निर्वाचनको घोषणासँगै मतको जोडघटाउ सुरू भएको छ। सत्ता गठबन्धन सबै निर्वाचन क्षेत्रमा सिट बाँडफाँटको काममा जुटेको छ।
सत्तारूढ गठबन्धनका दल मिलेर लड्ने भएपछि वैशाखमा सम्पन्न स्थानीय निर्वाचनको परिणामले धेरै अर्थ राख्नेछ।
२०७४ सालको संसदीय चुनावमा पनि स्थानीय निर्वाचनमा जितेका बहुसंख्यक ठाउँमा एमाले र माओवादी गठबन्धनले प्रतिनिधि सभा सदस्यको चुनाव जितेका थिए।
यसपालिको चुनावमा सत्तारूढ दलहरूबीच कति मत ‘ट्रान्सफर’ हुन्छ हेर्न बाँकी छ। गएको स्थानीय निर्वाचनमा गठबन्धन गरेका अधिकांश स्थानमा सत्तारूढ दलहरूले जितेकाले मत ‘ट्रान्सफर’ हुने संकेत गर्छ।
हामीले मुलुककै सबैभन्दा धेरै १० वटा निर्वाचन क्षेत्र भएको जिल्ला काठमाडौंको मतको विश्लेषण गरेका छौं। यहाँ सत्तारूढ गठबन्धनले कसरी सिट बाँडफाँट गर्लान् त्यसको पनि विश्लेषण गरेका छौं।
२०७४ को निर्वाचनमा काठमाडौंका १० निर्वाचन क्षेत्रमध्ये ६ ठाउँमा एमाले विजयी भएको थियो। तत्कालीन एमाले र नेकपा माओवादी केन्द्रले वाम गठबन्धन गरेर निर्वाचनको माहौल आफ्नो पक्षमा पारेका थिए। काठमाडौंमा माओवादी उम्मेदवार भने सबै क्षेत्रमा पराजित भएका थिए। माओवादीको भागमा परेका क्षेत्र १, ६ र १० तीनै वटामा माओवादी पराजित भएको थियो भने काठमाडौंमा ४ मा गठबन्धनका बाबजुद् एमाले पराजित भएको थियो। एमालेले क्षेत्र नं २, ३, ५, ७, ८ र ९ मा फराकिलो अन्तरले कांग्रेसलाई हराएको थियो। यो बीचमा नेकपा विभाजन भएर एमाले र माओवादी केन्द्र अलग भएका छन्। एमालेबाट २४ सांसदसहित माधवकुमार नेपाल र झलनाथ खनाल समूह पनि अलग भएको छ।
२०७९ वैशाखमा भएको स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने काठमाडौंमा कांग्रेस र एमाले नै मुख्य प्रतिस्पर्धी हुन्। नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीको मत निकै कम छ। यी दुई पार्टीकै हाराहारीमा राप्रपासमेत छ भने उसले कतिपय क्षेत्रमा यी दुई पार्टीलाई जितेको छ।
स्थानीय तहको निर्वाचनमा काठमाडौंका १० क्षेत्रमा पर्ने सबै वडाहरूमा आएको मतको विश्लषण गर्दा नेपाली कांग्रेस एक्लै ७ स्थानमा बलियो देखिएको छ। उसले क्षेत्र नै १, ३, ६, ७, ८, ९ र १० मा एमालेलाई पछि पारेको छ। क्षेत्र नं २, ४ र ५ मा एमाले अगाडि छ।
काठमाडौं क्षेत्र नं १ मा वडागत मतलाई आधार मान्ने हो भने नेपाली काग्रेस एमाले भन्दा थोरै मतले अघि छ। यो निर्वाचन क्षेत्रमा महानगरका जम्मा ४ वटा वडा पर्छन्। कांग्रेसका वडा अध्यक्षहरूले यहाँ ९ हजार ८ सय ९५ मत पाएका छन् भने एमालेका वडा अध्यक्षहरूले ९ हजार ५ सय ४१ मत पाएका छन्। त्यस्तै माओवादीका उम्मेदवारहरूले यी वडामा १ हजार १ सय ७७ मत पाएका छन्। यो क्षेत्रमा काठमाडौं महानगरपालिकाका वडा नं १०,११,२९ र ३१पर्छन्।
यो क्षेत्रमा २०७४ मा नेपाली कांग्रेसका प्रकाशमानसिंह विजयी भएका थिए। उनले यहाँ १० हजार ९ सय ३६ मत पाएका थिए। उनले विवेकशील साझाका रवीन्द्र मिश्रलाई हराएका थिए। उनी यो क्षेत्रमा २०६४ सालदेखि विजयी हुँदै आएका छन्।
