेर एकअर्काका सारथी बनेकाहरू नै आगामी मंसिर ४ गते हुने निर्वाचनका मुख्य प्रतिस्पर्धी भएर आमनेसामने भएका छन्।
नेकपा एमालेको विद्यार्थी संगठन अनेरास्ववियुको केन्द्रीय अध्यक्ष बनेका अधिकांश नेताहरूले पार्टी राजनीतिमा बलियो पकड जमाए पनि पाल्पाका ठाकुर गैरे भने सधैं पछाडि परिरहे।
२०६२/६३ सालको जनआन्दोलन होस् या विभिन्न समयमा भएका निर्वाचनमा होस्, युवाहरूको कमान्डर बनेका गैरे संसदीय निर्वाचनको यात्रामा भने सोमप्रसाद पाण्डेको छायामा परिरहे।
२०५१ सालयताका हरेक निर्वाचनमा पाल्पा क्षेत्र नम्बर २ बाट पाण्डे उम्मेदवार बनिरहे। गैरे भने उनै पाण्डेलाई जिताउने कमान्डरका रूपमा खटिइरहे।
२०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा पराजित बने पनि एमालेबाट पाण्डे निर्वाचित भइरहे। यसपटकको निर्वाचनमा भने यसअघिका निर्वाचनमा उम्मेदवार बनेका तिनै पाण्डे र उनैलाई जिताउन कमान्डर बनेका गैरेका बीचमा रोचक प्रतिस्पर्धा हुँदैछ।
एमाले विभाजनअघि माधव नेपाल समूहमा रहेका गैरे र पाण्डे पार्टी विभाजनपछि अलगअलग पार्टीमा रहेपछि निर्वाचनमा आमनेसामने भएका हुन्।
पार्टी विभाजनका बेला एउटै पार्टीभित्र, एउटै क्षेत्रमा दुई नेता रहँदा कहिल्यै अवसर नपाइने भन्दै गैरे र पाण्डेलाई अलगअलग पार्टीमा लाग्न नेता तथा कार्यकर्ताहरूले सुझाव समेत दिएका थिए।
माधव नेपालका सम्धि समेत रहेका पाण्डे एकीकृत समाजवादीमा गएपछि गैरेका लागि संसदीय राजनीतिको बाटो खुला भएको हो।
अहिले गैरे एमालेबाट प्रतिनिधि सभा सदस्यका लागि उम्मेदवार बनेका छन् भने पाण्डे एकीकृत समाजवादीबाट उम्मेदवार छन्। पाण्डे एमालेमा रहुन्जेल सधैं उनको छायामा परिरहेका गैरे आफैं उम्मेदवार बनेको पहिलो हो।
२०७४ सालको निर्वाचनमा गुल्मी क्षेत्र नम्बर २ बाट एमालेका गोकर्ण विष्ट निर्वाचित हुँदा निर्वाचनको कमान्डर रामकुमारी झाक्रीले सम्हालेकी थिइन्।
अघिल्लो निर्वाचनमा विष्टलाई निर्वाचित गराउन दलिरो खम्बा बनेकी झाक्री अहिले उनै विष्टको आमनेसामने हुँदै उम्मेदवार बनेकी छन्।
यसअघि पार्टीभित्र समेत माधव नेपाल समूहमै रहेका विष्ट र झाक्री पार्टी विभाजनपछि अलगअलग पार्टीमा रहेपछि राजनीतिक बाटो पनि फेरिएको छ। विष्ट एमालेका सचिव छन् भने झाक्री एकीकृत समाजवादीकी सचिव छिन्।
सरकारमा मन्त्री रहँदा जनताको मन जित्ने गरी काम गरेको भन्दै दुवै जनाले प्रशंसा बटुलेका थिए। अहिले विष्ट एमालेबाट क्षेत्र नम्बर २ को प्रतिनिधि सभा सदस्यका उम्मेदवार छन् भने झाक्री सोही क्षेत्रमा सत्ता गठबन्धनबाट उम्मेदवार बनेकी छन्।
२०५६ सालको निर्वाचनदेखि गुल्मी-२ मा एमालेबाट उम्मेदवार बन्दै आएका विष्टले २०६४ सालको पहिलो संविधान सभा निर्वाचनबाहेक तीनवटै चुनावमा जीत हात पारेका थिए। अनेरास्ववियुको पूर्वअध्यक्ष समेत बनिसकेकी झाक्री एमालेको समानुपातिक सांसद हुँदै संसद छिर्ने मौका पाए पनि संसदीय निर्वाचनमा प्रत्यक्ष उम्मेदवार बनेको पहिलो हो।
उम्मेदवारी दर्ता गर्ने एकदिन पहिलेसम्म एउटै दलमा रहेका सहयात्रीहरू नै निर्वाचनमा आमनेसामने भएपछि लुम्बिनी प्रदेशमा रूपन्देहीको क्षेत्र नम्बर- १ सबभन्दा बढी चर्चामा छ।
२०७४ सालको निर्वाचनमा नेपाली कांग्रेसका अब्दुल रज्जाकलाई पराजित गर्दै निर्वाचित भएका नेकपा एमालेका सचिव छविलाल विश्वकर्मा यसपटक सोही क्षेत्रबाट उम्मेदवार बनेका छन्।
अघिल्लो निर्वाचनमा राप्रपाको समेत समर्थन रहेका रज्जाकलाई सहजै पराजीत गरेका विश्वकर्माले यसपटक मनोनयनको एकदिन पहिलेसम्म सँगै रहेका सहयोद्धा घनश्याम भुसालसँग प्रतिस्पर्धा गर्नुपर्ने छ।
