पूर्वअर्थमन्त्री जनार्दन शर्मामाथि छानबिन गर्न बनेको संसदीय विशेष समितिले आफ्नो सोधपुछ र छानबिन सकेको छ।
समितिका सचिव सुरेन्द्र अर्यालले मंगलबार साँझ अब भोलिदेखि प्रतिवेदन लेखनको काम सुरू हुने जानकारी दिए।
सिसिटिभीमा फुटेजबाट बजेट सार्वजनिक हुने अघिल्लो दिन अनधिकृत व्यक्ति अर्थ मन्त्रालय गए/नगएको निश्चित नभएपछि समिति प्रतिवेदन लेखनको तयारीमा लागेको हो।
‘भोलि ११ बजे समिति बैठक बस्छ। प्रतिवेदन लेखनका क्रममा केही छलफल हुन सक्छ। अनुसन्धान र सोधपुछ अब सकियो,’ सचिव अर्यालले भने।
यसअघि समितिले अर्थ मन्त्रालयका कर्मचारी, अर्थ सचिव र पूर्वमन्त्री शर्मालगायत व्यक्तिसँग सोधपुछ गरेको थियो।
जेठ १४ गतेको सिसिटिभी फुटेज माग्दा अर्थले १३ दिनको मात्रै स्टोरेज क्षमता भएकाले त्यो दिनको भिडिओ नभएको जवाफ दिएको थियो।
समितिले मन्त्रालयको सिसिटिभीको रेकर्ड नेपाल प्रहरीको विधि विज्ञान प्रयोगशालामा दिएको थियो।
प्रयोगशालाले रिकभर गरेर दिएको विवरणमा भिडिओ प्रष्ट देखिएको थिएन। सिसिटिभी फुटेज प्रष्ट नभएपछि समितिले फरेन्सिक विज्ञसँग मंगलबार सोधपुछ गरेको थियो।
समिति सदस्यहरूले भिडिओको गुणस्तर किन कमजोर भएको हो? मिति पनि प्रष्ट नहुनुको कारण के हो? भनेर सोधेका थिए।
समितिमा आएका दुई जना विज्ञहरूले धेरै डिभाइसमा ट्रान्सफर गरेर चेक गर्दा फुटेजको गुणस्तर घटेको जवाफ दिएका थिए।
विज्ञहरूले यस्तो जवाफ दिएपछि समिति प्रतिवेदन लेखनमा लागेको हो।
यसअघि प्रयोगशालाले बुझाएको सिसिटिभी फुटेजको विवरण मंगलबार बिहान खोलिएको थियो। बजेट सार्वजनिक हुनु अघिल्लो दिन तत्कालीन अर्थमन्त्री जनार्दन शर्माले अनधिकृत व्यक्तिलाई प्रवेश गराएर राजश्वको दर हेरफेर गरेको आरोप लागेको छ। साउन ५ मा समिति समक्ष बयान दिँदै उनले उक्त आरोप अस्वीकार गरेका छन्।
उनले आफ्नो विश्वास नभए कार्यस्थलमा रहेका सुरक्षाकर्मी र मर्यादापालकसँग सोधपुछ गर्न समितिलाई सुझाएका थिए। यस्तै सिसिटिभीबारे आफूलाई जानकारी नहुने भन्दै विज्ञहरूसँग परामर्श गर्न भनेका थिए।