सत्तारूढ गठबन्धनभित्र लुम्बिनी प्रदेशबाट प्रतिनिधिसभाका लागि सिट बाँडफाँट गर्दा सबभन्दा बढी लाभ नेपाली कांग्रेसले पाएको छ।
बाह्रवटा जिल्ला रहेको लुम्बिनी प्रदेशमा प्रतिनिधिसभाका २६ सिट छन्। तीमध्ये भागबन्डा गर्दा नेपाली कांग्रेसको भागमा १२ सिट परेको छ। २०७४ को निर्वाचनमा लुम्बिनी प्रदेशबाट नेपाली कांग्रेसका पाँच जना निर्वाचित भएका थिए।
२०७४ को निर्वाचनमा छवटा सिट जितेको माओवादी केन्द्रले भने आगामी निर्वाचनका लागि प्रतिनिधिसभाका सातवटा मात्रै सिट पाएको छ। त्यस्तै एमालेबाट अलग हुँदा तीन जना प्रतिनिधिसभा सदस्य सहभागी भएको एकीकृत समाजवादीले पनि चारवटा सिट पाएको छ।
यसअघि प्यूठानबाट निर्वाचित राष्ट्रिय जनमोर्चाले अहिले पनि गठबन्धनबाट प्यूठानमा मात्रै भाग पाएको छ। २६ वटा सिटमध्ये बाँके-२ गठबन्धनले खाली राखेको छ। अघिल्लो निर्वाचनमा बाँके- २ बाट जनता समाजवादीका मोहम्मद इस्तियाक राई निर्वाचित भएका थिए।
नेपाली कांग्रेसले १२ सिट भाग पाउँदा अघिल्लो निर्वाचनमा आफूले जितेका पाँचवटा क्षेत्रसँगै सूर्य चिह्न लिएर जितेका सातवटा क्षेत्र पनि पाएको छ। २०७४ सालमा नेपाली कांग्रेसबाट पश्चिम नवलपरासीको क्षेत्र नम्बर २ बाट देवेन्द्रराज कडेल, रूपन्देही- ४ बाट प्रमोदकुमार यादव, रूपन्देही- ५ बाट भरतकुमार शाह, कपिलवस्तु- ३ बाट अभिषेकप्रताप शाह र बर्दिया- १ बाट सञ्जयकुमार गौतम निर्वाचित भएका थिए।
यी क्षेत्रबाहेक रूपन्देही- ३, कपिलवस्तु- ३, दाङ- ३, बाँके- ३, पश्चिम नवलपरासी- १, गुल्मी- १, पाल्पा- १ र अर्घाखाँचीमा कांग्रेसले थप सिट पाएको छ।
साविक लुम्बिनी अञ्चलबाट मात्रै १० सिट पाएको नेपाली कांग्रेसले साविक राप्ती र भेरी अञ्चलबाट एकएक सिटमा मात्रै उम्मेदवारी दिन पाउने सहमति भएको छ।
माओवादी केन्द्रले भने अघिल्लो निर्वाचनमा जितेको छ सिटबाहेक रूपन्देही- १ मात्रै थप पाएको छ। माओवादी केन्द्रबाट २०७४ को निर्वाचनमा कपिलवस्तु- १ बाट चक्रपाणि खनाल, रोल्पाबाट वर्षमान पुन, रूकुम पूर्वबाट कमला रोका, दाङ- २ बाट कृष्णबहादुर महरा, बाँके- १ बाट महेश्वरजंग गहतराज र बर्दिया- २ बाट सन्तकुमार थारू निर्वाचित भएका थिए।
त्यस्तै एकीकृत समाजवादीले भने एमालेमा हुँदा निर्वाचित भएका पाल्पा- २ र दाङ- १ मा यसपटक पनि आफ्नै उम्मेदवार पाउने भएको छ भने दाङ- ३ नेपाली कांग्रेसलाई छाडिदिएको छ। यसअघिको निर्वाचनमा पाल्पा- २ बाट सोमप्रसाद पाण्डे, दाङ- १ बाट मेटमणि चौधरी र दाङ- ३ बाट हिराचन्द्र केसी निर्वाचित भएका थिए।
यसअघि समानुपातिकबाट सांसद बनेकी रामकुमार झाक्री यसपटक गुल्मी- २ मा गोकर्ण विष्टसँग प्रतिष्पर्धा गर्ने छिन् भने रूपन्देही- २ मा राजु गुरूङले टिकट पाएका छन्।
एक मात्र सांसद रहेको राष्ट्रिय जनमोर्चाले आगामी निर्वाचनमा प्यूठानबाट दुर्गा पौडेललाई गठबन्धनको उम्मेदवार बनाउने भएको छ।
सत्तारूढ गठबन्धनविरूद्ध राप्रपा र जनता समाजवादीसँग तालमेल गरेको नेकपा एमालेले लुम्बिनीका २१ सिट आफ्नो भागमा राखेर ५ वटा सिट मात्रै तालमेलका लागि छुट्याएको छ।
२०७४ को निर्वाचनमा लुम्बिनी प्रदेशबाट सूर्य चुनाव चिह्न लिएका १३ जना निर्वाचित भएका थिए। तीमध्ये तीन जना एकीकृत समाजवादीमा गए भने कपिलवस्तु- २ बाट निर्वाचित वृजेशकुमार गुप्ता केही समयअघि एमालेमा प्रवेश गरेका छन्। त्यस्तै पश्चिम नवलपरासी- १ बाट हृदयेश त्रिपाठीले पनि अघिल्लो निर्वाचनमा सूर्य चिह्न लिएर निर्वाचन जितेका थिए।
एमालेले यसअघि सूर्य चिह्नबाट निर्वाचन जितेका दुईवटा क्षेत्र तालमेलका लागि भन्दै खाली राखेको छ। यसअघि घनश्याम भुसालले जितेको रूपन्देही- ३ मा एमालेले राप्रपाका दिपक बोहोरालाई सिट खाली गरिदिएको छ। अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसको समर्थनमा सोही क्षेत्रबाट उम्मेदवार बनेका बोहोरालाई भुसालले पराजित गरेका थिए।
त्यस्तै सूर्य चिह्न लिएर चुनाव जितेका हृदयेश त्रिपाठीको क्षेत्र पश्चिम नवलपरासी- १ पनि एमालेले तालमेलका लागि खाली राखेको छ।
यसअघि नेपाली कांग्रेसले जितेका रूपन्देही- ४ र ५ तथा जनता समाजवादीले जितेको बाँके- २ पनि एमालेले तालमेलका लागि भन्दै खाली गरेको छ।