केही दिनयता गृह जिल्ला रूपन्देहीमा रहेका गृहमन्त्री बालकृष्ण खाण यसअघि नै शिलान्यास भईसकेका आयोजनाको दोहोर्याएर शिलान्यास गर्ने काममा व्यस्त छन्।
रूपन्देहीको सियारीमा सात महिना पहिले गाउँपालिका अध्यक्षले शिलान्यास गरेको १५ शैय्याको अस्पतालको गृह मन्त्री खाणले शनिबार दोहोर्याएर शिलान्यास गरेका हुन्।
तत्कालीन केपी शर्मा ओली नेतृत्वको सरकारले देशका हरेक पालिकामा १५ शैयाको अस्पताल बनाउने घोषणा गरे अनुसार गाउँपालिकाका तत्कालीन अध्यक्ष अयोध्या थारूले २०७८ माघ २३ गते सियारी–४ दयानगर छपियामा अस्पताल भवनको शिलान्यास गरेका थिए।
गृहमन्त्री खाणले शनिबार सोही अस्पतालको शिलान्यास गरेपछि थारूले सत्ताको दुरूपयोग गर्दै निर्वाचनको मुखमा जनतामा भ्रम छर्ने काम गरेको भन्दै रोष प्रकट गरेका छन्।
यसअघि नै शिलान्यास भई टेण्डर समेत भईसकेको आयोजना दोहोर्याएर शिलान्यास गरिनु अराजकताको पराकाष्ठा र सत्ताको चरम दुरूपयोग भएको थारुले दाबी गरे।
तत्कालिन गाउँपालिका अध्यक्ष थारूका अनुसार छपिया स्वास्थ्य चौकीलाई स्तरोन्नति गर्दै १५ शैयाको अस्पताल निर्माण गर्न माघ महिनामै २१ करोड ८० लाख ५० हजार २९५ रुपैयाँ लागत अनुमानमा टेण्डर आह्वान समेत गरिएको थियो।
सोही टेन्डरअनुसार अस्पताल भवन निर्माणका लागि गत असार ८ गते निर्माण कम्पनी कालिगण्डकी रविना जेभिले १८ करोड १ लाख ७ हजार ४८४ रुपैयाँमा ठेक्का सम्झौता गरिसकेको छ।
गाउँपालिकाले सियारी अस्पतालको शिलान्यास गरिएको भन्दै माघ २३ गते पोष्ट गरिएका तस्विरमा तत्कालिन गाउँपालिका अध्यक्ष थारुले विधिपूर्वक पूजा गरि अस्पतालको शिलान्यास गरेको देख्न सकिन्छ।
गाउँपालिकाले आफ्नो वेवसाईटमा अस्पताल शिलान्यास कार्यक्रमका तस्विरहरु पोष्ट गरेको छ।
गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रोमनाथ न्यौपानेले गत माघ महिनामा ठेक्का सम्झौता नहुँदै शिलान्यास गरिएकोले अहिले ठेक्का सम्झौता भएपछि शनिबार शिलान्यास गरिएको बताए।
‘तत्कालिन गाउँपालिका अध्यक्षले शिलान्यास गर्दा ठेक्का आह्वान गरिएको भए पनि ठेक्का सम्झौता गरिएको थिएन, अहिले सम्झौता भएपछि दोहोर्याएर शिलान्यास गरिएको सत्य हो,’ उनले भने।
गृहमन्त्री यसअघि ५ वर्ष पहिले आफैले शिलान्यास गरेको तिलोत्तमा चक्रपथको पनि दोहोर्याएर शिलान्यास गरेका थिए।
२०७३ असाज ८ गते रक्षामन्त्रीको हैसियतमा बुटवल र तिलोत्तमाको सीमा योगिकुटीलाई शुरूको बिन्दु मानेर चक्रपथको शिलान्यास गरेका खाणले स्थानीय तह निर्वाचनको मुखमा गत फागुन २१ गते ओमसतिया गाउँपालिकाको लखनथापा चोकलाई शुरुको बिन्दु मानेर दोस्रोपटक शिलान्यास गरेका थिए।
आफैंले शिलान्यास गरेको सडक योजनाको काम सुरु नहुँदै चुनावको मुखमा दोहोर्याएर शिलान्यास गरिएको भन्दै गृहमन्त्री खाणको आलोचना भएको थियो।