पाँच दलीय सत्ता गठबन्धनले मंसिर ४ मा हुने चुनावका लागि सिट बाँडफाँट गर्दा सबैभन्दा पेचिलो मधेसमा हुने देखिएको छ।
मधेस नेपाली कांग्रेस र जनता समाजवादी पार्टी(जसपा)को आधार क्षेत्र हो। जसपाको त मुख्य आधार क्षेत्र नै यहीँ हो। सिट बाँडफाँटमा यी दुई दलबीच सहमति हुन निकै कठिन छ। अर्कोतिर नेकपा (माओवादी केन्द्र) र नेकपा (एकीकृत समाजवादी) ले पनि मधेसमा भाग खोज्नु स्वाभाविक छ। प्रधानमन्त्री शेरबहादुर देउवाले लोकतान्त्रिक समाजवादी पार्टी(लोसपा)लाई समेत गठबन्धनमा ल्याउन खोजेका छन्।
लोसपालाई समेत ल्याए भने गठबन्धनको भागबण्डा अझै भद्रगोल हुने निश्चित छ। किनकी २०७४ को निर्वाचनमा तत्कालीन संघीय समाजवादी फोरम र राष्ट्रिय जनता पार्टी(राजपा)ले चुनावी तालमेल गरेका थिए। यी दुई पार्टीले मधेसका ३२ मध्ये १९ ठाउँमा निर्वाचन जितेका थिए। एमाले र माओवादीका बीचमा पनि चुनावी गठबन्धन भएको थियो। जसमध्ये नेकपा माओवादी केन्द्रले ५ र एमालेले २ ठाउँमा चुनाव जितेका थिए। कांग्रेसले ६ सिट जितेको थियो।
तत्कालीन संघीय समाजवादी फोरम र अहिलेको जसपाले २०७४ मा ९ क्षेत्र जितेको थियो। उसले स्वभाविक रूपमा त्यति क्षेत्र दाबी गर्छ। माओवादी केन्द्रले ५ ठाउँमा जितेको थियो।
माओवादीबाट निर्वाचन जितेका प्रभु साह अहिले एमाले प्रवेश गरेका छन्। यस अर्थमा उसले पनि कम्तीमा ५ क्षेत्र दाबी गर्छ। नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपाल रौतहटबाट उठ्न खोजेका छन्। एकीकृत समाजवादीले पनि केही क्षेत्रमा दाबी गर्ने नै छ। लोसपा(तत्कालीन राजपा)ले २०७४ मा मधेस प्रदेशमा १० ठाउँमा निर्वाचन जितेको थियो। उसलाई त्यति क्षेत्र दिन असम्भव जस्तै छ। किनकी त्यस्तो अवस्थामा कांग्रेसको भागमा थोरै मात्र क्षेत्र पर्छ। बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टी (नेसपा)लाई समेत ल्याए भने बाँडफाँट अझै जटिल बन्छ। नेसपा अध्यक्ष महिन्द्र राय यादवले २०७४ मा तत्कालीन राजपाका तर्फबाट सर्लाही-२ बाट चुनाव जितेका थिए।
२०७४ मा दलहरूले पाएको जनमतभन्दा २०७९ को जनमतमा धेरै उथलपुथल आइसकेको छ। सत्तारूढ गठबन्धनले २०७९ को स्थानीय तहको निर्वाचन र प्रतिनिधि सभाको उपस्थितिलाई आधार बनाएर निर्वाचन क्षेत्र बाँडफाँट गर्ने तयारी गरेका छन्।
स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने नेपाली काग्रेस मधेसमा सबैभन्दा बलियो छ। मधेस प्रदेशका ३२ क्षेत्रमा पर्ने स्थानीय तहका वडाहरूमा पाएको मतलाई आधार मान्ने हो भने नेपाली कांग्रेस १९ क्षेत्रमा अगाडि छ। नेकपा एमाले ६ क्षेत्रमा अगाडि छ। जसपा ४ ठाउँमा अगाडि छ। माओवादी केन्द्र, लोसपा र एकीकृत समाजवादी भने १/१/१ स्थानमा मात्र अगाडि छन्।
मधेस प्रदेशका ८ जिल्लामा प्रत्येकमा ४ निर्वाचन क्षेत्र छन्। सप्तरीका ४ मध्ये २ क्षेत्रमा कांग्रेस र २ क्षेत्रमा जसपा अगाडि छ। सिराहाका ४ मध्ये २ मा कांग्रेस र २ क्षेत्रमा एमाले अगाडि छ। सिराहा क्षेत्र नं ३ र ४ मा एमाले अगाडि छ। तर गठबन्धनमा रहेका दलहरूको मतलाई आधार मान्ने हो भने एमाले धेरै पछाडि पर्छ।
गत स्थानीय तह चुनावमा वडाध्यक्ष उम्मेदवारहरूले पाएको मतलाई आधार मान्दा सिराहा क्षेत्र नं ३ मा एमालेले २० हजार ३ सय २८ मत ल्याएको छ। नेपाली कांग्रेसको १८ हजार २६ मत छ भने जसपाको १४ हजार ८ सय ९३ मत छ। माओवादी केन्द्रले ९ हजार ४ सय ८१ मत पाएको छ, नेकपा (एकीकृत समाजवादी) ले ६ हजार २ सय ७४ मत ल्याएको छ।
