पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा उपाध्यक्षलाई नै कार्यबाहक जिम्मेवारी दिन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निर्देशन दिएको छ।
आफ्नै व्यावसायिक साझेदारलाई लागुऔषधको झूटो मुद्दामा फसाएको आरोप लागेपछि गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता भदौ पहिलो सातादेखि फरार छन्।
गाउँपालिका अध्यक्ष गुप्ताको अनुपस्थितिमा कार्यपालिकाको बैठकले वडा नं. १ का अध्यक्ष चुल्हाई प्रसाद यादवलाई गाउँपालिका अध्यक्षको कार्यबाहक दिएपछि उपाध्यक्ष फातुमा खातुन अन्सारीले आपत्ति जनाएकी थिइन्।
कार्यपालिकामा बहुमत रहेको नाममा उपाध्यक्षलाई छोडेर वडा अध्यक्षलाई कार्यबाहक दिएको भन्दै विवाद उत्पन्न भएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले कार्यपालिकाको उक्त निर्णयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएका थिए।
मन्त्रालयको सचिवस्तरीय निर्णयले स्थानीय सरकार सञ्चालन ऐनविपरीत वडा अध्यक्षलाई कार्यबाहक दिएको भन्दै उपाध्यक्षलाई जिम्मेवारी दिन गाउँपालिकालाई निर्देशन दिएको छ।
स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा १६ को उपदफा ४ को खण्ड क र ख आकर्षित हुने हुँदा अध्यक्षले कार्यभार नदिई अनुपस्थित भएको अवस्थामा सोही उपदफाको खण्ड (ख) को प्रकरण २ बमोजिम अध्यक्षको कार्यभार उपाध्यक्ष वा उपप्रमुखले सम्हाल्ने व्यवस्था भएकाले सोही बमोजिम गर्नू भनेर निर्देशन दिएको हो।
स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिका अध्यक्ष लगातार एक सातासम्म कार्यालयमा उपस्थित नभएमा स्वतः उपाध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिनुपर्ने उल्लेख छ।
गत भदौ १९ गते बसेको कार्यपालिकाको बैठकमा उपाध्यक्ष खातुन उपस्थित रहे पनि कार्यपालिकाका बहुमत सदस्यहरूको निर्णयले वडा नं. १ का अध्यक्ष यादवलाई कार्यबाहक गाउँपालिका अध्यक्षको जिम्मेवारी दिएको थियो।
बैठकमा आफ्नो उपस्थिति हुँदाहुँदै कार्यपालिकाका सदस्यहरूले स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत निर्णय गरेको भन्दै उनले फरक मत राखेर विरोध जनाएकी थिइन्।
गाउँपालिका अध्यक्ष गुप्ताले स्वास्थ्यको कारण देखाएर कार्यालयमा उपस्थित हुन नसक्ने जनाउँदै कार्यबाहकको जिम्मेवारी कार्यपालिकाबाट टुंगाउने व्यहोराको पत्र पठाएका थिए।
गुप्ताको पत्रपछि कार्यपालिकाको बैठकले स्थानीय सरकार सञ्चालन ऐन २०७४ र नेपालको संविधान २०७२ को धारा २१४ को उपधारा ३ मा संविधान र अन्य कानुनको अधिनमा रही गाउँपालिका वा नगरपालिकाको शासन व्यवस्था निर्देशन र सञ्चालन गर्ने अभिभारा गाउँ कार्यपालिका वा नगर कार्यपालिकाको हुनेछ भन्ने उल्लेख भएको व्यहोरालाई आधार मानेर वडा अध्यक्षलाई कार्यबाहकको जिम्मेवारी दिएको थियो।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारूढ पाँच दलीय गठबन्धनबाट माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। भागबण्डाबाट उपाध्यक्षमा भने नेपाली कांग्रेसकी फातुमा खातुन अन्सारी निर्वाचित भएकी थिइन्।
त्यस्तै, ६ जना वडा अध्यक्षमा तीन जना माओवादी केन्द्र, दुई जना नेपाली कांग्रेस र एक जना लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए।
त्यस्तै, कार्यपालिका सदस्यमा भने जनता समाजवादीबाट १ जना र बाँकी ६ जना माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।
सत्तारूढ गठबन्धनबाट चुनाव लडे पनि गाउँपालिकामा निर्वाचित भएपछि आफ्नो विरोध गरेको भन्दै अध्यक्ष गुप्ताले उपाध्यक्ष खातुनलाई कार्यबाहक दिन नमानेको कार्यपालिकाका एक सदस्यले बताए।
कार्यपालिकाले अध्यक्षको कार्यबाहक दिएका वडा अध्यक्ष चुल्हाई प्रसाद यादव भने नेपाली कांग्रेसबाट निर्वाचित भएका हुन्। कार्यपालिकामा बहुमत भए पनि माओवादी केन्द्रबाट निर्वाचित वडा अध्यक्षलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिँदा झनै विरोध हुन सक्ने भन्दै उपाध्यक्षभन्दा नेपाली कांग्रेसकै भए पनि यादवलाई कार्यबाहक दिने निर्णय भएको ती सदस्यले बताए।
उपाध्यक्ष खातुनले बहुमतको नाममा कार्यपालिका सदस्यहरूले स्थानीय सरकार सञ्चालन ऐन २०७४ ले दिएको आफ्नो अधिकार खोस्ने प्रयत्न गरे पनि लडेर आफ्नो अधिकार प्राप्त गरेको बताइन्।
‘जित जहिले पनि सत्यको नै हुन्छ, कार्यपालिका सदस्यहरूले स्थानीय सरकार सञ्चालन ऐन २०७४ विपरीत निर्णय गरेका थिए मन्त्रालयले त्यसलाई सच्चाइदिएर पठाएको छ,’ उनले भनिन्।