प्रतिनिधसभाका पाँच र प्रदेशसभाका आठवटा सिट अन्य दलहरूलाई खाली राख्दै नेकपा एमालेले लुम्बिनी प्रदेशमा उम्मेदवारको टुंगो लगाएको छ।
प्रतिनिधिसभातर्फ रूपन्देहीका तीन, बाँकेको एक र पश्चिम नवलपरासीको एक गरी पाँचवटा क्षेत्र खाली राख्दै २१ वटा सिटमा उम्मेदवारको टुंगो लगाएको हो।
शुक्रबार मात्रै एमालेसँग तालमेल गर्न पुगेको जनता समाजवादी पार्टी (जसपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) सँग तालमेल हुने क्षेत्र छुट्याएर बाँकी २१ वटा निर्वाचन क्षेत्रमा उम्मेदवार टुंगो लगाएको एमालेले जनाएको छ।
तीमध्ये रूपन्देहीको क्षेत्र नम्बर १ मा छविलाल विश्वकर्मालाई उम्मेदवार बनाएको एमालेले प्रदेशसभातर्फ क्षेत्र नम्बर १ (क) तालमेलका लागि छुट्याएको छ भने (ख) बाट दधिराम न्यौपानेले टिकट पाएका छन्। यसअघि पनि सोहि क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित न्यौपाने नेकपा विभाजनपछि माओवादी छाडेर एमाले रोज्दा प्रदेशसभा सदस्यबाट पदमुक्त भएका थिए। विश्वकर्मा पनि सोही क्षेत्रबाट यसअघि पनि प्रतिनिधिसभामा निर्वाचित थिए।
रूपन्देहीको क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभामा पार्टीका उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेल उम्मेदवार बन्ने भएका छन् भने प्रदेशसभातर्फ (क) मा लिला गिरि र (ख) मा भोजप्रसाद श्रेष्ठले टिकट पाएका छन्। उनीहरू तीनै जना २०७४ सालको निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भई मन्त्रीसमेत भएका थिए।
यसअघि घनश्याम भुसाल निर्वाचित भएको क्षेत्र नम्बर ३ भने यसपटक एमालेले राप्रपालाई छाडिदिएको छ। अघिल्लो निर्वाचनमा नेपाली कांग्रेसको समर्थनमा उम्मेदवार बनेका राप्रपाका दिपक बोहोरालाई एमालेले समर्थन गर्दा भुसालले भने टिकट पाएनन्।
प्रदेशसभातर्फ पनि क्षेत्र नम्बर ३ को (क) तालमेलका लागि छुट्याइएको छ भने (ख) मा तुलसीप्रसाद चौधरीले टिकट पाएका छन्। चौधरी यसअघि पनि प्रदेशसभा सदस्य थिए।
क्षेत्र नम्बर ४ पनि तालमेलका लागि खाली राखेको एमालेले प्रदेशसभातर्फ (क) मा हजरत अलीलाई उम्मेदवार बनाएको छ भने (ख) पनि तालमेलका लागि खाली राखेकोे छ। एमालेले क्षेत्र ५ पनि सहमतिका लागि भन्दै खाली राख्दा टिकट पाउने अपेक्षा गरिएका खिमलाल भट्टराईको टिकट अनिश्चित बनेको छ। अनेरास्ववियूका पूर्वअध्यक्ष समेत रहेका भट्टराई हाल राष्ट्रियसभा सदस्य छन्।
राष्ट्रियसभा सदस्यबाट राजीनामा दिएर प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बन्न तयारी गरिरहेका भट्टराईलाई राष्ट्रियसभाको कार्यकाल डेढ वर्ष बाँकि रहेको भन्दै पार्टीले टिकट नदिएको बताइएको छ। प्रदेशसभातर्फ पनि क्षेत्र ५ (क) मा भूमिश्वर ढकाललाई उम्मेदवार बनाएको एमालेले (ख) मा तालमेलका लागि सिट खाली छाडेको छ। ढकाल लुम्बिनी प्रदेशसभामा यसअघि एमालेका प्रमुख सचेतक थिए।