सिराहा क्षेत्र नं ४ मा पनि एमाले अगाडि छ। उसले १४ हजार ६ सय ७१ मत ल्याएको छ भने जसपाले १३ हजार ६ सय १४ मत ल्याएको छ। नेपाली कांग्रेसले १२ हजार ८ सय ६ मत ल्याउँदा माओवादी केन्द्रले ११ हजार ६ सय ८६ मत पाएको छ भने जनमत पार्टीले ६ हजार १ सय ४२ मत ल्याएको छ भने एकीकृत समाजवादीले ३ हजार ६ सय मत पाएको छ।
धनुषाका चारै ओटा क्षेत्रमा कांग्रेस अगाडि छ। जबकी २०७४ को निर्वाचनमा उसले कुनै पनि क्षेत्र जित्न सकेको थिएन।
महोत्तरीका चार क्षेत्रमा भने फरक-फरक दलको अग्रता छ। माओवादी केन्द्रले क्षेत्र नं १ मा अग्रता लिएको छ। यो माओवादी नेता गिरिराजमणि पोखरेलको क्षेत्र हो। महोत्तरी क्षेत्र नं २ मा लोसपाको मत धेरै छ। यो लोसपा नेता शरतसिंह भण्डारीको क्षेत्र हो। यद्यपि लोसपा सत्ता गठबन्धनमा रहेन भने उसलाई यो क्षेत्रसमेत जित्न कठिन हुन्छ।
महोत्तरी क्षेत्र नं २ मा लोसपाले १७ हजार ५ सय ७७ मत पाएको छ। नेपाली कांग्रेसले १६ हजार ९ सय ३८ मत पाएको छ भने जसपाले ८ हजार ५ सय ५०, एमालेले ७ हजार ५७, माओवादी केन्द्रले ६ हजार ५ सय ६, जनमत पार्टीले ३ हजार ४ सय २५ र एकीकृत समाजवादीले १ हजार ९ सय ९६ मत ल्याएका छन्।
महोत्तरी क्षेत्र नं ३ मा जसपाले धेरै मत ल्याएको छ। यो क्षेत्रमा २०७४ को निर्वाचनमा लोसपा अध्यक्ष महन्थ ठाकुर निर्वाचित भएका थिए।
महोत्तरी क्षेत्र नं ४ मा भने नेपाली कांग्रेसको मत धेरै छ।
सर्लाहीका ४ क्षेत्रमध्ये ३ मा कांग्रेसको मत धेरै छ। सर्लाहीको क्षेत्र नं ३ मा भने एमाले अगाडि छ। कांग्रेस र माओवादीको मत जोड्ने हो भने ऊ धेरै पछि पर्छ।
सर्लाही क्षेत्र नं ३ मा एमालेले २३ हजार ९६ मत ल्याएको छ भने दोस्रोमा रहेको कांग्रेसले २२ हजार ७ सय ६२ र माओवादी केन्द्रले २१ हजार ८६ मत ल्याएको छ। जसपाले १३ हजार ४६, नेकपा एकीकृत समाजवादीले ३ हजार ५ सय ५४ मत ल्याएको छ।
रौतहटका २ क्षेत्रमा कांग्रेस अगाडि छ। १ क्षेत्रमा नेकपा एमाले र १ क्षेत्रमा एकीकृत समाजवादी अगाडि छ। रौतहट क्षेत्र नं ३ मा एमाले अगाडि भए पनि गठबन्धनमा रहेका दलहरूले पाएको मतलाई आधार मान्ने हो भने उसलाई यहाँ पनि कठिन छ।
रौतहट क्षेत्र नं ३ मा एमालेले २१ हजार ७ सय २९ मत ल्याएको छ। दोस्रोमा रहेको नेपाली कांग्रेसले १९ हजार २ सय ४१, एकीकृत समाजवादीले ११ हजार ७ सय ३६, माओवादी केन्द्रले ११ हजार २ सय ७९, जसपाले ९ हजार ४ सय ८३ मत पाएका छन्।
यो क्षेत्रमा २०७४ को निर्वाचनमा तत्कालीन माओवादीबाट प्रभु साह विजयी भएका थिए। उनी अहिले एमालेमा छन्।
बाराका ४ मध्ये २ मा एमाले र २ मा कांग्रेस अगाडि छ। बारा क्षेत्र नं ३ मा एमालेको भन्दा गठबन्धनमा रहेका दलहरूको मत धेरै भए पनि बारा क्षेत्र नं ४ मा भने उसलाई हराउन लोसपा समेत सत्ता गठबन्धनमा आउनुपर्छ।
बारा क्षेत्र नं ३ मा एमालेले २३ हजार ६ सय ५४ मत ल्याएको छ। कांग्रेसले १७ हजार ५ सय ५४,जसपाले ११ हजार २ सय ७९, माओवादी केन्द्रले ८ हजार २ सय ४८, एकीकृत समाजवादीले ३ हजार ३ सय ९५ र लोसपाले २ हजार २ सय ६ मत पाएको छ।
बारा क्षेत्र नं ४ मा एमाले अगाडि छ। उसले २१ हजार १ सय ६७ मत ल्याएको छ। कांग्रेसले १६ हजार ५ सय ८९ र लोसपाले १५ हजार ८० मत ल्याएको छ। माओवादी केन्द्रले ९ हजार ७१, जसपाले ५ हजार ६ सय ९१ र नेकपा एसले ५ हजार १९ मत ल्याएको छ।
यो क्षेत्रमा राप्रपाको मत १ हजार १ सय ५४ मत छ।
पर्साका ४ क्षेत्रमध्ये ३ क्षेत्रमा नेपाली कांग्रेस अगाडि छ। १ क्षेत्रमा जसपा अगाडि छ।