उम्मेदवारी मनोनयनदेखि नै विवाद सुरू भएको रूपन्देहीको क्षेत्र नं ५ मा अन्तत: नेकपा एमालेबाट बासुदेव घिमिरेको उम्मेदवारी कायम भएको छ।
उक्त निर्वाचन क्षेत्रमा प्रतिनिधिसभा सदस्यका लागि नेकपा एमालेबाट घिमिरे र खिमलाल भट्टराईको उम्मेदवारी परेको थियो।
शनिबार अपरान्ह नेकपा एमालेले तिलोत्तमा नगरपालिकाका पूर्व नगरप्रमुख रहेका घिमिरेलाई टिकट दिएकोमा आइतबार दिउँसो उनको टिकट खोसेर खिमलाल भट्टराईलाई दिएको थियो।
शनिबार पार्टीको आधिकारिक पत्र बुझेका घिमिरेले आइतबार अपरान्ह साढे ३ बजे मनोनयन दर्ता गरेपछि अपरान्ह पौने ५ बजे एमाले पोलिटब्युरो सदस्य समेत रहेका खिमलाल भट्टराईले अर्को पत्र पेस गर्दै आफ्नो उम्मेदवारी दर्ता गराएका थिए।
निर्वाचन अधिकृत चिन्तामणि शर्माले प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचन निर्देशिका २०७८ को दफा १९ को उपदफा ९ अनुसार घिमिरेको उम्मेदवारी कायम गरिएको बताए।
उक्त निर्देशिकामा कुनै एक दलले एकभन्दा बढी व्यक्तिलाई उम्मेदवार बनाएर पठाए जसले पहिले दर्ता गर्छ उसैलाई आधिकारिकता दिनुपर्ने उल्लेख छ। सोही निर्देशिका अनुसार घिमिरेलाई आधिकारिकता दिइएको बताए।
राष्ट्रियसभा सदस्य समेत रहेका भट्टराईले यसअघि बासुदेव घिमिरेलाई दिएको पत्र भुलबस भन्दै पार्टीको अर्को पत्रसहित दर्ता गराएको भए पनि निर्वाचन आयोगले भट्टराईको दाबीलाई खारेज गरी घिमिरेको उम्मेदवारी कायम गरेको हो।