उता कपिलवस्तु क्षेत्र १ मा प्रतिनिधिसभामा बलराम अधिकारीलाई टिकट दिएको एमालेले प्रदेशसभातर्फ (क) मा विष्णु पन्थीलाई उम्मेदवार बनाएको छ भने (ख) तालमेलका लागि छुट्याइएको छ। पन्थी पनि यसअघि लुम्बिनी प्रदेशसभा सदस्य थिए।
केही महिनाअघि मात्रै एमाले प्रवेश गरेका बृजेशकुमार गुप्ता कपिलवस्तु २ बाट उम्मेदवार बनेका छन्। गुप्ता यसअघि पनि सूर्य चिह्न लिएर सोही क्षेत्रबाट निर्वाचित भएका थिए। प्रदेशसभातर्फ (क) मा नवराज लामिछाने र (ख) मा धर्मबहादुर लाल श्रीवास्तवले टिकट पाएका छन्। श्रीवास्तव पनि सोही क्षेत्रबाट यसअघि लुम्बिनी प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए।
त्यस्तै कपिलवस्तु क्षेत्र ३ मा मंगलप्रसाद गुप्ताले टिकट पाएका छन् भने प्रदेशसभातर्फ (क) मा अर्जुनकुमार रेग्मीले टिकट पाउँदा (ख) भने तालमेलका लागि खाली राखिएको छ।
उता तीनवटा निर्वाचन क्षेत्र रहेको दाङमा दुई जना महिलाले प्रतिनिधिसभामा टिकट पाएका छन्। क्षेत्र १ मा शान्ता चौधरी र क्षेत्र ३ मा कोमल वलीले टिकट पाएका छन्। त्यस्तै क्षेत्र २ मा एमालेका महासचिव शंकर पोखरेलले टिकट पाएका छन्। यसअघि प्रदेशसभा सदस्य जितेर लुम्बिनी प्रदेशको पहिलो मुख्यमन्त्री बनेका पोखरेलले अहिले प्रतिनिधिसभा सदस्यमा टिकट पाएका छन्।
प्रदेशसभातर्फ क्षेत्र १ (क) मा गंगाराम भट्टराई र (ख) मा कुलप्रसाद पोखरेलले टिकट पाएका छन्। पोखरेल यसअघि पनि प्रदेशसभा सदस्य निर्वाचित भएका थिए। प्रदेशसभातर्फ क्षेत्र २ (क) मा बलिभद्र राना र (ख) मा गिरिराज केसीले टिकट पाएका छन्। त्यस्तै क्षेत्र ३ (क) मा घनश्याम पाण्डे र (ख) हुकुमबहादुर बस्नेतले टिकट पाएका छन्।
बाँके १ मा प्रतिनिधिसभामा सूर्यप्रसाद ढकालले टिकट पाएका छन् भने प्रदेशतर्फ (क) क्षेत्र तालमेलका लागि खाली राखी (ख) मा दुर्गाप्रसाद चौधरीलाई टिकट दिइएको छ।
बाँकेको क्षेत्र २ पनि एमालेले तालमेलका लागि छुट्याएको छ। उक्त क्षेत्रमा राप्रपाले धवलशमशेर राणा वा जसपाले मोह्मद इस्तियाक राईमध्ये एक जनालाई उम्मेदवार बनाउने छन्। प्रदेशसभातर्फ भने (क) मा विजय यादव र (ख) मा निरजबहादुर गुरूङ दुवै एमालेका उम्मेदवारले टिकट पाएका छन्।
क्षेत्र ३ मा भने प्रतिनिधिसभा र प्रदेशसभा तीनवटै सिट एमालेको भागमा परेको छ। प्रतिनिधिसभामा किस्मतकुमार कक्षपतिले टिकट पाउँदा प्रदेशतर्फ (क) मा रत्नबहादुर खत्री र (ख) मा भीमबहादुर वलीले टिकट पाएका छन्।
उता बर्दियामा पनि क्षेत्र १ मा लक्ष्मणराज ज्ञवालीले टिकट पाएका छन्। प्रदेशसभातर्फ (क) मा शालिकराम अधिकारी र (ख) मा भक्तबहादुर विकले टिकट पाएका छन्।
