पश्चिम नवलपरासीको पाल्हीनन्दन गाउँपालिकामा उपाध्यक्षलाई बेवास्ता गर्दै वडाध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएपछि विरोध भएको छ।
आफ्नै व्यवसायीक साझेदारलाई लागुऔषधको झुठो मुद्दामा फसाएको आरोप लागेपछि गाउँपालिका अध्यक्ष बैजुप्रसाद गुप्ता तीनसाता यता फरार छन्।
गाउँपालिका अध्यक्ष गुप्ताको अनुपस्थितिमा कार्यवाहक अध्यक्षको जिम्मेवारी वडा नं. १ का अध्यक्ष चुल्हाईप्रसाद यादवलाई दिएपछि गाउँपालिका उपाध्यक्ष फातुमा खातुन अन्सारीले आपत्ति जनाएकी छन्।
उपाध्यक्ष खातुनले स्थानीय सरकार सञ्चालन ऐन, २०७४ अनुसार गाउँपालिका अध्यक्ष लगातार एक सातासम्म कार्यालयमा उपस्थित नभएमा स्वतः उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने उल्लेख गरिएपनि बहुमतको नाममा कार्यपालिकाको बैठकले वडा अध्यक्ष यादवलाई कार्यवाहकको जिम्मेवारी दिएको भन्दै आपत्ति जनाएकी हुन्।
गत आइतबार बसेको कार्यपालिकाको बैठकबाट बहुमत सदस्यहरूले वडा अध्यक्ष यादवलाई कार्यवाहक गाउँपालिका अध्यक्षको जिम्मेवारी दिने निर्णय गरेपछि बैठकमै फरक मत राखेर विरोध जनाएको उपाध्यक्ष खातुनले बताइन्।
‘त्यो बैठकमै मैले आपत्ति जनाउँदै नोट अफ डिसेन्ट लेखेकी छु। ऐनअनुसार गाउँपालिका अध्यक्ष लगातार एक सातासम्म कार्यालयमा उपस्थित नभएमा स्वतः उपाध्यक्षलाई कार्यवाहकको जिम्मेवारी दिनुपर्ने उल्लेख गरिएको छ, तर उहाँहरूले बहुमतको नाममा कसरी वडा अध्यक्षलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिन सक्नुहुन्छ,’ उनले भनिन्।
उपाध्यक्ष खातुनले बहुमतको नाममा उपाध्यक्षलाई छोडेर वडा अध्यक्षलाई कार्यवाहक दिइनु जालसाजीपूर्ण र स्थानीय सरकार सञ्चालन ऐन विपरित भएको बताइन्।
‘ऐन र कानुनमै उल्लेख गरिएका कुरा कसरी बहुमतको नाममा परिवर्तन गर्न पाइन्छ, यो स्थानीय सरकार सञ्चालन ऐन विपरित रहेकोले मेरो गम्भीर आपत्ति छ,’ उनले भनिन्।
खातुनले कार्यपालिका सदस्यहरूले वडा अध्यक्ष यादवलाई कार्यवाहक अध्यक्षको जिम्मेवारी दिएको भएपनि उनलाई कार्यवाहक अध्यक्षको काम गर्न ऐनले रोकेकोले अहिले गाउँपालिकाका महत्वपूर्ण काम कारवाही रोकिएको बताइन्।
‘कुनैपनि निर्णयमा उनको हस्ताक्षर चल्दैन उनलाई पनि कार्यपालिका सदस्यहरूले झुक्याइरहेका छन्,’ उनले भनिन्।
कार्यवाहक अध्यक्षको विषयमा विवाद उत्पन्न भएपछि गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत श्रीप्रसाद गौतमले कार्यपालिकाले गरेको निर्णयलाई संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयमा पठाएको बताए।
‘कार्यपालिकाले गरेको निर्णय मन्त्रालयमा पठाइएकोले मन्त्रालयले जे निर्णय गरेर पठाउँछ गाउँपालिका अध्यक्ष उपस्थित नहुँदासम्म सोहि अनुसार काम अगाडी बढ्नेछ,’ गौतमले भने।
गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सत्तारूढ पाँचदलीय गठबन्धनबाट माओवादी केन्द्रका बैजुप्रसाद गुप्ता गाउँपालिका अध्यक्षमा निर्वाचित भएका थिए। भागबण्डाबाट उपाध्यक्षमा भने नेपाली कांग्रेसकी फातुमा खातुन अन्सारी निर्वाचित भएकी थिइन्।
त्यस्तै ६ जना वडा अध्यक्षमा तीनजना माओवादी केन्द्र, दुईजना नेपाली कांग्रेस र एकजना लोकतान्त्रिक समाजवादी पार्टीबाट निर्वाचित भएका थिए। त्यस्तै कार्यपालिका सदस्यमा भने जनता समाजवादीबाट १ जना र बाँकी ६ जना माओवादी केन्द्रबाट निर्वाचित भएका थिए।
गठबन्धनबाट चुनाव लडेर निर्वाचित भएपनि निर्वाचनपछि गाउँपालिका अध्यक्ष, वडा अध्यक्ष र कार्यपालिका सदस्यहरूले बहुमत र अल्पमतको आधारमा निर्णय गर्न थालेको उपाध्यक्ष खातुनको भनाइ छ।
गुप्ताले आफुसँगै साझेदारीमा व्यापार गर्दै आएका भारतको मोतिहारी चिरइया थाना ग्रामका रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानलाई झुठो लागुऔषध मुद्दामा फसाएर व्यापारको एक करोड बढी मुनाफा हडप्ने षड्यन्त्र गरेको आरोप लागेको छ।
गुप्ताले रामा गुप्ता र उनका सहयोगी जितेन्द्र पासवानसँगै मिलेर सुनवलको भुमहीमा कवाड व्यवसाय संचालन गरेका थिए। सोही कवाड बिक्री गरेको एक करोड बढी रकम हडप्ने उद्देश्यले उनीहरूलाई योजनाबद्ध रूपमा लागुऔषध मुद्दामा फसाएको आरोपमा उनलाई पक्राउ पुर्जी जारी भएको हो।
गत असार २२ गते जिल्ला प्रहरी कार्यालय पश्चिम नवलपरासीबाट खटिएको प्रहरीले रामग्रामको पिपरहियाबाट गुप्ता र पासवानलाई पक्राउ गरेको थियो। उनीहरूसँग डाइजेपाम, फेनारगन लगायतका लागुऔषध बरामद भएको प्रहरीको दाबी थियो।
सम्बन्धित समाचार: पाल्हीनन्दन गाउँपालिका अध्यक्ष गुप्ताविरूद्ध पक्राउ पुर्जी जारी
गाउँपालिका अध्यक्षको 'सूराकी'ले निर्दोष व्यक्ति लागुऔषध मुद्दामा ४८ दिनदेखि हिरासतमा