पशुपतिनाथ मन्दिर परिसरको पार्किङ क्षेत्रमा एउटा ठूलो पाल टाँगिएको छ। करिब ८५ जना आठ दिनदेखि त्यही पालमुनि बस्दै आएका छन्।
उनीहरू हरेक दिन बिहान खाना खाएपछि केहीलाई त्यहीँ कुरूवा छाडेर बाँकी सबै निस्किन्छन्।
यो लस्कर गौशालाबाट तीनकुने, बानेश्वर, बिजुलीबजार हुँदै १० बजे माइतीघर मण्डल पुग्छ।
चर्को घामले तातेको पिच सडकमा उनीहरू आफूले ल्याएका कागजात हातहातमा च्यापेर पलेँटी कस्छन्। नाराबाजी गर्दैनन्। चर्को भाषण गरेर सडक थर्काउँदैनन्। बरू आफूआफूमै गुनगुन गर्दै दु:ख साट्छन्।
सिंहदरबारलाई सुनाउन र देखाउन खोजेको दु:ख उनीहरू प्रत्येकको आँखामै झल्किन्छ।
त्यतिले नपुगे उनीहरूले मुठो पारेर च्यापेका कागजपत्र हेरे हुन्छ जसले उनीहरूमाथि भएको अन्यायको साबिती बयान दिन्छ।
अझै नपुगे उनीहरूका गुनगुनमा गौर गरे पुग्छ।
अझै पनि नपुगे उनीहरूले बोकेका फ्लेक्स नियाले हुन्छ जहाँ ब्याजमाथि ब्याज खप्ट्याएर पुस्ता-दरपुस्ता ऋणमा डुबाउने 'सुदखोर साहु' हरूका तस्बिर छापिएका छन्।
यसरी बिहान १० देखि साँझ ५ बजेसम्म सिंहदरबारको ढोकैमा न्यायको दस्तक दिइरहेका उनीहरू नवलपरासी पश्चिमका किसान हुन्।
उनीहरूले सिंहदरबारको ढोका ढक्ढक्याएको सोमबार आठ दिन भयो।
काठमाडौं आउनुअघि उनीहरूले गाउँमै भेला भएर एउटा संघर्ष समिति बनाएका थिए। त्यही समितिमार्फत पाँच हजार रूपैयाँ जम्मा गरे र बस चढेर काठमाडौं आए।
आफूलाई परेको मर्काधरि राम्ररी भन्न नजान्ने यी किसान मिटरब्याजका पीडित हुन्। सुदखोर साहुले छल गरेर आफूहरूलाई सडकमा पुर्याएको उनीहरू बताउँछन्।
तिनैमध्ये एक हुन् बर्दघाट नगरपालिका-१४, गंगाबस्तीका ६५ वर्षीय डम्बरप्रसाद थारू।
साहुको ऋण तिर्दातिर्दा ऋण चाहिँ कहिल्यै चुक्ता नहुने तर भएको जग्गाजमिन जम्मै साहुले हत्याउने नौबत आएपछि आफूहरू न्याय माग्न काठमाडौं आएको उनी बताउँछन्।
'हामीलाई यसै पनि साहुले सडकमा पुर्याइसके। जग्गाजमिन सबै लिइसके। जाने ठाउँ कहीँ छैन। एउटै ठाउँ भनेको काठमाडौं हो। यहाँ त न्याय पाइएला, हाम्रो दु:खमा सरकारको ध्यान जाला भनेर सुनाउन आएका हौं,' माइतीघर मण्डलमा धर्ना दिइरहेका थारूले सोमबार सेतोपाटीसँग भने।
२०७२ सालमा साहुसँग ऋण लिएपछि मिटरब्याजको चक्रव्यूहमा फसेको कथा थारूले सुनाए।
उनका ज्वाइँ शिवकुमार धवलको फर्निचर कारखाना छ। एकदिन उनले 'बुबा अलिकति सिसौ किन्नुछ, १५ लाख रूपैयाँजति चाहियो, १५ दिनमा फिर्ता गर्छु' भनेर भने।
थारूसँग ज्वाइँलाई दिन पैसा थिएन।
उनीसँग २७ कट्ठा ११ धुर जग्गा थियो। त्यही जग्गा बन्धक राखेर १५ लाख झिकौं भन्ने प्रस्ताव ज्वाइँले ल्याए।