काठमाडौं क्षेत्र नं २ मा भने कांग्रेसभन्दा एमाले अगाडि छ*। यस क्षेत्रमा काठमाडौं महानगरका वडा नं ९ र ३२ वडा पर्छन्। कागेश्वरी मनोहरा नगरपालिकाका वडा नं ४, ५, ६, ७, ८ र ९ अनि शंखरापुर नगरपालिका पर्छ।
स्थानीय तहको निर्वाचनमा एमालेले यो क्षेत्रमा पर्ने वडाहरूमा १७ हजार ३ सय २५ मत पाएको छ भने कांग्रेसले १४ हजार १ सय २८ मत पाएको छ। यो क्षेत्रमा एकीकृत समाजवादीले ८ हजार ७४ मत पाएको छ। त्यस्तै राप्रपाले ७ हजार २ सय र माओवादी केन्द्रले ३ हजार १ सय ३१ मत पाएको छ।
यो क्षेत्रमा तत्कालीन वाम गठबन्धनका तर्फबाट एमाले उम्मेदवार माधवकुमार नेपालले २७ हजार ३ सय ६६ मत पाएका थिए। कांग्रेसका दीपक कुइँकेलले १४ हजार ९ सय ३ मत ल्याएका थिए। यसपालि माधव नेपाल काठमाडौं-२ बाट उठ्ने /नउठ्ने टुंगो छैन। उनी गृह जिल्ला रौतहटबाट उठ्ने धेरै सम्भावना छ। रौतहटमा उनको निर्वाचन क्षेत्रमा एकीकृत समाजवादीले सबैभन्दा धैरै मत ल्याएको छ। नेपाल रौतहटमा उठेको खण्डमा काठमाडौं-२ बाट एकीकृत समाजवादीकी नेता रामकुमारी झाक्री उठ्ने सम्भावना छ। उनले सेतोपाटीसँगको अन्तर्वार्तामा गुल्मी वा काठमाडौं मध्ये १ ठाउँबाट निर्वाचन लड्ने बताएकी छन्। काठमाडौंमा एकीकृत समाजवादी सबैभन्दा बलियो भएको निर्वाचन क्षेत्र नम्बर-२ नै हो।
काठमाडौं क्षेत्र नं ३ मा काठमाडौं महानगरको वडा नं ६ का साथै गोकर्णेश्वर र कागेश्वरी नगरपालिकाका १,२ र ३ नं वडा पर्छन्।
यो क्षेत्रमा पर्ने वडाहरूमा आएको मतलाई आधार मान्ने हो भने नेपाली कांग्रेसको मत धेरै छ। उसले १५ हजार ७ सय ९५ मत ल्याएको छ भने एमालेले १४ हजार ८ सय ७६ मत ल्याएको छ। माओवादी केन्द्रको १ हजार ७ सय ३०, एकीकृत समाजवादीको १ हजार ५६ र राप्रपाको १ हजार ५ सय १४ मत छ। २०७४ मा यो क्षेत्रमा वाम गठबन्धनका तर्फबाट उम्मेदवार बनेका एमालेका कृष्णबहादुर राईले १९ हजार १ सय ६९ मत पाएका थिए भने कांग्रेसकी अम्बिका बस्नेतले १४ हजार ८ सय ८४ मत ल्याएकी थिइन्।
काठमाडौं क्षेत्र नं ४ मा स्थानीय तहको मतलाई आधार मान्ने हो भने नेकपा एमाले थोरै मतले अगाडि छ। उसले १६ हजार ५ सय ७ मत पाएको छ भने कांग्रेसले १५ हजार ७ सय ६३ मत पाएको छ। अर्थात् कांग्रेस ७४४ मतले पछि छ।
तेस्रोमा रहेको एकीकृत समाजवादीले २ हजार ४ सय ४४ मत ल्याएको छ भने राप्रपाले २ हजार २ सय ७२ मत ल्याएको छ। माओवादी केन्द्रले ८ सय ४४ मत मात्रै पाएको छ।
यो क्षेत्र नेपाली कांग्रेसका महामन्त्री गगन थापाको हो। याे क्षेत्रमा परम्परागत रूपले एमाले बलियो रहेको भए पनि थापाले व्यक्तिगत प्रभावका आधारमा मत तानेर निर्वाचन जित्ने गर्छन्। २०७० र २०७४ मा उनले यही क्षेत्रबाट चुनाव जितेका हुन्। २०७४ को निर्वाचनमा उनले २१ हजार ५ सय ५८ मत ल्याएका थिए। वाम गठबन्धनका तर्फबाट एमालेका राजन भट्टराईले १८ हजार १ सय ४० मत पाएका थिए। यो क्षेत्रमा काठमाडौं महानगरका १, ७, ८ र ३० वडा पर्छन्। बुढानिलकण्ठ नगरपालिकाका १, २, ८, ९, १०, ११, १२ र १३ वडा पनि यही क्षेत्रमा रहेका छन्।
