प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि आज (सोमबार) दलहरूले समानुपातिक तर्फको बन्दसूची पेस गर्दैछन्। २७५ सदस्य हुने प्रतिनिधिसभामा ११० जना सांसद समानुपातिक निर्वाचन प्रणालीबाट छानिनेछन्।
तर राजनीतिक दलहरूले बुझाउने यस्तो बन्दसूचीबाट अधिकांश महिला छानिने गरेका छन्। प्रत्यक्षतर्फको निर्वाचनमा कमभन्दा कम महिला उम्मेदवार उठाएका कारण दलहरूले महिलाको प्रतिनिधित्व गराउन समानुपातिक तर्फको सूचीलाई प्रयोग गर्ने गरेका छन्।
प्रत्यक्षतर्फ उम्मेदवार नै कम भएकाले जित्ने महिलाको संख्या समेत कम हुने गरेको छ। संविधानले व्यवस्था गरेको ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गर्न समानुपातिक तर्फबाट धेरै महिला चुनिने गरेका छन्।
उदाहरणका लागि २०७४ सालको निर्वाचनमा प्रत्यक्ष तर्फबाट जम्मा ६ जना महिला मात्र विजयी भएका थिए। जबकि १५९ जना पुरूषले निर्वाचन जितेका थिए।
फलस्वरूप महिला सहभागिता सुनिश्चित गर्न समानुपातिकतर्फबाट ८४ महिला निर्वाचित हुँदा २६ जना मात्र पुरूष प्रतिनिधिसभामा निर्वाचित भएका थिए।
दलहरूले आफ्नो पार्टीबाट निर्वाचित हुने महिलाको संख्या समेत ३३ प्रतिशत पुर्याउनुपर्ने कानुनी व्यवस्था छ। जुन उनीहरूले प्रत्यक्ष तर्फको निर्वाचन प्रणालीबाट पूरा गर्ने गरेका छैनन्। त्यसैले धेरै सिट प्रत्यक्षतर्फ जित्ने दलले धेरै महिलालाई समानुपातिक तर्फ पनि निर्वाचित गराउनुपर्ने हुन्छ।
२०७४ सालको निर्वाचनमा नेकपा एमालेबाट ८० सांसद प्रत्यक्ष तर्फबाट निर्वाचित हुँदा ७८ जना पुरूष थिए भने दुई जना मात्र महिला निर्वाचित भएका थिए। फलस्वरूप समानुपातिकमा ४१ सिट पाएको एमालेले ३७ महिला र ४ पुरूषलाई निर्वाचित गराएको थियो।
दोस्रो स्थानमा रहेको नेपाली कांग्रेसले त्यतिबेला २३ सिट प्रत्यक्षमा जितेको थियो। उसका कुनै पनि महिला उम्मेदवार विजयी भएका थिएनन्। कांग्रेसले समानुपातिकतर्फ पाएको ४० सिटमा २० जना महिला छानेको थियो भने २० जना पुरूष छानेको थियो।
कांग्रेसले प्रत्यक्ष तर्फ कम सिट जितेकाले दलभित्र ३३ प्रतिशत महिलाको अनुपात मात्र मिलाउँदा धेरै पुरूषलाई प्रतिनिधिसभामा निर्वाचित गराएको थियो।
त्यसैगरी नेकपा माओवादी केन्द्रले प्रत्यक्षतर्फ ३ महिला र ३३ पुरूष गरी ३६ सिट जितेको थियो। माओवादी केन्द्रले समानुपातिकतर्फ पाएको १७ सिटमा १ जना पुरूष र १६ जना महिलालाई निर्वाचित गराएको थियो।
त्यस्तैगरी राष्ट्रिय जनता पार्टी (राजपा) नेपालले प्रत्यक्षमा ११ सिट र संघीय समाजवादी फोरमले १० सिट जित्दा कुनै पनि महिला निर्वाचित भएनन्। फलस्वरूप राजपाले समानुपातिकमा ६ जना नै महिला निर्वाचित गराएको थियो भने फोरमले ५ महिला र १ पुरूषलाई निर्वाचित गराएको थियो।
समानुपातिकतर्फ अन्य कुनै पनि दलले ३ प्रतिशतको थ्रेसहोल्ड पार गर्न सकेका थिएनन्।
यसरी हेर्ने हो भने यस पटकको निर्वाचनमा दलहरुले ११० जनाको बन्दसूची बुझाए पनि प्रत्यक्षतर्फ कम महिला जितेको अवस्थामा समानुपातिकबाट अधिकांश महिला नै निर्वाचित हुने अवस्था देखिन्छ।