प्रदेश सभाको कार्यकाल सकिए पनि विभिन्न पदाधिकारीको नाममा प्रदेश सभाबाट सुविधा लिएका गाडी फिर्ता नगरेको भन्दै आलोचना हुन थालेपछि लुम्बिनी प्रदेशका निवर्तमान सांसदहरूले गाडी फिर्ता गर्न थालेका छन्।
प्रदेशसभा सचिवालयले प्रदेशसभा अन्तर्गत गठन गरिएका विषयगत समितिका सभापति, दलका नेता तथा प्रमुख सचेतकहरूलाई सुविधास्वरूप गाडी उपलब्ध गराएको थियो।
तर गत असोज १ गते रातिदेखि प्रदेशसभा सदस्यहरूको पदावधि सकिए पनि पदीय सुविधास्वरूप उपलब्ध गराएका गाडी फिर्ता गर्न आलटाल गर्दै आएका थिए।
मंगलबार प्रदेश सभामा नेकपा एमालेका प्रमुख सचेतक रहेका भूमिश्वर ढकाल र प्रदेश लेखा समितिका सभापति विष्णु पन्थीले प्रयोग गर्दै आएका लु १ झ ४४७ नम्बर र लु १ झ ४४२ नम्बरका गाडी फिर्ता गरेका छन्।
ढकालले प्रदेशसभाको कार्यकाल समाप्त हुँदा आफू बुटवलबाहिर रहेकोले गाडी फिर्ता गर्न केही ढिलो भएको बताए।
उनले एमालेबाट विभिन्न समितिका सभापतिको हैसियतले सुविधा लिएका पदाधिकारीहरूलाई पनि गाडी फिर्ता गर्न आग्रह गरे।
प्रदेश सभाको ५ वर्षे कार्यकाल आगामी माघ २१ गतेमात्रै पूरा हुने भए पनि ४ वर्ष सात महिनामै प्रदेश सभाको पहिलो कार्यकाल सकिएको छ।
आगामी मंसिर ४ गते प्रदेश र प्रतिनिधि सभाको निर्वाचन हुँदैछ। संविधानमा निर्वाचनको लागि उम्मेदवारको मनोनयन दर्ता भएसँगै प्रतिनिधिसभा र प्रदेशसभा स्वतः समाप्त हुने भनिएकोले प्रदेश सभाको कार्यकाल पनि ५ वर्ष पूरा नहुँदै समाप्त भएको हो।
प्रदेशसभा सचिवालयले भने प्रदेश सभाको कार्यकाल कहिलेसम्म रहने भन्नेमा अन्योल रहेकोले पदाधिकारीहरूलाई गाडी फिर्ता नमागिएको बताएको छ।
प्रदेशसभा सचिवालयका सचिव दुर्लभकुमार पुनले प्रदेश सभाको कार्यकाल कहिलेसम्म हुन्छ भन्ने कुरामै अन्योल रहेको बताए।
उनले प्रदेश सभाले यसबारेमा कुनै जानकारी नगराएकोले सचिवालयमार्फत् सुविधा लिएका गाडीहरू फिर्ता नमागिएको बताए।
उनले सचिवालयले प्रदेश सभाका सदस्यहरूलाई बिदाई समेत नगरिएको बताए।
‘सचिवालयले अझै माननीयहरूलाई बिदाई गरेको पनि छैन, तर आफैंले बुझाउन ल्याउने गाडीहरू भने सचिवालयले बुझेर राख्ने गरेको छ,’ उनले भने।
सचिव पुनका अनुसार एमालेका ढकाल र पन्थी सँगै नेपाली कांग्रेसका वीरेन्द्र कनौडियाले पनि गाडी फिर्ता गरेका छन्।
कनौडियाले प्रदेश सभामा नेपाली कांग्रेसको संसदीय दलको नेताको रूपमा सचिवालयमार्फत् गाडी सुविधा लिएका थिए।
एमालेका ढकालले प्रदेशसभा सचिवालयले अहिले गाडी नबुझाउन आग्रह गरेको भए पनि निर्वाचन आयोगले जारी गरेको पत्र अनुसार प्रदेश सभाको कार्यकाल समाप्त भएकोले सुविधाको गाडी फिर्ता गरिएको बताए।
‘प्रदेश सभाको कार्यकाल नै समाप्त भएपछि प्रदेश सभामार्फत् उपलब्ध सुविधाको गाडी चढ्नु नैतिकताले नदिने कुरा हो, एमालेको तर्फबाट विभिन्न समितिमा रहेका सभापतिहरूलाई पनि गाडी बुझाउन पार्टीले निर्देशन दिएको छ,’ ढकालले भने।
ढकालले प्रदेशसभा समाप्त भएपछि पनि सुविधाको गाडी चढ्नु नैतिकताले नदिने भने पनि एमालेबाट विभिन्न समितिमा रहेका कतिपयले अझै गाडी फिर्ता गरेका छैनन्।
एमालेका जाल्पा भुसाल, बाबुराम गौतम र ढाँटी सुनारले गाडी फिर्ता गरेका छैनन्।
भुसाल कृषि वन तथा वातावरण समितिको सभापति थिइन् भने गौतम सामाजिक विकास समिति र सुनार भौतिक पूर्वाधार समितिको सभापतिको हैसियतले गाडी सुविधा पाएका थिए।
त्यस्तै, नेपाली कांग्रेसका फकरुद्धिन खान, माओवादीका तुलाराम घर्तीमगर, दामाकुमारी शर्मा र राष्ट्रिय जनमोर्चाकी तारा जिसीले पनि सचिवालयबाट लिएको सुविधाको गाडी फिर्ता गरेका छैनन्।
नेपाली कांग्रेसको प्रमुख सचेतकको रूपमा खानले र घर्तीमगरले माओवादी केन्द्रको प्रमुख सचेतकको रूपमा गाडी सुविधा लिएका थिए।
त्यस्तै, शर्माले प्रदेश मामिला तथा कानून समितिका सभापति र जिसीले अर्थ उद्योग तथा पर्यटन समितिको सभापतिको रूपमा प्रदेशसभा सचिवालयबाट गाडी सुविधा लिएका थिए।