संघीय सरकारले ‘६ लेन सडक कार्यालय’ भनेर चिनिने बुटवलको ‘व्यापारिक मार्ग विस्तार आयोजना’ कार्यालय खारेज गरेको छ।
व्यापारिक मार्ग विस्तार आयोजनाका निमित्त प्रमुख इन्जिनियर सविता ज्ञवालीले मन्त्रिपरिषद्को निर्णयबाटै आयोजनाको कार्यालय खारेज गर्ने निर्णय भएको जानकारी दिइन्।
उनका अनुसार बुटवलको ६ लेन सडक निर्माणको सबै काम ‘डिभिजन सडक कार्यालय, बुटवल’ ले हेर्ने गरी मन्त्रिपरिषदले निर्णय गरेको हो।
उनका अनुसार मन्त्रिपरिषदबाट निर्णय भइसके पनि सडक विभागबाट आधिकारिक पत्र आएको छैन।
‘मन्त्रिपरिषद्ले डिभिजन सडक कार्यालय बुटवलले ६ लेन सडक निर्माणको काम सञ्चालन गर्ने निर्णय गरिसकेको हो तर विभागबाट पत्र आइसकेको छैन,’ ज्ञवालीले भनिन्, ‘हामी पत्र पखेर बसेका छौं।’
पत्र आएपछि आयोजनाको सम्पूर्ण विवरण सडक विभागलाई बरबुझारथ गर्ने पनि उनले बताइन्।
बुटवलको ६ लेन सडक विस्तारको काम अघि बढाउन आयोजनासँग प्राविधिक कर्मचारी समेत नभएपछि डिभिजन सडक कार्यालय मातहत लगिएको उनको भनाइ छ।
चैत २१ गते आयोजना प्रमुखमा नियुक्त भएका दीपककुमार झासहित अन्य इन्जिनियर र सब इन्जिनियरहरूको डेढ महिना पहिले नै सरुवा भएको थियो। प्राविधिक कर्मचारीका रूपमा ज्ञवाली मात्र थिइन्।
प्राविधिक कर्मचारी नभएपछि एक महिनाअघि नै सडक अनुगमनको काम रोकिएको थियो।
इन्जिनियर ज्ञवालीले आफ्नो पनि अन्यत्र सरुवा भएको बताइन्।
‘कार्यालय प्रमुख र अरू प्राविधिक कर्मचारीको एक महिनापहिले नै सरुवा भइसकेको छ,’ उनले भनिन्, ‘मेरो पनि सिद्धबाबा सुरुङमार्ग विस्तार आयोजनामा सरुवा भएको छ। बरबुझारथ गरेर रमाना लिन बाँकी छ।’
आयोजनाको जिम्मेवारी पाएको पत्र आउन बाँकी भए पनि डिभिजन सडक कार्यालयका प्राविधिकहरूले आइतबार आयोजनाको अनुगमन थालेका छन्।
डिभिजन सडक कार्यालय, बुटवलका प्रमुख होमबहादुर एसीले मन्त्रिपरिषदबाट आयोजनाको जिम्मेवारी दिने निर्णय भएको सुनेको तर सडक विभागको प्राप्त नभएको बताए।
आयोजना कार्यालयले अनुगमन तथा निर्देशन गर्दासमेत समयमा निर्माण सम्पन्न हुन नसकेको यो सडक आयोजना कार्यालय नै खारेजीमा परेपछि काम झन् ढिला हुने हो कि भन्ने आशंका बुटवलवासीहरूको छ।
निर्माण कम्पनी द कञ्चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सन प्रालि काम गर्ने समयमा सम्पर्कविहीन बन्ने गरेको र म्याद थपाउन केही दिन काम देखाउने गरेको बुटवलवासीको आरोप छ।
बुटवलमा उक्त निर्माण कम्पनीसँगको ठेक्का सम्झौता रद्द गर्नुपर्ने आवाज सघन बन्दै गएको छ। यसै वेला आयोजनाको कार्यालय खारेजीमा परेको छ।
साढे दुई वर्षमा काम सक्ने गरी २०७३ चैत १७ गते ठेक्का सम्झौता भएको थियो। हालसम्ममा सडकको ३० प्रतिशतमात्रै काम भएको छ।
