आगामी मंसिर ४ गते हुन गइरहेको प्रदेश/प्रतिनिधिसभा निर्वाचनका लागि रूपन्देहीका कतिपय क्षेत्रबाट नेपाली कांग्रेसले उम्मेदवार सिफारिस गर्न थालेपछि पार्टीका नेता/कार्यकर्ताहरूमा असन्तुष्टिका स्वरहरू बाहिरिन थालेका छन्।
प्रतिनिधिसभा अन्तर्गत पाँच वटा निर्वाचन क्षेत्र रहेको रूपन्देहीमा क्षेत्र नं. २, ४ र ५ मा क्षेत्रीय कमिटीबाट उम्मेदवारहरू सिफारिस गरिएका छन् भने क्षेत्र नं. १ र ३ ले भने अझै उम्मेदवारहरूको नाम सिफारिस गरिनसकेको सो पार्टीले जनाएको छ।
उम्मेदवारहरूको नाम सिफारिस गरिएका क्षेत्रहरूमा पनि उम्मेदवारको आकांक्षी रहेका तर सिफारिसमा नपरेका नेता कार्यकर्ताहरूले सामाजिक सञ्जालबाटै असन्तुष्टि जनाएका छन्।
नेपाली कांग्रेस निर्वाचन क्षेत्र नंं २ बाट गृहमन्त्री समेत रहेका बालकृष्ण खाणसहित चार जनाको नाम सिफारिस गरिएको छ।
कांग्रेस क्षेत्र नम्बर २ को बिहीबार बसेको बैठकले प्रतिनिधि सभाको प्रत्यक्ष निर्वाचनका लागि खाणसहित युवराज गिरी, चुन्नप्रसाद पौडेल र कृष्णप्रसाद पोखरेलको नाम सिफारिस गरेको हो।
खाण २०७० सालको निर्वाचनमा रूपन्देही क्षेत्र नं. ३ बाट निर्वाचित भएका थिए भने आगामी निर्वाचनमा पनि क्षेत्र नं. ३ बाट समेत उनको नाम सिफारिस गरिने खाणनिकट स्रोतले जनाएको छ।
क्षेत्र नं. २ बाट समानुपातिकका लागि नौ जनाको नाम सिफारिस गरिएको छ।
प्रतिनिधिसभा निर्वाचनका लागि क्षेत्र नम्बर ४ बाट भने हाल प्रतिनिधिसभा सदस्य रहेका प्रमोद यादवको मात्रै नाम सिफारिस गरिएपछि कांग्रेसका क्षेत्रीय महाधिवेशन प्रतिनिधि आशुतोष मिश्रले असन्तुष्टि व्यक्त गरेका छन्।
क्षेत्रीय कमिटीको बैठकबाट प्रतिनिधिसभा निर्वाचनको लागि यादवको मात्रै नाम सिफारिस गरिएपछि मिश्रले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै लोकतान्त्रिक पार्टीको अलोकतान्त्रिक अभ्यास भएको आरोप लगाएका छन्।
मिश्रले उम्मेदवारको नाम सिफारिस गर्दा कम्तीमा ३ जनाको नाम सिफारिस गर्न मिल्ने भए पनि एकलौटी रूपमा यादवको मात्रै नाम सिफारिस गरिएको भन्दै असन्तुष्टि जनाएका हुन्।
प्रतिनिधिसभा निर्वाचनका लागि उम्मेदवार सिफारिस गर्ने क्रममा रूपन्देही क्षेत्र नम्बर ४ बाट एकलौटी रूपमा प्रमोद यादवको नाम सिफारिस गरी आफ्नो नाम हटाएकोमा असन्तुष्टि व्यक्त गरेका छन्।
