बुटवलमा ठूलो क्षमताको सभाहल नहुँदा राजनीतिक दलका सभा सम्मेलन तथा अन्य विभिन्न कार्यक्रम समेत खुला आकाशमुनि गर्नुपर्ने बाध्यता थियो। अब भने त्यो बाध्यता हट्ने भएको छ।
संघीय सरकारको सहरी विकास मन्त्रालयमार्फत् १ अर्ब ११ करोड रुपैयाँ लागतमा बुटवल सम्मेलन केन्द्र निर्माण सम्पन्न भएपछि बुटवलको चर्को गर्मी तथा वर्षाको बीचमा पनि खुला आकाशमुनि सभा सम्मेलन गर्नुपर्ने झण्झट हट्ने भएको हो।
बुटवल १० रामनगरस्थित मण्डपमा निर्माण सम्पन्न भएको सम्मेलन केन्द्रको शनिबार बिहान प्रधानमन्त्री शेरबहादुर देउवाले उद्घाटन गर्ने कार्यक्रम तय गरिएको छ।
२०७१ साल माघ १५ गते सम्मेलन केन्द्र निर्माणको ठेक्का सम्झौता गरिए पनि ०७२ सालको सुरूमै गएको भूकम्प तथा नाकाबन्दीका कारण सम्मेलन केन्द्रको निर्माण कार्य केही ढिलो गरी सुरू गरिएको थियो।
ठेक्का सम्झौता गर्दा पाँच वर्षमा निर्माण सक्ने भनिए पनि नाकाबन्दी र भूकम्पका कारण ढिलो गरी थालिएको सम्मेलन केन्द्रको काम कोरोना महामारीका कारण केही समय प्रभावित बन्यो। यद्यपि ढिलै भए पनि निर्माणको काम पूरा भएको छ।
साना ठूला गरी एउटै छानोमुनि दुई हजार जना क्षमताका हलसहित तयार भएको अन्तर्राष्ट्रिय स्तरको यो सम्मेलन केन्द्र काठमाडौंभन्दा बाहिरको सबभन्दा ठूलो क्षमताको सम्मेलन केन्द्र हो।
बुटवल मण्डपमा रहेको साढे १६ बिघा जग्गामध्ये ९ दशमलव ६ विगाह क्षेत्रफलमा सम्मेलन केन्द्र निर्माण भएको छ।
सम्मेलन केन्द्रदेखि पश्चिमतर्फको ६ दशमलव ४ बिगाह क्षेत्रफलमा भने अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीकेन्द्र निर्माण भइरहेको छ।
भौतिक पूर्वाधारका हिसाबले फड्को मारिरहेको बुटवलमा निर्माण सम्पन्न भएको सम्मेलन केन्द्रलाई यहाँका राजनीतिक दल, उद्योग व्यवसायीले बुटवल सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्रलाई बुटवलका ‘ड्रिम प्रोजेक्ट’ का रूपमा हेरेका छन्।
सतहबाट हेर्दा ब्लक अनुसार फरक–फरक संरचना देखिएको सम्मेलन केन्द्र आकाशबाट हेर्दा तीन वटै भवन एक आपसमा जोडिएर नेपालको राष्ट्रिय झण्डाको आकारमा देखिएको छ।
पहिलो चरणमा रविना समानान्तर चन्द्रसूर्य जेभी कम्पनीले निर्माणको काम गरेकोमा दोस्रो चरणको काम भने आशिष निर्माण सेवाले गरेको हो।
पहिलो चरणमा १ हजार १ सय १४ जना अट्ने क्षमताको मुख्य सभाहल रहेको भवन, दुई वटा लेक्चर हल, ६ वटा मिटिङ हल, भिआइपी, भिडिओ, अडिओ, ट्रान्सलेटर लगायतका कक्ष रहेका छन्।
त्यस्तै, दोस्रो चरणमा निर्माण भएको चन्द्र आकारको भवनमा दुई वटा ५०/५० र दुई वटा १/१ सय क्षमताका हल रहेका छन्।
भौतिक पूर्वाधारको हिसाबले पहिलो चरणमा मुख्य भवन निर्माण गरिए पनि रङरोगन, सजावट, कुर्ची टेबल, विद्युत, सिसिटिभी जडान, प्रवेशद्वार लगायतका संरचना दोस्रो चरणमा निर्माण गरिएकोले लागत रकम पनि बढी छ।
आयोजना प्रमुख धर्मेन्द्र पन्थीका अनुसार पहिलो चरणको काम २३ करोड ७६ लाख रुपैयाँ र दोस्रो चरणको काम ८० करोड गरी १ अर्ब ३ करोड ७६ लाख रुपैयाँमा निर्माण भएको छ।
दोस्रो चरणमा सभाहल परिसरको ग्रिनरी सहितको बाटो, फुटपाथ, क्यान्टिन ब्लक, शौचालय, कर्मचारीहरूको लागि तीन तलाको छुट्टै आवास गृह, पार्किङ स्थल, पोखरी, बगैंचा लगायतका संरचना निर्माण गरिएका छन्।
त्यसैगरी सम्मेलन केन्द्रभित्र कुर्ची, साउण्ड सिस्टम, कार्पेट एचभिएसी लगायतको काममा गरी १ अर्ब ११ करोड रुपैयाँ लगानी भएको पन्थीले जानकारी दिए।
सम्मेलन केन्द्रसँग सटेर नर्थ र साउथ गरी दुई वटा मल्टीप्रपोज भवन बनेका छन्।
यी १ सय क्षमताका छन्। त्यसबाहेक २ वटा सर्भिस ब्लक, १ क्यान्टिन, १ ग्रीन हाउस, ६ जना बस्न मिल्ने कर्मचारी आवासका लागि भवन निर्माण भएको छ। त्यस्तै, ४ वटा सुरक्षागार्ड हाउस बनिसकेका छन्। २ वटा प्रवेशद्वार र १ वटा निकास द्वारसँगै भिआइपी र सर्भिसद्वार गरी ५ वटा गेट तयार भएका छन्। २ वटा टिकट काउन्टर निर्माण भइसकेका छन्।