गत साउन १३ गते आयोजनाले द कञ्चनजंघा बिरुवा जेभी कन्स्ट्रक्सन प्रालिले ठेक्का सम्झौता गरेका र अलपत्र रहेका आयोजना अन्तर्गतका तीनवटा ठेक्का सम्झौता किन अन्त्य नगर्ने भन्दै सूचना प्रकाशित गरेको थियो।
उक्त कम्पनीले निर्माणको जिम्मा लिएको बेलहिया–बुटवल व्यापारिक मार्ग विस्तार आयोजना अन्तर्गत भैरहवा अञ्चलपुरदेखि लखनचोकसम्म र भन्सार नाका बेलहीयादेखि डण्डाखोला पुलपारीसम्मको सडक पनि अलपत्र छ।
अञ्चलपुरदेखि लखनचोकसम्मको सडक बिरुवा एपेक्स श्रेष्ठ जेभीसँग र भन्सार नाका बेलहियादेखि डण्डाखोला पुलपारीसम्मको बिरुवा जेभीसँग ठेक्का सम्झौता भएको थियो। कम्पनी फरक भए पनि दुवै ठेक्काका आधिकारिक प्रतिनिधि सुवित श्रेष्ठ रहेका छन्।
चौतर्फी दबाबमा बुटवलको अस्पताल लाइन क्षेत्रमा केही दिन केही दिन काम गरेर ठेकेदार सम्पर्कविहीन भएका छन्। सडक एकतर्फी बनाइएको छ।
सबैभन्दा बढी सवारीसाधनको चाप हुने लुम्बिनी बस टर्मिनलबाट पुष्पलाल पार्कसम्मको करिब पाँच सय मिटर सडक एकतर्फी बनाएर ठेकेदार हिँडेपछि उक्त क्षेत्र अस्तव्यस्त बनेको छ।
सडक पिच गर्ने भनेर एक महिनाअघिदेखि नयाँ बसपार्कबाट पुष्पलाल पार्कसम्म पश्चिमतर्फको सडक बन्द गरिएको छ।
झन्डै ६ महिना सम्पर्कविहीन रहेका निर्माण कम्पनीका प्रतिनिधि ठेक्का अवधि सकिनै लाग्दा गत असार ३० गते सम्पर्कमा आएका थिए।
कम्पनीले केही दिन काम पनि ग¥यो। ठेक्का अवधि सकिनै लाग्दा असार २० गते सार्वजनिक खरिद नियमावलीको बाह्रौँ संशोधनले एक वर्ष ठेक्का थप गर्ने बाटो खालेको थियो।
म्याद थपिने भएपछि फेरि काम ठप्प भएको छ।
सडकमा खाडलमा वर्षाको पानी जमेर सडक झन अस्तव्यस्त बनेको छ।
बिहान ९ बजेदेखि ११ बजेसम्म र साँझ ४ बजेदेखि ६ बजेसम्म राजमार्ग चौराहदेखि ट्राफिक चोक र तिनाउ पुलसम्म नियमित रूपमा सवारी जाम हुने गरेको छ।
भत्किएको र अस्तव्यस्त सडकमा सवारी जामसँगै फितलो ट्राफिक व्यवस्थापन र अव्यवस्थित पार्किङले बुटवलको मुख्य बजार कुरूप बन्दै गएको छ।
निर्माण कम्पनीले व्यापारिक मार्ग विस्तार आयोजनासँग कालोपत्रे गर्न पटकपटक लिखित सम्झौता गरे पनि काम गरेको छैन।
बुटवल उपमहानगरको रोहबरमा डिभिजन सडक कार्यालय र व्यापारिक मार्ग बिस्तार आयोजनासँग भदौ मसान्तभित्र गोलपार्कदेखि राजमार्ग चौराहसम्मकै सडक कालोपत्रे गर्ने लिखित सम्झौता भएको थियो।
यो सम्झौताको म्याद सकिन चार दिन बाँकी छ तर काम सुरु भएको छैन।
२०७३ सालमा निर्माणको ठेक्का सम्झौता गर्दा २०७६ साल असोज १२ गते निर्माण सम्पन्न गर्ने भनिएको थियो। निर्माण कम्पनीले काम नगरी विभिन्न बहानामा म्याद थपाउँदै आएको थियो।
घरधनीहरूको अवरोध र मुद्दाका कारण काम अघि बढ्न नसकेपछि तेस्रो पटक २०७९ असार मसान्तभित्र काम सक्नु पर्ने गरी म्याद थप भएको थियो।