मिश्रले पार्टीद्वारा जारी मापदण्ड अनुसार आफूले प्रतिनिधिसभा निर्वाचनमा आफू उम्मेदवारको आकांक्षी रहेको क्षेत्रीय सभापतिलाई जानकारी गराए पनि क्षेत्रीय कमिटीको बैठकमा कुनै छलफल समेत नगरी एकलौटी रूपमा यादवको मात्रै नाम सिफारिस गरिएको बताएका छन्।
यादवले पार्टीको विधान, नियम र कानूनविपरीत पहुँचको भरमा उम्मेदवार सिफारिस गरिनु पार्टीको अलोकतान्त्रिक निर्णय भएको आरोप लगाएका छन्।
क्षेत्र नं. ४ बाट प्रदेश सभाका लागि भने अष्टभुजा पाठक र वसिउद्दिन खाँ दुई जनाको नाम सिफारिस गरिएको छ। पाठक र खाँ हाल पनि लुम्बिनी प्रदेशसभा सदस्य छन्।
यता निर्वाचन क्षेत्र नं. ५ बाट प्रतिनिधिसभा निर्वाचनका लागि सार्वजनिक लेखा समितिका सभापति समेत रहेका भरत शाहको नाम सिफारिस गरिएको छ।
पार्टीको क्षेत्रीय बैठकबाट प्रतिनिधिसभाका लागि प्रत्यक्षतर्फ शाहको एकल नाम सिफारिस गर्दा समानुपातिकका लागि भने शाहकी पत्नीसहित १४ जनाको नाम सिफारिस गरेको छ।
नेपाली कांग्रेस रूपन्देहीको उपसभापति रहेकी अनिता शाहलाई क्षेत्र नं. ५ बाट समानुपातिकमा महिलाबाट सिफारिस गरिएको छ भने शाहसँगै अन्य १३ जनाको नाम पनि समानुपातिक उम्मेदवारको रूपमा सिफारिस गरिएको छ।
यस्तै प्रदेशसभाका लागि क्षेत्र नम्बर ५ (ख) बाट प्रत्यक्षतर्फ फकरुद्दिन खानको मात्रै नाम सिफारिस गर्दा समानुपातिकका लागि भने ५ जनाको नाम सिफारिस गरिएको छ।
प्रदेश सभाका लागि एकल नाम सिफारिस हुने खान २०७४ सालको निर्वाचनमा पनि सोही क्षेत्रबाट प्रदेशसभा सदस्यमा निर्वाचित भएका थिए। खान हाल लुम्बिनी प्रदेश सभामा नेपाली कांग्रेसका प्रमुख सचेतक छन्।
क्षेत्र नं. ५ (ख) बाट प्रत्यक्षतर्फ खानको मात्रै नाम सिफारिस हुँदा प्रदेशसभा (क) बाट भने प्रत्यक्षमै तीन जनाको नाम सिफारिस गरिएको छ।
प्रत्यक्षतर्फ विष्णु पोखरेल, देवीप्रसाद कँडेल र लक्ष्मी चौधरीको नाम सिफारिस गरिएको क्षेत्रीय सभापति वसिउल्लाह मुसलमानले जानकारी दिए।
मुसलमानका अनुसार प्रदेशसभा 'क' बाट समानुपातिकमा पनि रामबहादुर थापा र शारदा गौतमको नाम सिफारिस गरिएको छ।
कांग्रेस पूर्व क्षेत्रीय कोषाध्यक्ष समेत रहेका हरि पोखरेलले आफू निर्वाचन क्षेत्र नं. ५ (क) बाट उम्मेदवारको आकांक्षी रहे पनि आफ्नो नाम हटाइएको भन्दै असन्तुष्टि जनाएका छन्।
यसअघि २०७४ सालको निर्वाचनमा समेत आफू प्रदेश सभाको उम्मेदवार आकांक्षी रहेकोमा त्यसबेला पनि षड्यन्त्रपूर्वक आफ्नो नाम हटाइएको र यसपटक पनि षड्यन्त्रपूर्वक नाम सिफारिस नगरिएको उनले बताए।