असोज २२ गते मात्र एमाले परित्याग गरेका भुसालले क्षेत्र नम्बर- १ बाट गठबन्धनको सहयोगमा उम्मेदवारी दिएका छन्। भुसालले स्वतन्त्रबाट उम्मेदवारी दिएको दाबी गरे पनि सो क्षेत्रमा गठबन्धनले कुनै पनि उम्मेदवारी दिएको छैन।
भुसालले समेत माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' र नेपाली कांग्रेसका सभापति तथा प्रधानमन्त्री शेरबहादुर देउवाको सल्लाहपछि उम्मेदवारी दिएको स्वीकार गरेका छन्।
पार्टीभित्र शालीन तथा सरल नेताको पहिचान बनाएका विश्वकर्मा र वाम राजनीतिमा बौद्धिक नेताका रूपमा चिनिने भुसालबीच कडा प्रतिस्पर्धा हुने देखिएको छ।
भुसालले २०७४ सालको चुनावमा रूपन्देही क्षेत्र नम्बर- ३ बाट राप्रपाका दीपक बोहोरालाई पराजीत गरेका थिए।
आफ्नो मतदान क्षेत्र समेत १ नम्बर क्षेत्रमा रहेकाले यसपटक भने उनले क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिने चाहना व्यक्त गरेका थिए। तर एमालेले विश्वकर्मालाई नै अगाडि सारेपछि अन्तिम समयमा पार्टीबाटै राजीनामा दिएर विश्वकर्मासँगै प्रतिस्पर्धामा उत्रिएका हुन्।
रूपन्देही क्षेत्र नम्बर २ मा पनि एमालेबाट विष्णु पौडेल र सत्ता गठबन्धनबाट एकीकृत समाजवादीका राजु गुरूङबीच प्रतिस्पर्धा हुँदैछ।
यसअघि एमालेमै रहेर राष्ट्रिय युवासंघको केन्द्रीय उपाध्यक्ष समेत रहेका गुरूङ र एमालेका उपाध्यक्ष, पूर्व उपप्रधान तथा अर्थमन्त्री समेत रहेका पौडेलका बीचको प्रतिस्पर्धालाई भने हल्का रूपमा लिइएको छ।
राष्ट्रिय राजनीतिमा पौडेलले बनाएको उचाइ र यो क्षेत्रमा विकास निर्माणमा गरेको अगुवाइका कारण पौडेलसँग गुरूङको प्रतिस्पर्धालाई गठबन्धन भित्रैबाट कमजोर मानिएको छ।
२०५६ सालको संसदीय चुनावमा पहिलो पटक नेपाली कांग्रेसका सूर्यप्रसाद प्रधानलाई पराजीत गरेका पौडेल त्यसयता पनि तीनवटा निर्वाचनमा यही क्षेत्रबाट लगातार विजयी बन्दै आएका छन्।
रूपन्देहीमा भएका अधिकांश विकास निर्माणका आयोजनामा अगुवाइ गरेका पौडेलले एमालेभित्र मात्र नभई फरक दलहरूभित्र पनि समन्वयकारी नेताका रूपमा आफ्नो पहिचान स्थापित गरेका छन्।
उता एमालेमा रहँदा पटकपटक कारबाहीमा परेका गुरूङ भने विभिन्न ठेक्कापट्टा र गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको क्रममा समेत निर्भीक खनालसँगै विवादित बनेका थिए।
यस्तै यसअघि एउटै दलका सहयात्रीहरू आगामी निर्वाचनमा मुख्य प्रतिस्पर्धी रहेको लुम्बिनीको अर्को क्षेत्र दाङको क्षेत्र नम्बर- १ पनि हो।
सो क्षेत्रमा नेकपा एमालेकी शान्ता चौधरी र एकीकृत समाजवादीका नेता मेटमणि चौधरीका बीचमा प्रतिस्पर्धा हुँदैछ। पार्टी विभाजन अघिसम्म एउटै पार्टीका सहयात्री रहेका उनीहरूबीचको निर्वाचन निकै रोचक मानिएको छ।
२०७४ सालको निर्वाचनमा मेटमणिलाई जिताउन कस्सिएकी शान्ता अहिले उनकै प्रतिस्पर्धी बनेर उभिएकी छन्।
कम्लहरी मुक्ति आन्दोलनबाट राजनीतिमा उदाएकी शान्ता २०६४ र २०७४ सालमा समानुपातिक सांसद भइसके पनि प्रत्यक्ष उम्मेदवारी पहिलो पटक हो।
हाल सहरी विकास मन्त्री समेत रहेका मेटमणिका लागि भने प्रत्यक्ष उम्मेदवारी नयाँ होइन।
दुई वर्षअघिसम्म एकअर्काले नेता मानेकाहरूसँगको प्रतिस्पर्धा कस्तो रहन्छ, त्यसको नतिजा हेर्न मंसिर ४ पर्खिनुपर्ने हुन्छ। तर एउटै विचार र सिद्धान्त अँगालेर राजनीतिमा होमिएकाहरूबीचको प्रतिस्पर्धालाई भने निकै रोचक रूपमा हेरिएको छ।