जग्गा बन्धक राखेर ऋण लिन सञ्जय यादव र मनोज यादव भन्ने व्यक्तिकहाँ पनि ज्वाइँले नै लगे।
'मेरो हातमा दुई लाख रूपैयाँ पर्यो, बाँकी ज्वाइँले नै लग्यो,' थारूले भने, 'न ऋण चुक्ता भयो न जग्गा फिर्ता पाएँ।'
पछि उनले थाहा पाए, आफूले बन्धक राखेको जग्गा साहुले अर्कैलाई बेचिसकेछन्। जग्गा फिर्ता लिन जाँदा तीन करोड रूपैयाँभन्दा बढी माग गरिएको उनी बताउँछन्।
'सुरूमा एक जनालाई एक करोडमा बेचेछ, उसले अर्कोलाई दुई करोडमा बेच्यो। अहिले ३ करोड ३० लाख देऊ अनि मात्र जग्गा छाड्छु भन्छन्। त्यति पैसा मैले कहाँबाट ल्याउनु?' थारूले भने।
केही उपाय नलागेपछि उनले साहुहरूलाई धम्क्याउन खोजे, 'मैले भनिदिएँ, आज तपाईंहरूले मेरो जग्गा खाइदिनुभयो। यसै पनि म बाटोमा आएको छु। छोराछोरी नंग्याएकै छु। अरू ठाउँमा एक धुर जग्गा छैन। त्यसैले मरेतुल्य नै छु। अबदेखि मेरो खेतदैलोमा टेक्न आउनुभयो भने खैर छैन। भोकभोकै मर्नुभन्दा बरू जेल जान तयार छु। जेलमा बरू ढुक्कसँग एक छाक खान पाइएला!'
उनको यस्तो धम्कीले साहुहरू के डराउनु!
डम्बरप्रसाद आफ्नो मर्का लिएर वडा कार्यालय, नगरपालिका र प्रहरी चौकीसम्म पुगे। कहीँबाट कुनै उपाय निस्केन।
बन्धक राखेको जग्गा उनको आफ्नो नाममा थिएन, बुवाको नाममा थियो जसको दुई वर्षअघि नै मृत्यु भयो।
'सुकुम्बासीलाई बाँड्दा पाएको जग्गा छोराहरूले गुमाए भन्ने टेन्सनले नै बुवा बित्नुभयो,' थारूले भने, 'यही टेन्सनले मेरो पनि ज्यान जालाजस्तो छ।'
उनले अगाडि भने, 'एउटा अड्डाले अर्कोमा धपाउँछ, अर्कोले अर्कोमा। सबैतिरबाट लखेटिएपछि काठमाडौं आइपुगेको छु। काठमाडौंले पनि धपाए कहाँ जाने होला?'
थारूको कथा सुन्दा उनको जग्गा बन्धक राखेर मिटरब्याजको चक्रव्यूहमा फसाउने र पैसा हत्याउने काम उनकै ज्वाइँ शिवकुमारले गरेको बुझिन्छ।
माइतीघर मण्डलमा जम्मा भएको समूहमा शिवकुमारबाट पीडित डम्बर एक्ला छैनन्।
बर्दघाट नगरपालिका-१४, गंगाबस्तीकै टीकाप्रसाद दमाई पनि शिवकुमारले मिटरब्याजमा फसाएको बताउँछन्।
उनले पाँच वर्षअघि छोराहरूलाई विदेश पठाउन शिवकुमारसँग साढे दुई लाख ऋण लिएका थिए। यसबापत साढे १४ कट्ठा जग्गा बन्धक राखे।
खासमा उनी ऋण लिन बैंक गएका थिए। बैंकले पाँच लाख घटी ऋण दिन नमानेपछि मिटरब्याजको फन्दामा परे।
'बैंकले पाँच लाख घटी दिन्न भन्यो। आफूलाई चाहिएको छ साढे दुई लाख, बिनासित्ति डबल पैसा किन लिनू!' उनले भने, 'के गर्ने, कसो गर्ने अलमलमै थिएँ। गाउँका साथीहरूले शिवकुमारकहाँ जान सल्लाह दिए।'
