रूपन्देहीको क्षेत्र नम्बर ५ बाट प्रतिनिधिसभा सदस्यमा एमालेका दुई जनाले उम्मेदवारी दर्ता गरेका छन्।
आइतबार दिउँसो एमालेबाटै बासुदेव घिमिरे र खिमलाल भट्टराईले उम्मेदवारी दर्ता गरेका हुन्।
घिमिरेले पहिला उम्मेदवारी दर्ता गरेका थिए भने काठमाडौंमा रहेका भट्टराईले केही ढिलो गरी मनोनयन दर्ता गरेका छन्।
शनिबार साँझ अबेरमात्र एमालेबाट टिकट पाएका घिमिरेले आइतबार मनोनयन दर्ता गर्नै लाग्दा टिकट खोसिएपछि केहीबेर विवाद समेत सृजना भएको थियो।
आइतबार एमाले कार्यकर्ताको साथमा उम्मेदवारी दर्ता गर्न गएका घिमिरेलाई बीच बाटोमा पुग्दा उम्मेदवारी दर्ता नगर्न पार्टी नेतृत्वले निर्देशन दिए पनि दिउँसो साढे ३ बजे उम्मेदवार दर्ता गराएका थिए।
शनिबार घिमिरेले पाएको टिकट अन्तिम समयमा खिमलाल भट्टराईले लिएर आएपछि दुबै जनाको उम्मेदवारी दर्ता भएको छ।
राष्ट्रिय सभामा एमालेका प्रमुख सचेतक रहेका भट्टराईले राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर उम्मेदवारी दर्ता गरेका हुन्।
निर्वाचन कार्यालय रूपन्देही क्षेत्र नम्बर ५ लाई उम्मेदवारी सच्चाइएको पार्टीको आधिकारिक पत्रसहित उम्मेदवारी दर्ता गराएका छन्।
निर्वाचन अधिकृतको कार्यालयले दुवै उम्मेदवारलाई मनोनयम दर्ता गरेको पत्र दिएको छ।
निर्वाचन अधिकृत चिन्तामणि कुर्मीले अहिले मनोनयन दर्तामात्र भएको र छानबिनपछि उम्मेदवारहरूको अन्तिम सूची प्रकाशित गरिने बताएका छन्।
सत्तारूढ गठबन्धनबाट भने क्षेत्र नं. ५ मा प्रतिनिधिसभा सदस्यमा भरत कुमार शाहले उम्मेदवारी दर्ता गरेका छन्।
प्रदेशसभा सदस्यमा भने गठबन्धनबाट क्षेत्र नं. ५ 'क' मा माओवादीका विनोद पहाडी र नेपाली कांग्रेसका विष्णु पोखरेलले उम्मेदवारी दिएका छन्। 'ख' मा भने नेपाली कांग्रेसकै फकरुद्दिन खानले उम्मेदवारी दिएका छन्।