साउन ६ गते नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईबीच भेट भयो। उक्त भेटमा प्रचण्डले सत्ता गठबन्धनमा रहेका कांग्रेसबाहेकका दल मिलेर समाजवादी केन्द्र बनाउने प्रस्ताव राखे। चुनावको मिति घोषणा नभएको र सत्तारूढ दलबीच चुनावमा तालमेल गर्ने कि नगर्ने भन्नेबारे निर्णय नभएकाले बेला प्रचण्डको यस्तो प्रस्ताव सार्वजनिक भएपछि राजनीतिक वृत्तमा चर्चा चुलियो। केही दिन छलफल र भेटघाट पनि भए।
साउन सकिन लाग्दासम्म पनि समाजवादी केन्द्र बनाउने प्रस्तावले कुनै आकार लिएको छैन। ज-जसले समाजवादी केन्द्र बनाउने भनेका थिए उनीहरूका लागि नै अहिले यो विषय असान्दर्भिक भइसकेको छ। प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनमा एकै चुनाव चिन्हमा अघि बढ्ने रणनीतिसहित सघन छलफल चलाएका नेताहरूबीच त्यस विषयमाअहिले संवादहीनताको अवस्था छ।
सत्ता गठबन्धमा रहेका माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय जनमोर्चा, जनता समाजवादी पार्टी, बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी र राष्ट्रिय सभा सदस्य वामदेव गौतमसमेत सहभागी हुने गरी समाजवादी केन्द्र बनाउने भन्दै छलफल चलेको थियो।
अहिले यस विषयमा शीर्ष नेताहरूबीच संवादहीनताको अवस्था रहेको राष्ट्रिय सभा सदस्य वामदेव गौतमले बताए। कांग्रेससँग गठबन्धन गर्ने निर्णय आएसँगै यो विषयमा अरूले कुनै चासो नराखेको र आफूले पनि कुनै संवाद अघि नबढाएको गौतमको भनाइ छ।
‘समाजवादी मोर्चाको विषयमा मलाई केही पनि थाहा छैन। मैले कुनै पनि नेतासँग यो बीचमा कुराकानी गरेको छैन। कांग्रेससँग गठबन्धन गर्ने भएपछि उहाँहरूले चासो पनि देखाउनुभएको छैन,’ गौतमले सेतोपाटीसँग भने।
माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले पनि समाजवादी मोर्चाबारे कुनै पनि प्रगति नभएको बताएका छन्। कांग्रेससँग गठबन्धन गरेर अघि बढ्ने भएपछि छुट्टै मोर्चा बनाउने विषयमा संवाद अघि नबढेको उनले बताए।
‘कांग्रेससँगकै गठबन्धन अघि बढ्ने भएपछि फेरि अर्को छुट्टै मोर्चाको आवश्यकता नहोला भन्ने छ। कांग्रेससँग गठबन्धन नहुने स्थितिमा छुट्टै मोर्चा बन्थ्यो होला,’ श्रेष्ठले भने।
समाजवादी केन्द्र निर्माणको विषयमा असार १९ मा नेताहरूबीच अनौपचारिक सहमति भएको थियो। त्यसलाई मूर्त रूप दिन भन्दै नेताहरूले विभिन्न चरणमा छलफल समेत गरेका थिए। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले यस विषयको प्रस्ताव नेता बाबुराम भट्टराईसमक्ष राखेका थिए।
भट्टराईलाई गोरखा नै पुगेर माओवादी केन्द्रका नेता वर्षमान पुनले फकाएका समेत थिए। समाजवादी केन्द्रमा भट्टराई सहमत भएपछि साझा घोषणापत्र बनाउने गरी छलफलसमेत भएको थियो। अहिले भट्टराईको नेपाल समाजवादी पार्टी र माओवादी केन्द्र एउटै चुनाव चिन्हमा अघि चुनाव लड्न सहमतिनजिक पुगेका छन्।
माओवादी केन्द्रका नेता श्रेष्ठ भट्टराईका तर्फबाट यो प्रस्ताव आए पनि पार्टीभित्र औपचारिक छलफल नभएको बताउँछन्।
‘बाबुराम भट्टराईले एउटै चुनाव चिन्हमा अघि बढ्ने प्रस्ताव गर्नुभएको हो। हाम्रो पार्टीले कुनै निर्णय गरेको छैन,’ श्रेष्ठले भने।
अहिले, सत्ता गठबन्धनका नेताहरू सिट बाँडफाँटको मोडालिटी बनाउनमा व्यस्त छन्। कांग्रेस नेता कृष्णप्रसाद सिटौलाको संयोजकत्वमा समिति गठन गरेर सिट बाँडफाँटको छलफलमा रहेका छन्। यही कारणले पनि समाजवादी मोर्चाबारे कुनै प्रगति नभएको जनता समाजवादी पार्टीका नेता रामसहाय यादव बताउँछन्। जसपाभित्र यस विषयमा छलफल नै नभएको उनको भनाइ छ।