काठमाडौं क्षेत्र नं ५ मा २०७४ को निर्वाचनमा नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल निर्वाचित भएका हुन्। पोखरेलले २३ हजार २९ मत ल्याएका थिए। नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतलाई पराजित भएका थिए। उनले १३ हजार १ सय ६९ मत मात्र ल्याएका थिए। २०६४ र २०७० मा भने नेपाली कांग्रेसका नरहरि आचार्यले पोखरेललाई हराएका थिए।
स्थानीय तहको निर्वाचनलाई आधार मान्ने हो भने यो क्षेत्रमा पनि एमाले अगाडि छ। एमालेले स्थानीय तह चुनावमा १९ हजार ७ सय ५ पाएको छ भने नेपाली कांग्रेसले १४ हजार ८ सय ५२ पाएको छ । राप्रपाको २ हजार ९ सय २ मत छ भने एकीकृत समाजवादीको १ हजार ८ सय २७ र नेकपा माओवादी केन्द्रको १ हजार १ सय ६८ रहेको छ।
यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरका १, २, ३, ४ र ५ वडा पर्छन् भने बुढानिलकण्ठ नगरपालिकाका ३, ४, ५, ६ र ७ वडा पर्छन्। टोखा नगरपालिकाका २, ३, ४, ५, ६ र ७ वडा पनि यही निर्वाचन क्षेत्रमा छन्।
काठमाडौं क्षेत्र नं ६ मा कांग्रेस अगाडि छ। स्थानीय तहमा नेपाली कांग्रेसले १६ हजार ४ सय ७९ मत पाएको छ। नेकपा एमालेले १३ हजार ४ सय ४५ मत ल्याएको छ। माओवादी केन्द्रले २ हजार ३ सय ३९, एकीकृत समाजवादीले १ हजार ७ सय ५२, राप्रपाले १ हजार ७ सय ४६ मत ल्याएको छ। यो क्षेत्रमा काठमाडौं महानगरका २६,२७,२८ वडा पर्छन्। तारकेश्वर नगरपालिकाको १, २, ६, ७, ८, ९, १० र ११ नं वडा पर्छन्। त्यस्तै टोखा नगरपालिकाको १, ८, ९, १० र ११ नं वडा पर्छन्। यो क्षेत्रमा कांग्रेसका भीमसेनदास प्रधानले २०७४ को निर्वाचनमा १६ हजार ७ सय ८५ मत ल्याएका थिए। वाम गठबन्धनका तर्फबाट माओवादी केन्द्रका झक्कुप्रसाद सुवेदीले १५ हजार ४ सय ८५ मत ल्याएका थिए।
काठमाडौं क्षेत्र नं ७ मा पनि कांग्रेस नै अगाडि छ। स्थानीय तहमा यस क्षेत्रका वडाहरूको मत जोड्दा उसले १४ हजार १ सय ६७ मत पाएको छ। एमालेले १२ हजार २ सय २ मत ल्याएको छ। तेस्रोमा रहेको एकीकृत समाजवादीले ३ हजार ८ सय ३९ मत ल्याएको छ। राप्रपाले २ हजार २७ र माओवादी केन्द्रले ५ सय ७६ मत ल्याएको छ। यो क्षेत्रमा काठमाडौं महानगरका वडा नं १६, १७, १८ र २५ नं वडा पर्छन्। नागार्जुन नगरपालिकाको १,२ र ३ नं वडा पर्छन्। त्यस्तै तारकेश्वर नगरपालिकाको वडा नं ३, ४ र ५ पर्छन्। यो क्षेत्रमा एमालेका रामवीर मानन्धर विजयी भएका थिए। उनले १८ हजार १ सय २ मत ल्याउँदा राप्रपा उम्मेदवार विक्रमबहादुर थापाले १० हजार ७९ मत ल्याएका थिए। यो क्षेत्रमा कांग्रेसले राप्रपालाई सघाएको थियो।
काठमाडौं क्षेत्र नं ८ मा पनि नेपाली कांग्रेस नै अघि छ। उसले यहाँ १० हजार ८ सय ७२ मत ल्याएको छ। यस क्षेत्रमा पर्ने वडाहरूमा एमालेले ९ हजार २ सय ५३ मत पाएको छ। नेकपा एकीकृत समाजवादीले ५ हजार १ सय ४२ मत ल्याएको छ। राप्रपाले ३ हजार १ सय ६० र माओवादी केन्द्रले १ सय ८९ मत पाएको छ। यो क्षेत्रमा काठमाडौंको वडा नं १३, १५, १९, २०, २३ र २४ नं वडा पर्छन्। नागार्जुन नगरपालिकाको वडा नं ४ र ५ पर्छन्। यो क्षेत्रमा तत्कालीन एमालेका तर्फबाट जीवनराम श्रेष्ठले १३ हजार ३ सय ९७ मत ल्याएर जितेका थिए। कांग्रेसका स्वर्गीय नेता नवीन्द्रराज जोशीले १२ हजार ९ सय ५३ मत ल्याएका थिए।