शिवकुमारले जग्गा बन्धकीको एकवर्षे कागज बनाएर साढे दुई लाख दिए, उनले भने, 'मलाई कागजमा के लेखेको छ केही थाहा थिएन। उसले जहाँ जहाँ भन्यो, त्यहीँ त्यहीँ ल्याप्चे लगाइदिएँ।'
पाँच महिनापछि उनी ऋण तिर्न शिवकुमारकहाँ गए। ब्याजसहित तीन लाख पुग्यो होला भन्ने उनको मोटामोटी हिसाब थियो। तर पटकपटक कोसिस गर्दा पनि शिवकुमारसँग भेट हुन सकेन।
पछि थाहा पाए, शिवकुमारले झुक्याएर ११ लाख रूपैयाँको कागज बनाएका रहेछन्।
'त्यत्रो पैसा कसरी तिर्नू?' उनले भने, 'मेरो पुर्ख्यौली जायजेथा जम्मै खाइदियो।'
टीकाप्रसाद जिल्ला प्रहरी कार्यालय पनि धाए। सुनुवाइ भएन। उल्टै 'पहिले जग्गा बेचेर खाने अनि भाउ बढेपछि लोभ लागेर दिमाग चाट्न आउने' भन्दै प्रहरीले हप्काएको उनी बताउँछन्।
उनका अनुसार आफूजस्ता पीडितहरू गाउँमा थुप्रै छन्। उनीहरू सबै न्याय खोज्न काठमाडौं आउन चाहन्छन्। यहाँ ठाउँको व्यवस्थापन नभएकाले नआउनू भनिएको छ। कोही भने आफैं काठमाडौं आइपुगेर खबर गर्छन्।
उनीहरू यसरी काठमाडौं धाएको पहिलोपटक होइन। एक वर्षअघि पनि २५ जना मिलेर आएका थिए। दुई साता बस्दा पनि न्याय पाउने आस नभएपछि यसै फर्किए। कतिपय फेरि दोहोर्याएर आएका छन्।
सुस्ता गाउँपालिका-५ का जयप्रकाश कुर्मी तिनैमध्ये एक हुन्।
उनले २०७१ सालमा प्रतापपुरका सुनिल बानियाँ र जगदिश भन्ने उनका साझेदारसँग एक लाख ऋण लिएका थिए। यसबापत चार कट्ठा १५ धुर जग्गा बन्धक राखे।
उनले अहिलेसम्म पटकपटक गरी पाँच लाख तिरिसके। तर न कर्जा चुक्ता भयो, न बन्धक जग्गा फिर्ता पाए।
'आठ लाख देऊ अनि मात्रै जग्गा फुकुवा गर्छु भन्थ्यो। मैले अब दिन सक्दिनँ भनेँ,' जयप्रकाशले भने, 'प्रहरी कार्यालय जाँदा कागजमा लेखेजतिकै पैसा दिनुपर्छ भन्छन्। हाम्रो समस्या सुन्दै सुन्दैनन्।'
माइतीघर मण्डलमा धर्ना बसेका मिटरब्याज पीडितहरूले आफूलाई ऋणमा डुबाउने ६५ जना 'सुदखोर साहु' हरूको नामसूची तयार पारेका छन्। उनीहरू 'न्याय पाए पाइएला, नपाए कम्तिमा ती पीडकहरूको पर्दाफास गर्ने' मनस्थितिमा छन्।
किसान आयोगले उनीहरूमध्ये पाँच जनालाई सोमबार छलफलमा बोलाएको थियो। गृह मन्त्रालयबाट सहसचिव चक्र पाण्डे छलफलमा सहभागी थिए। कुनै ठोस निर्णय भने नभएको अभियन्ता निर्घ नविनले बताए।
'सहसचिवज्यू मिटरब्याज गैरकानुनी हो, प्रमाण भए अदालती प्रक्रियामा जानुपर्यो भन्नुहुन्छ। हाम्रो समस्या कसरी हल गर्ने भनेर ठोस कुरा केही भएन,' उनले भने, 'जिल्ला प्रशासनमै गएर आफ्नो समस्या सुनाउनूस् भन्नुहुन्छ।'
उनले अगाडि भने, 'जिल्लाले हाम्रो कुरा सुनेको भए किन काठमाडौं आइरहनुपर्थ्यो र?'
सबै तस्बिर: नवीनबाबु गुरूङ/सेतोपाटी
भिडिओ: सुसन चौधरी/सेतोपाटी