लामो समय सम्पर्कविहीन कम्पनी प्रतिनिधि श्रेष्ठ स्थानीय तहको निर्वाचनपछि मात्रै सम्पर्कमा आई निर्माणको काम अघि बढाएका थिए।
अहिले अस्पताल लाइनको पूर्वतर्फको साढे चार सय मिटरको सडक कालोपत्रे गरिए पनि पश्चिमतर्फको सडकमा खाल्डै खाल्डा छन्।
दुबैतर्फ नाली खनेर तथा खाल्डा पारेर अलपत्र छाडेको सडक वर्षायाममा हिलाम्य छ। सडक घाम लाग्दा धुलाम्य हुने र पानी पर्दा हिलाम्य हुने गरेको छ।
१० वर्षमा ९ जना प्रमुख, सडक पूरा भएन
भारतीय सीमानाका बेलहियाबाट बुटवल चिडियाचौकीसम्म दुई लेनको २७ किलोमिटर सडक ६ लेनको र दायाँबायाँ दुबैतर्फ सवारीसाधन दोहोरो आवतजावत गर्न मिल्ने सर्भिस लेनसमेत निर्माण गर्ने गरी २०६९ सालमा यो आयोजना सुरू भएको थियो।
आयोजनाको पहिलो प्रमुख भएर आएका सुरज सिग्देलसहित हालसम्म ९ जना आयोजना प्रमुख भए।
पाँच वर्षमा निर्माण सम्पन्न गर्ने गरी १० वर्षअघि सुरु गरिएको एउटै आयोजनामा यसरी प्रमुख फेरिए। आयोजनाको काम भने अलपत्र छ।
२०६९ असार २८ गते पहिलो प्रमुख भएर आएका सिग्देल ९ महिनामै सरुवा भए। त्यसपछि वर्ष दिनभन्दा कम समयमै प्रमुख फेरिए।
सबैभन्दा बढी जीवेन्द्र मिश्र २ वर्ष ९ महिना बसे।
२०७३ सालमै ठेक्का सम्झौता गरिए पनि सडक सीमा मिचेर संरचना बनाएका घरधनीहरूको अवरोध र मुद्दामामिलाका कारण काम अघि बढ्न सकेन।
अवरोधका बाबजुद सडक सीमा मिचेर बनाइएका संरचना डोजर लगाएर भत्काइएको थियो।
दुई किलोमिटर दुई सय मिटरको सडकको ठेक्का अवधि चारपटक थप्दा पनि काम पूरा नगरेको कालिका तामाङ प्यासिफिक जेभीलाई सवा तिन करोड रुपैयाँ जरिवाना गर्न आयोजना प्रमुख मिश्रले सडक विभागलाई सिफारिस गरेका थिए।
२०७६ साल माघ १५ गते मिश्रको सरुवा भएपछि आयोजना प्रमुखको जिम्मेवारी डिभिजन सडक कार्यालय बुटवलका समेत प्रमुख रहेका मेघराज मरासिनीले पाए। उनी पनि ९ महिनामा सरुवा भए।
यसपछि आएका जयलाल मरासिनीले १७ महिना डिभिजन सडक कार्यालय र योजना दुवैमा प्रमुखको जिम्मेवारी लिए।
गत चैत २१ गतेदेखि दीपककुमार झा आयोजनाको नवौं प्रमुखका रूपमा रहेका छन्। उनी प्रमुख भएर आएको पाँच महिनामा आयोजना नै खारेज भएको छ।
आयोजनाको समय भूकम्प, नाकाबन्दी, मधेस आन्दोलन लगायतको चपेटामा पनि पर्यो।
२७ किलोमिटर सडक र आकासे पुल निर्माणका लागि १५ वटा ठेक्का र एउटै कम्पनीले लिएका तीनवटा ठेक्का अलपत्र छन्।
एउटै निर्माण कम्पनीलाई निर्माणको जिम्मा दिँदा काम ढिलासुस्ती हुने र गुणस्तर समेत कमजोर हुने ठहर गरी दुई–तीन किलोमिटर छुट्याएर आयोजनाले ठेक्का आह्वान गरेको थियो।
सोहीअनुसार बेलहियादेखि बुटवलसम्मको सडक र आकाशेपुल निर्माणका लागि १५ वटा कम्पनीसँग ठेक्का सम्झौता भएको थियो।
द कञ्चनजङघा बिरुवा जेभी कन्स्ट्रक्सन प्रालिले लिएका तीनवटा ठेक्का बाहेक अरु सबैको काम सम्पन्न भएको छ।