काठमाडौं क्षेत्र नं ९ का स्थानीय तहमा पर्ने वडाहरूमा कांग्रेसले १९ हजार ९ सय १६ मत ल्याएको छ भने एमालेले १९ हजार २ सय ८२ ल्याएको छ। राप्रपाले २ हजार २ सय १ मत छ। नेकपा माओवादी केन्द्रले ६ सय ९५ र नेकपा एकीकृत समाजवादीले ४ सय ६५ मत ल्याएका छन्।
यो क्षेत्रमा काठमाडौं महानगरपालिकाको १२, १४, २१ र २२ नं वडा पर्छन् भने चन्द्रागिरी नगरपालिकाको वडा नं १, १२, १३, १४ र १५ पर्छन् भने नागार्जुन नगरपालिकाको वडा नं ६, ७, ८, ९ र १० पर्छन्। यो क्षेत्रमा एमालेका कृष्णगोपाल श्रेष्ठले २२ हजार ८ सय ५२ मत ल्याएका थिए। कांग्रेसका ध्यानगोविन्द रन्जितले १४ हजार ८ सय २ मत ल्याएका थिए।
काठमाडौं क्षेत्र नं १० मा पर्ने स्थानीय तहका वडाहरूको मतलाई आधार मान्दा नेपाली कांग्रेस एमालेभन्दा धेरै अगाडि छ। कांग्रेसले २४ हजार ६ सय ७५ मत ल्याएको छ भने एमालेले जम्मा १८ हजार ८ सय ३८ मत ल्याएको छ। त्यस्तै माओवादी केन्द्रले ४ हजार ९ सय ४२, राप्रपाले २ हजार ४ सय ९६ र एकीकृत समाजवादीले १ हजार ३ सय ४२ मत ल्याएको छ। यो क्षेत्रमा चन्द्रागिरी नगरपालिकाका २ देखि ११नम्बरसम्मका वडा, कीर्तिपुर र दक्षिणकाली नगरपालिका पर्छन्। यो क्षेत्रमा नेपाली कांग्रेसका राजेन्द्र केसीले २४ हजार १ सय ९० मत ल्याएका थिए। दोस्रोमा रहेका तत्कालीन वाम गठबन्धनका माओवादी उम्मेदवार हितमान शाक्यले २१ हजार ९ सय ७ मत ल्याएका थिए।
काठमाडौंमा सत्तारूढ गठबन्धनबीच कसरी निर्वाचन क्षेत्र बाँडफाँट होला? काठमाडौंमा सत्तारूढ गठबन्धनका तीन प्रमुख साझेदार नेपाली कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीमध्ये कांग्रेसको ठूलो दबदबा देखिन्छ। एक महानगर र १० नगर भएको काठमाडौंमा कांग्रेसले ७ नगर जितेको छ। एमालेले २, राप्रपाले एक र महानगरमा स्वतन्त्र उम्मेदवार बालेन शाहले जितेका छन्।
काठमाडौ-१० मा बाहेक कुनै पनि निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले दुई हजार मत पुर्याएको छैन। त्यसैले माओवादीलाई गठबन्धनका अरू दलले छाडिदिए पनि कुनै क्षेत्रमा पनि जित्ने सम्भावना लगभग छैन। एकीकृत समाजवादीको क्षेत्र नम्बर २ र ८ मा केही मत छ। क्षेत्र नम्बर ८ बाट निर्वाचित सांसद जीवनराम श्रेष्ठ एकीकृत समाजवादीमा रहेकाले सो क्षेत्रबाट उनको दाबी बलियो हुनेछ।
त्यस्तै क्षेत्र नम्बर २ बाट माधवकुमार नेपाल उठे भने कांग्रेसले पक्कै छाड्ने छ। उनको निर्वाचन क्षेत्रमा रामकुमारी झाक्री उठ्ने भइन् भने पनि कांग्रेसलाई सो क्षेत्र छाड्ने दबाब हुनेछ। एमाले यहाँ बलियो भएका कारण पनि यो क्षेत्र छाड्न कांग्रेसलाई पनि गाह्रो हुने छैन।
*यसअघि अन्यथा परेकाले सम्पादन गरिएको।