क्षेत्र २ मा प्रतिनिधिसभामा पंकजसिंह राठोर तथा प्रदेशसभातर्फ (क) मा लहनु चौधरी र (ख) मा कृष्णी थारूले टिकट पाएका छन्। थारू यसअघि लुम्बिनी प्रदेशसभामा उपसभामुख थिइन्।
उपमहासचिव प्रदीपकुमार ज्ञवाली उम्मेदवार बन्ने गुल्मी १ को प्रदेशसभातर्फ (क) मा चिन्तामणि पाण्डे र (ख) मा ठर्सूराम पाण्डेले टिकट पाएका छन्। सचिव गोकर्णराज बिष्ट प्रतिनिधिसभामा उम्मेदवार बन्ने क्षेत्र २ मा प्रदेशसभातर्फ (क) मा डिल्लीराज भुसाल र (ख) मा दिनेश पन्थीले टिकट पाएका छन्। पन्थी नेकपा माओवादी त्यागेर एमाले प्रवेश गरेपछि प्रदेशसभा सदस्यबाट कारबाहीमा परेका थिए। ज्ञवाली र बिष्ट पनि यसअघि तिनै क्षेत्रबाट निर्वाचित भएका थिए।
माओवादी केन्द्र छाडेर एमाले सचिव बनेका टोपबहादुर रायमाझी अर्घाखाँचीबाट उम्मेदवार बन्ने छन्। प्रदेशसभातर्फ (क) मा चेतनारायण आचार्य र (ख) बाट रामजीप्रसाद घिमिरेले टिकट पाएका छन्। यी तीनै जना यसअघि पनि तीनै क्षेत्रबाट निर्वाचित भएका थिए। आचार्य शंकर पोखरेल नेतृत्वको लुम्बिनी प्रदेश सरकारमा मन्त्रीसमेत बनेका थिए।
त्यस्तै पाल्पाका दुईवटै निर्वाचन क्षेत्रमा नयाँ अनुहारले टिकट पाएका छन्। लामो समयदेखि दलबहादुर रानाले जित्दै आएको क्षेत्र १ मा नारायणप्रसाद आचार्यले टिकट पाएका छन् भने प्रदेशसभातर्फ (क) मा राजुप्रसाद श्रेष्ठ र (ख) मा खिमबहादुर सारूले टिकट पाएका छन्।
वर्षौंदेखि सोमप्रसाद पाण्डेले एकलौटी टिकट पाउँदै आएको क्षेत्र २ मा युवा नेता ठाकुर गैरेले पहिलोपटक टिकट पाएका छन्। पाण्डे एकीकृत समाजवादीमा गएपछि गैरेका लागि उक्त क्षेत्र खुल्ला भएको हो। प्रदेशसभातर्फ (क) मा पर्शुराम भट्टराई र (ख) मा ओमबहादुर घर्ती उम्मेदवार बन्नेछन्।
पश्चिम नवलपरासी १ तालमेलका लागि छुट्याएको एमालेले प्रदेशसभातर्फ (क) मा पुण्यप्रसाद पौडेल र (ख) मा दीपकराज शर्मालाई टिकट दिने भएको छ। क्षेत्र २ मा प्रतिनिधिसभामा दीपेन्द्रकुमार अधिकारीले टिकट पाउँदा प्रदेशसभातर्फ (क) मा मणिप्रसाद गैरे र (ख) मा तालमेलका लागि खाली राखिएको छ। यसअघि २ (ख) बाट प्रदेशसभा सदस्यमा निर्वाचित भई शंकर पोखरेल नेतृत्वको सरकारको प्रवक्तासमेत रहेका वैजनाथ चौधरीले भने अहिले टिकट पाउन सकेनन्।
एउटा मात्र निर्वाचन क्षेत्र रहेको प्यूठानमा एमालेले प्रतिनिधिसभा सदस्यका लागि सूर्यबहादुर थापालाई टिकट दिएको छ। प्रदेशसभातर्फ (क) मा तुलसीराम शर्मा र (ख) मा हरिप्रसाद रिजालले टिकट पाएका छन्। रिजाल पनि यसअघि लुम्बिनी प्रदेशसभा सदस्य थिए।
त्यस्तै रोल्पामा प्रतिनिधिसभा सदस्यका लागि पूर्णबहादुर बुढामगरले टिकट पाएका छन् भने प्रदेशसभातर्फ (क) मा कमल बुढाथोकी र (ख) मा प्रेमबहादुर घर्तीमगरले टिकट पाएका छन्।
एउटा निर्वाचन क्षेत्र रहेको रूकुम पूर्वमा भने एमालेले उम्मेदवारको टुंगो लगाएको छैन।