नेकपा (एकीकृत समाजवादी) को बुधबार बसेको सचिवालय बैठकले माओवादी केन्द्रसँग एकता गर्न संयोजन समिति बनाउने निर्णय गरेको छ।
यो निर्णयसँगै गत वर्ष नेकपा (एमाले) बाट विभाजन भएर बनेको एकीकृत समाजवादी र माओवादी एक हुने प्रक्रिया सुरू हुने भएको छ। माओवादीसँगको एकताबारे एकीकृत समाजवादीभित्र पनि केही असन्तुष्टिका आवाज सुनिएका छन्।
पार्टी गठन भएको एक वर्षमै अर्को पार्टीसँगको एकता प्रक्रिया अघि बढाउन खोज्नुको कारणलगायत विषयबारे सेतोपाटीका शिशिर ढकालले एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालसँग बुधबार साँझ कुराकानी गरेको छन्। कुराकानीको सम्पादित अंश:
तपाईंहरूको पार्टी सचिवालय बैठकले माओवादीसँग एकता गर्न संयोजन समिति बनाउने निर्णय गरेछ। तपाईं एकीकृत समाजवादीलाई माओवादीमा बिसाउन तयार हुनुभएको हो?
अहिले हामीले सिंगो देशको कम्युनिष्ट आन्दोलनलाई नयाँ ढंगले अघि बढाउने सोच बनाएका छौं। यसका निम्ति चुनावको बेला पर्यो। चुनावको बेला स्वाभाविक रूपमा गठबन्धनसँग जाने कुरा छँदैछ। माओवादीसँग हाम्रो विचार मिल्छ। पहिले पनि नेकपा भएकै हो। माओवादी केन्द्रका अध्यक्ष र मैले पहिलेदेखि नै देशको हितमा सहकार्य पनि गर्दै आएका छौं। त्यसो भएको हुनाले एकता संयोजन समिति बनाएर सहकार्यलाई बढाउँदै नेपालको सिंगो कम्युनिष्ट आन्दोलनमा देखा परेका बेथितिलाई सुधारेर पार्टी पुनर्गठन गर्दै क्रान्तिकारी पार्टी बनाउने अभियानको थालनी हामीले नै गर्नुपर्छ भन्ने निष्कर्षमा पुगेका हौं।
एकीकरणपछि पार्टीको नाम माओवादी नै हुन्छ कि समाजवादी केन्द्र?
एकीकरणपछि पार्टीको नाम माओवादी केन्द्र पनि हुँदैन, समाजवादी केन्द्र पनि हुँदैन। कम्युनिष्ट पार्टी हुन्छ। मार्क्सवाद, लेनिनवाद छोड्न सकिँदैन। २००६ साल देखिको कम्युनिष्ट पार्टीको इतिहासलाई परित्याग गर्न सकिँदैन, क्रान्तिकारी सोचलाई त्याग्न सकिँदैन। देश र जनताको हितलाई छोड्न सकिँदैन।
माओवादीसँग एकताका निम्ति संयोजन समिति बनाउने निर्णयप्रति एकीकृत समाजवादीमा असन्तुष्टि पनि छ। तपाईंको जोडबलमा भएको निर्णयले कार्यकर्ता पंक्ति फेरि एमालेमै फर्किने सम्भावना पनि छ नि?
यो सम्भावना छैन। जुन मान्यताका साथ हामीले एमालेमा विद्रोह गरेका हौं, त्यो मान्यतालाई हामीमा मात्रै सीमित राख्नुभएन। अरू पनि कम्युनिष्ट पार्टीलाई मिलाउँदै प्रगतिशील धारको बलियो शक्ति बन्ने हाम्रो उद्देश्य थियो। अहिले माओवादी केन्द्र तयार भएकाले संयोजन समिति बनाउने भनिएको हो। जो तयार छ त्यहीँबाट न सुरू गर्ने हो। यो सहकार्यको सुरूआत वामदेव गौतमले पनि गर्नुभएको थियो। उहाँ पनि त्यही दिशातर्फ उन्मुख हुनुभयो।
हामी सकारात्मक दिशामा अघि बढिरहेका छौं। कम्युनिष्ट आन्दोलनको क्रान्तिकारी शक्ति निर्माण गर्ने, देशभक्तिको झन्डा बुलन्द गर्ने र समाजमा भएका अन्याय अत्याचारविरूद्ध लड्ने बलियो शक्ति निर्माणको प्रक्रिया भएकाले यसमा सबैको साथ हुन्छ। अब गफमा होइन, व्यवहारमा समाजवाद ल्याउने गरी हामी अघि बढ्नेछौं। हामीसँग अनुभव र ऊर्जा दुबै छ, त्यसलाई हामी उपभोग गर्नेछौं।
पार्टी गठनको एक वर्षमै एकतामा अघि बढ्दा एकीकृत समाजवादी गठनको औचित्यमा प्रश्न उठ्ला नि?
कसैसँग एकता गर्दैमा हाम्रो अस्तित्व बिलाउँदैन। औचित्यमा प्रश्न किन उठ्छ र? पार्टी गठनको एक वर्षमा हामीले त कम्युनिष्ट आन्दोलनको पुनर्गठनको अभियान पो सुरू गरेका हौं त। फेरि अर्को पार्टी खोल्ने रहर हो र हाम्रो? रहर त होइन। यो एउटा अभियान हो। पुनर्गठन गर्ने भनेको फेरि अर्को पार्टी खोल्ने कुरा होइन। कम्युनिष्ट शक्तिलाई मिलाउन सकिन्छ भन्ने विश्वास हो यो। कम्युनिष्ट शक्तिलाई मिलाउनका निम्ति कोही बाहिरबाट आएर मिलाउन सक्दैन। हामीले नै गर्ने हो। पुराना योद्धाले अभियान सुरू गर्ने हो, नयाँ पुस्ताले साथ दिने हो। पुरानो पुस्तामा आँट र क्षमता पनि छ। सबै आन्दोलनलाई उचाइमा पुर्याएको अनुभव हामीमा छ।
अहिले संसदीय चुनावका लागि सिट बाँडफाँटको कुरा पनि चलिरहेको छ तपाईंहरूको दाबी कतिमा हो?
सिट बाँडफाँटको विषयमा अहिले कार्यदलमा छलफल भइरहेको छ। त्यसले नै सिटको संख्या टुंग्याउने छ। हामी विशिष्ट परिस्थितिमा गठन भएका थियौं। यसलाई मध्यनजर गर्दै न्यायोचित रूपमा सिट बाँडफाँट हुन्छ भन्ने हाम्रो विश्वास छ। अहिले हामी पाँच दलीय गठबन्धनमा छौं। यही गठबन्धनबाट चुनावमा जाने हो। चुनावपछि वाम शक्तिलाई बलियो बनाउने अभियानमा सशक्त रूपमा अघि बढ्नेछौं।