सर्वोच्च अदालतका निलम्बित प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाले आफू आजैबाट अदालत फर्कने बताएका छन्।
सेतोपाटीसँगको टेलिफोन कुराकानीमा राणाले आजै अदालत जाने बताए। 'म आजै ११ बजे अदालत पुग्छु', राणाले सेतोपाटीसँग टेलिफोनमा भने।
राणाविरुद्ध २०७८ फागुन १ गते महाभियोगको प्रस्ताव दर्ता भएको थियो। दर्ता भएसँगै उनी निलम्बनमा परेका थिए।
संविधानको धारा १०१ को उपधारा ६ मा महाभियोग लागेको व्यक्तिले 'त्यस्तो कारबाहीको टुङ्गो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न पाउने छैन' लेखिएको छ। उक्त प्रश्नमा राणाले अहिले त्यता प्रवेश नगर्न आग्रह गरे।
उनीविरुद्ध लागेको महाभियोगबारे प्रतिनिधिय सभाको महाभियोग छानबिन समितिले छानबिन गरेको थियो। साथै समितिको बहुमतले राणाविरुद्ध महाभियोग लाग्ने ठहर गरेको थियो।
तर प्रतिनिधि सभाको कार्यकाल अन्त्य भएर आजबाट नयाँ निर्वाचनको कार्यक्रम सुरु भएको छ। प्रतिनिधि सभाको कार्यकाल शनिबार राती अबेरबाट सकिएको छ।
राणा अदालत फर्कने भएपछि सर्वोच्च अगाडि सुरक्षाकर्मी परिचालन गरिएको छ।
कानून मन्त्रीको प्रश्न- उहाँ कसरी जानुहुन्छ अदालत?
कानून मन्त्री गोविन्दप्रसाद शर्मा कोइरालाले निलम्बित प्रधानन्यायाधीश राणा अदालत जान नमिल्ने बताए। ‘संसदले उहाँलाई निलम्बनमै राख्न हिजोमात्रै सिफारिस गरेको छ,’ उनले भने, ‘संसदले उहाँको निलम्बन फुकुवा भएको पत्र दिएपछि मात्रै उहाँ सर्वोच्च जान पाउनुहुन्छ, निलम्बनमै रहँदा कसरी उहाँ जान पाउनुहुन्छ अदालत?’