निर्वाचनको सम्मुखमा जनता समाजवादी पार्टी (जसपा) बाट प्रतिनिधि सभा र प्रदेश सभाका गरी पाँच निवर्तमान सांसदले पार्टी छोडेका छन्।
२०७४ मा जसपाबाट समानुपातिकतर्फ प्रतिनिधि सभामा सांसद भएका तीन र प्रदेश सभामा सांसद रहेका दुई जनाले एक साताको अवधिमा पार्टी छोडेका छन्। दल त्याग गरेका उनीहरुले जसपाले अवसरबाट बञ्चित गराएको देखि मधेसको मुद्दा बेचेर अवसरवादको राजनीतिक गरेको आरोप लगाएका छन्।
जसपा त्याग्नेहरुमा केन्द्रीय कार्यकारिणी समिति सदस्य अमृता अग्रहरि, केन्द्रीय सदस्यद्वय रेणुका गुरुङ र रुही नाज छन्। उनीहरुमध्ये अग्रहरि र रुही नाज नेकपा एमाले प्रवेश गरेका छन्। कपिलवस्तुकी अग्रहरिलाई एमालेका अध्यक्ष केपी शर्मा ओलीले बालकोटस्थित निवासबाट पार्टीमा स्वागत गरेका थिए भने नाज धनुषामा आयोजित कार्यक्रमबाट एमालेमा गएकी थिइन्।
जसपा त्याग्नेको सूचीमा केन्द्रीय सदस्य तथा प्रदेश सभा सदस्य रहेकी रिना यादव पनि छिन्। यस्तै प्रदेशसभा सदस्य तथा केन्द्रीय सदस्य अन्जु यादव पनि भदौ २७ मा धनुषामा आयोजित कार्यक्रमबाट एमालेमा गएकी थिइन्। उनीहरु दुवै प्रदेश सभामा समानुपातिक सांसद थिए।
उनीहरुले जसपालाई नै अवसरवादी पार्टीको आरोप लगाएका छन्। आइतबार एमाले प्रवेश गरेकी अमृता अग्रहरिले जसपाको अवसरवादी चरित्रका कारण आफूले पार्टी त्याग गरेको बताइन्। जसपाले मधेसको मुद्दा बेचेको उनको आरोप थियो।
‘गजेन्द्रनारायण सिंहपछि मधेसको मुद्दा बोक्ने सच्चा नेता कोही पनि भएन। जो-जो आए मधेसको मुद्दा बेचेर अवसर मात्रै लिए,’ उनले भनिन्।
आफू मधेसको मात्रै नभएर समग्र राष्ट्रको हितका लागि काम गर्न एमालेमा आएको उनको भनाइ छ। ‘राष्ट्र उन्नत भयो भने मधेस पनि उन्नत हुन्छ। अब मधेसको मात्रै होयन समग्र राष्ट्रको उन्नतीको वकालत गर्ने एमाले अध्यक्ष केपी ओलीबाट प्रभावित भएर म एमालेमा आएँ,’ उनले भनिन्।
अग्रहरिले २०४६ सालदेखि नेपाल सद्धभावना पार्टीबाट राजनीति सुरु गरेकी थिइन्। एमाले प्रवेश गरेकी नाजले संविधानले नै विचारको स्वतन्त्रता दिएकाले विगतको राजनीतिक विचार त्याग्दै एमालेमा गएको बताइन्।
‘विचारको स्वतन्त्रता संविधानले नै दिएको छ। म कुनै अवसरको लागि एमालेमा आएको होइन, म एमालेको विचार मन परेर आएको हुँ,’ उनले भनिन्।
नाजले २०६३ सालदेखि मधेसी जनअधिकार फोरमबाट राजनीति सुरु गरेकी थिइन्।
यस्तै जसपा छोडेर राप्रपा प्रवेश गरेकी गुरुङले वैचारिक मतभिन्नताका कारण पार्टी परित्याग गर्नुपरेको बताइन्।
‘नागरिकता र भूगोलको विषयमा कुरा गर्दा मलाई राष्ट्रवाद चर्को कुरा गर्ने भनेर बोल्न पनि दिइँदैनथ्यो। राष्ट्रवादका सवालमा मैले सदनमा राखेका विचारका कारण संसदीय दलमा गाली खानुपर्थ्यो। विचार नमिलेका कारण मैले दल त्याग गरेँ,’ उनले भनिन्।
समावेशी समानुपातिक प्रणालीको सैद्धान्तिक रुपमा वकालत गर्ने पार्टीले मन्त्रिपरिषद् विस्तारमा त्यसलाई नजरअन्दाज गरेको भन्दै असन्तुष्टिसमेत व्यक्त गरेकी छिन्।
‘समावेशी समानुपातिक सिद्धान्तको सैद्धान्तिक कुरा गर्ने तर मन्त्रिपरिषद् विस्तारमा पालना नगर्ने काम भयो। मन्त्रिपरिषदमा मधेसबाट बढी प्रतिनिधित्व भयो। जनजातीबाट राजेन्द्र श्रेष्ठलाई पठाइयो। ६ महिना उहाँ हुने ६ महिना हुने भन्ने कुरा थियो। त्यसको पालना भएन,’ उनले भनिन, ‘मधेसबाटै राजनीति गर्नुभएका महिलाहरुले त त्यहाँ भविष्य देख्नुभएन। अमृता अग्रहरिले पनि पार्टी छोड्नुपर्यो भने मेरो त्यहाँ भविष्य हुने कुरै भएन,’ उनले भनिन्।
गुरुङले संघीय समाजवादी पार्टीबाट २०७४ मा राजनीति सुरु गरेकी थिइन्।
जसपाले भने विगतमा पार्टीबाट लाभ लिएकाहरुले फेरि लाभको पद नपाउने भएपछि पार्टीलाई विभिन्न आरोप लगाउँदै दल त्याग गरेको बताएको छ। यसले जसपालाई कुनै फरक नपर्ने नेता रामसहाय यादव बताउँछन्।
‘पार्टीबाट विगतमा अवसर लिएर अहिले फेरि सांसद नहुने स्थिति देखेपछि उहाँहरुले दल त्याग्नुभएको हो। यसले जसपालाई कुनै नोक्सान पुर्याउने छैन। निर्वाचनको संघारमा दल बदल्ने कुरा सामान्य हो। हाम्रो पार्टीमा पनि अन्यत्रबाट केही नेता आउनुभएको छ,’ उनले भने।