नेकपा एमाले र जनता समाजवादी पार्टी (जसपा) बीच बिहीबार राति नै हस्ताक्षर गर्ने गरी चुनावी तालमेलसम्बन्धी सहमतिपत्र तयार भइरहेको छ।
एमाले सचिव रघुवीर महासेठको भैंसेपाटस्थित घरमा सहमतिको मस्यौदा तयार भइरहेको जसपा स्रोतले जानकारी दियो।
जसपालाई मधेसका १६ सहित २५ स्थान दिने गरी एमालेले सहमति गर्न लागेको जसपाका एक नेताले सेतोपाटीलाई बताएको छ। बालकोटबाट एमाले अध्यक्ष केपी शर्मा ओली भैंसेपाटी पुगेलगत्तै सहमति हुने ती नेताले बताए।
'मधेसमा हामीले ३२ मध्ये १६ सिट पाउँछौं। धनकुटा, मोरङ, सुनसरी, कपिलवस्तु, बाँके र नवलपरासीमा एक/एक क्षेत्र पाउछौं,' ती नेताले भने, 'काठमाडौं क्षेत्र नम्बर ७ दिन पनि एमाले तयार भएको छ। अरू २ क्षेत्र कतै थपिन सक्छ।’
उनका अनुसार केही स्थानमा मित्रवत प्रतिस्पर्धा गर्ने गरी सहमति हुन लागेको हो।
एमाले स्रोतले पनि बिहीबार राति अबेरसम्म भए पनि दुई दलबीच सहमति हुने पुष्टि गरे।
‘आजको रात भएन भने नहुन पनि सक्छ, त्यसैले जसरी भए पनि आजै सहमति गर्ने तयारी छ,’ एमालेका एक नेताले भने, ‘धेरै विषयमा मिलिसकेको छ। अब केही प्राविधिक विषय मिलाउन मात्रै बाँकी हो।’
संघीय संसदकै अनुपातमा प्रदेश सभामा पनि सिटहरू आफूहरूको भागमा पर्ने जसपाको दाबी छ।
यसबीच जसपा अध्यक्ष उपेन्द्र यादव बालुवाटारमा जारी सत्ता गठबन्धन बैठकबाट बाहिरिएपछि शुक्रबारसम्मका लागि उक्त बैठक स्थगित भएको छ।
प्रधानमन्त्री निवास बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले जसपाको निर्णयअनुसार अघि बढ्ने निष्कर्ष निकालेको स्रोतले बतायो। बिहीबारको बैठकमा जसपा अध्यक्ष यादव दोस्रो तहका नेताहरू बालुवाटार पठाएर आफू भने एमालेको बैठकमा सहभागी भएका थिए।
बुधबार सेतोपाटीसँग कुराकानी गर्दै यादवले गठबन्धनमा तानातान भएकाले तालमेलका लागि अरू पार्टीसँग खुला रहेको बताएका थिए।
गठबन्धनले जसपा सहभागी भए जसपासहित, उसले एमालेसँग सहमति गरे चार दलको मात्र बैठक गर्ने तयारी गरेको छ। नेकपा माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले शुक्रबार बिहान ८ बजे गठबन्धनको बैठक बस्ने बताए।
यी पनि पढ्नुहोस्ः