‘हामी अहिले कार्यदलमार्फत् सत्ता गठबन्धनबीच सिट बाँडफाँटमा व्यस्त छौं। वर्तमान गठबन्धनलाई नै बलियो बनाउने गरी अघि बढ्ने हाम्रो पार्टीको निर्णय थियो। समाजवादी मोर्चा वा केन्द्रबारे हाम्रो पार्टीभित्र कुनै छलफल भएको छैन,’ यादवले भने।
एकीकृत समाजवादीका उपमहासचिव प्रकाश ज्वाला एउटै चुनाव चिन्हमा लड्ने विषयमा प्राविधिक रूपमा कठिन भएको निष्कर्षमा दलहरू पुगेको बताउँछन्। मोर्चा बनाउने काम सफल नभएमा सत्ता गठबन्धनका वामशक्तिको साझा घोषणा पत्र बनाउने विषय उठान भएको उनले बताए।
‘पहिले समाजवादी केन्द्र बनाउने छलफल भएको थियो। पछि वाममोर्चा बनाउने भनियो। एउटै चुनाव चिन्हमा लड्न प्राविधिक जटिलता छन्। अब साझा घोषणापत्र बनाउने भनिएको छ,’ ज्वालाले भने।
शीर्ष नेताको व्यस्तताका कारण मोर्चा र साझा घोषणापत्रको विषयमा हाल कुनै छलफल हुन नसकेको उनले बताए। माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड हालसालै जापान भ्रमण गरी फर्किएका छन्। एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल कोरोना संक्रमणका कारण घरमै छन्। कांग्रेससँगै गठबन्धन अघि बढ्ने देखेपछि राष्ट्रिय सभा सदस्य गौतम रूष्ट छन् भने बाबुराम भट्टराईले माओवादीसँग साझा चुनाव चिन्हमा लड्ने विकल्पमा छलफल गरिरहेका छन्।
कसरी आएको थियो समाजवादी केन्द्रको अवधारणा?
माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले असार पहिलो साता माधवकुमार नेपालसँग भेट गरेका थिए। भेटको क्रममा प्रचण्डले कांग्रेसले दक्षिणपन्थी प्रजातान्त्रिक धारको नेतृत्व कांग्रेसले गरेको र दक्षिणपन्थी वामपन्थी धारको नेतृत्व एमालेले गरेको बताउँदै तेस्रो धार आवश्यक रहेको औंल्याएका थिए। त्यसरी अघि बढ्नका निम्ति एकीकृत समाजवादी र माओवादी केन्द्र मिल्नुपर्ने उनको प्रस्ताव थियो।
‘प्रचण्डले एकीकृत समाजवादी र माओवादी मिलेर तेस्रो धारको नेतृत्वको प्रस्ताव हाम्रो अध्यक्षसँग राख्नुभएको थियो। हाम्रा अध्यक्ष सहमत भएको कुरा हामीले थाहा पाएपछि यो कुरा प्रत्युत्पादक हुने कुरा हामीले प्रचण्डलाई राखेका थियौं,’ एकीकृत समाजवादीका एक नेताले भने।
प्रचण्डले एकीकृत समाजवादी र माओवादी केन्द्रको एकताका लागि संयोजन समिति निर्माणको प्रस्ताव राखेको माओवादी केन्द्रका नेता हरिबोल गजुरेल बताउँछन्।
‘माओवादी केन्द्र र माधव नेपालको पार्टीबीच एकताका लागि संयोजन समिति बनाउने कुरा भएको थियो। संयोजन समितिले सहमति जुटाए एउटै चुनाव चिन्हमा अघि बढ्ने कुरा भएको थियो,’ गजुरेलले सेतोपाटीसँग भने।
एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनाललाई बाइपास गरेर एकताको कुरा अघि नबढाउन प्रचण्डलाई सुझाए। असार २२ मा संसद भवनमा समाजवादीका केही सांसदले भेट गरेर प्रचण्डलाई भने, ‘तपाईंले झलनाथ खनाललाई बाइपास गरेर अघि बढेमा हाम्रो पार्टीको ठूलो पंक्ति एमालेमा जानेछन्। उनीहरू एमालेको भोटर भएर बस्ने तयार छन् तर माओवादीसँगको एकता स्वीकार गर्दैनन्।’
त्यसपछि प्रचण्डले एकीकृत समाजवादीसँग एकताका निम्ति संयोजन समिति गठन गर्ने प्रस्तावलाई स्थगित गर्दै समाजवादी केन्द्रको अवधारणा अघि बढाएका थिए। समाजवादी केन्द्र निर्माणका लागि नेकपाकालीन सचिवालय सदस्यबीच ३ साउनमा दोस्रो पटक छलफल भएको थियो। त्यसयता उनीहरूबीच समाजवादी केन्द्र वा मोर्चा बनाउने विषयमा संवादहीनताको अवस्था छ।