लिफ्ट सहितको सम्मेलन केन्द्र परिसरमा ग्रिनरी सहितको बाटो, फुटपाथ, बगैंचा लगायतका संरचना निर्माण गरिएका छन्। सम्मेलन केन्द्रमा हेलिप्याड र चार सय गाडी र चार सय मोटरसाइकल पार्किङ गर्न मिल्ने गरी पार्किङस्थल बनाइएको छ।
त्यसैगरी विद्युतका लागि छुट्टै सव–स्टेशन र ६३० केभिए क्षमताको विद्युत ट्रान्सफर्मर राखिएको छ। सभाहल अगाडि पोखरी निर्माण गरिएको छ भने बाल उद्यान, कफी सप, रिफ्रेस हल, रजिस्ट्रेसन र टिकट काउण्टर निर्माण गरिएका छन्।
आयोजनाका प्रमुख पन्थीले सम्मेलन केन्द्र निर्माणको काम सम्पन्न गरी आन्तरिक परीक्षण समेत गरिसकिएको जानकारी दिए।
सुरूआती चरणमा बुटवल मण्डपमा रहेका रूखहरू कटान र वातावरणीय प्रभाव मुल्याङ्कन प्रतिवेदनको काम सकिन डेढ वर्ष लागेकोले निर्माणको काम ढिलो गरी सम्पन्न भएको आयोजनाका इन्जिनियर सुमन दर्लामीले बताए।
ढिलै गरी भए पनि निर्माण सम्पन्न भएको सम्मेलन केन्द्रको सञ्चालन भने कुन ढाँचाबाट गरिने भन्नेबारे अझै प्रष्ट भइसकेको छैन।
इन्जिनियर दलार्मीले बुटवल उपमहानगरपालिकालाई हस्तान्तरण गर्ने या कुनै समितिमार्फत सञ्चालन गर्नेबारे संघीय सरकारले नै निर्णय गर्ने बताए।
पूर्वअर्थमन्त्री तथा रूपन्देही क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य विष्णु पौडेल २०६५ साल फागुन ५ गतेदेखि १४ गतेसम्म बुटवल मण्डपमा सम्पन्न भएको एमालेको आठौं महाधिवेशनपछि सम्मेलन केन्द्रको योजना बनेको बताउँछन्।
‘भौतिक पूर्वाधारले नेपालकै नमूना बन्दै गइरहेको बुटवलमा महाधिवेशनका बेला स्तरीय सम्मेलन केन्द्र नभेटिएपछि यसको परिकल्पना गरेर योजना अघि बढाइएको थियो, बुटवल सम्मेलन केन्द्र निर्माणको प्रस्ताव गर्नेदेखि योजना बनाउने, बजेट विनियोजन गर्ने र निर्माणको काम सम्पन्न नहुँदासम्म निरन्तर अभिभावकको भूमिका खेल्न पाएकोमा मैले गौरव अनुभूति गरिरहेको छु,’ पौडेलले भने।
बुटवल सम्मेलन केन्द्रको निर्माण पूरा भएपछि राष्ट्रिय मात्र नभई अन्तर्राष्ट्रिय स्तरका ठूला कार्यक्रम समेत बुटवलमै हुने र त्यसले आर्थिक र पर्यटकीय क्षेत्र चलायमान हुने पौडेलको अपेक्षा छ।
विभिन्न राजनीतिक दलहरूका महाधिवेशन बुटवलको खुला आकाशमुनि भएको अवस्थामा अब राजनीतिक दलहरूले समेत सभा समारोहका लागि खुला चौरको प्रयोग गर्ने बाध्यता हट्नेछ।
यसले खुला चौरमा गर्ने कार्यक्रमको खर्चमा बचत त गर्छ नै बुटवलको चर्को गर्मीमा पनि कार्यक्रम गर्न सहज हुने स्थानीय उद्योगी व्यवसायी बताउँछन्।
रूपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले सम्मेलन केन्द्र निर्माणपछि बुटवलमा आर्थिक गतिविधि बढ्ने बताउँछन्।
‘बुटवल सम्मेलन केन्द्रले रूपन्देहीलाई मात्र नभई बाहिरी जिल्लालाई समेत जोड्ने भएकोले यहाँको व्यापार व्यवसायमा चलायमान हुने अपेक्षा गरेका छौं,’ पौडेलले भने।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्ज्वल कसजुले बुटवल सम्मेलन केन्द्र बुटवलको गहना भएकोले यसबाट बुटवलले लाभ लिन सक्ने बताए।
रूपन्देही व्यापार संघका अध्यक्ष कृष्ण घिमिरे पनि सभाहल बनेपछि व्यवसायिक लाभ लिनुका साथै बुटवलको चिनारी समेत थपिएको बताउँछन्।
सम्मेलन केन्द्रले अब बाहिर कार्यक्रम गर्ने झन्झटबाट मुक्त बनाएको मात्र नभई बुटवलले अब जस्तोसुकै अन्तर्राष्ट्रिय स्तरको सम्मेलन गर्न पनि तयार छ भन्ने सन्देश दिएको छ।
स्वदेशी मात्र नभई अन्तर्राष्ट्रिय सभा सम्मेलन समेत गर्न मिल्ने गरी तयार गरिएको बुटवल सम्मेलन केन्द्रलाई रूपन्देहीको पूर्वाधार विकासको एक इँट्टा भनिएको छ।