प्रधानमन्त्री शेरबहादुर देउवाका नातेदार दीपेन्द्र कुँवर सशस्त्र प्रहरी बलको प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी)को बढुवामा आफ्नो ब्याचको पहिलो नम्बरमा हुने गरी सिफारिस गरिएको छ।
कुँवर प्रधानमन्त्री देउवाका स्वकीय सचिव भानु देउवाका बहिनी ज्वाइँ हुन्। भानु देउवा प्रधानमन्त्री देउवाका भतिजा हुन्।
शुक्रबार बसेको बढुवा समितिको बैठकले १४ जनालाई प्रहरी उपरीक्षक (एसपी)बाट प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा गर्ने निर्णय गर्यो। जसमा पहिलो नम्बरमा प्रवीण कँडेल सिफारिस भएका छन्।
उनी नेपाल प्रहरीबाट सशस्त्रमा आएका अधिकृत हुन्। उनीपछि दीपेन्द्र कुँवर बढुवाका लागि सिफारिस भएका छन्।
कुँवर दोस्रो नम्बरमा बढुवा सिफारिस भए पनि आफ्ना ब्याचीहरूमा भने पहिलो नम्बरमा परेका छन्।
प्रधानमन्त्रीका नातेदार भएकै कारण कुँवर पहिलो नम्बरमा बढुवा सिफारिस भएपछि सशस्त्र प्रहरीमा तीव्र असन्तुष्टि देखिएको छ।
सशस्त्र प्रहरी स्रोतका अनुसार कुँवरलाई बढुवा गर्नैका लागि सरकारले सशस्त्र प्रहरी नियमावली २०७२ नै संशोधन गरेको थियो।
नियमावलीको नियम ४० मा बढुवाको लागि उम्मेदवार हुन चाहिने सेवा अवधिबारे उल्लेख गरिएको छ।
त्यसमा भनिएको छ, 'सशस्त्र प्रहरी सेवामा बढुवाको लागि सम्भाव्य उम्मेदवार हुन बढुवा हुने श्रेणी वा तह भन्दा एक श्रेणी वा तह मुनिको पदमा चार वर्ष सेवा अवधि पूरा भएको हुनुपर्नेछ।'
कुँवरलाई बढुवा गर्नकै लागि सरकारले नियमावली संशोधन गरेर चार वर्ष सेवा अवधि पूरा भएको हुनु पर्नेलाई तीन वर्षमात्रै भए पुग्ने बनाएको हो।
गत असार २३ गते नियमावली संशोधन गरिएको थियो। नियमावली संशोधन नगरेको भए कुँवर अहिले नै बढुवा हुन योग्य नै हुने थिएनन्।
उनी एसपी भएको आउने चैतमा मात्रै चार वर्ष पुग्नेछ।
'भानु देउवाका बहिनी ज्वाइँ भएका कारण उनलाई अगाडि ल्याउन सरकारले बीचमा नियमावलीलाई संशोधन गर्यो,' स्रोतले भन्यो, 'संशोधन गर्नबित्तिकै नियमावली कार्यान्वयन भइहाल्यो। यसले सशस्त्रमा राजनीति एकदमै धेरै हाबी भएको देखायो। यहाँको विधि, चेन अफ कमान्ड सबै भत्किने डर भयो।'
कुँवर २०५९* चैत ७ गते सशस्त्र प्रहरी निरीक्षकबाट सेवा प्रवेश गरेका थिए। त्यतिबेला उनी ७४ जना ब्याचीमध्ये सबैभन्दा पुछारतिर थिए। त्यतिबेला पहिलो नम्बरमा रहेका विष्णुप्रसाद भट्ट अहिले कुँवरभन्दा पछिल्लो नम्बरमा बढुवा सिफारिस भएका छन्।
प्रहरी नायब उपरीक्षक (डिएसपी)बाट एसपी हुँदा भने कुँवर आफ्नो ब्याचको १०औं नम्बरमा आएका थिए।
'भर्ना हुँदा अन्तिमतिर थिए। पछि पदसँगै छलाङ मारेर पहिलो नम्बरमा पुगेका हुन्,' स्रोतले भन्यो।
कुँवरका सजिलो हुने गरी सरकारले गरेको यो पहिलो निर्णय होइन। उनकै लागि भनेर कायममुकायम एसएसपीको सूची निकाल्ने कुरा पनि लामो समय रोकिएको स्रोतको दाबी छ।
एसपीबाट एसएसपी हुन चार वर्षको अवधि पूरा गरेको हुनुपर्ने भए पनि सशस्त्र प्रहरीमा एसएसपीको पद रिक्त भए वरिष्ठ एसपीहरूलाई नै कायममुकायम एसएसपीको दर्जा दिने चलन छ।
२०७७ माघमा सशस्त्र प्रहरीमा एसएसपीका आठ पद रिक्त भएका थिए। तर सरकारले कसैलाई कामु दिएन। जब ११ औं नम्बरसम्म पद खाली भयो तबमात्रै गत मंसिरमा कुँवर समेतलाई समेटेर कामु बनाइयो।
'आठ वटा जति पद खाली हुञ्जेल झन्डै एक वर्षसम्म कसैलाई कामु एसएसपीको जिम्मेवारी दिइएन। गत मंसिरमा जब ११औं नम्बरसम्म खाली भयो तत्कालै कामु दिइयो,' स्रोतले भन्यो।
अहिले सशस्त्र प्रहरीमा तीन वटा प्रहरी नायब महानिरीक्षक (डिआइजी)को पद रिक्त छन्।
नियमावलीको नियम (४०) को उपनियम (२) अनुसार डिआइजी र सोभन्दा माथिल्लो पदमा बढुवा हुन न्यूनतम सेवा अवधिको हद लाग्ने छैन।
यसको अर्थ एसएसपीमा बढुवा भएसँगै कुँवर सोझै डिआइजीका लागि दाबेदार हुने स्रोतको भनाइ छ।
सशस्त्रमा डिआइजीमा बढुवा हुन स्टाफ कलेज पास गर्नुपर्छ। कुँवर स्टाफ कलेजको प्रवेश परीक्षामै दुई पटकसम्म फेल भएका थिए।
'दुई पटकसम्म पनि फेल भएपछि उनलाई बिनाप्रतिष्पर्धा नै शिवपुरीमा हुने स्टाफ कलेजको कोर्सका लागि पठाइएको थियो। माथिल्लो निकायमा इच्छा व्यक्त गरेपछि त्यसअनुसार नै सहभागी गराइएको हो,' स्रोतले भन्यो।
प्रधानमन्त्री देउवाको नातेदार भएकै कारण सशस्त्र प्रहरीको बढुवामा उनले मारेको छलाङबारे हामीले कुँवरसँग पनि कुरा गरेका छौं।
फोन गर्नबित्तिकै उनलाई सोध्यौं- तपाईं भानु देउवाका ज्वाइँ हो कि होइन?
उनले उल्टो प्रश्न गरे- को बोल्नुभएको तपाईं? सेतोपाटीबाट बोलेको भन्नेबित्तिकै उनले के थियो भनेर प्रश्न गरे।
फेरि उही प्रश्न दोहोर्याएपछि भने उनले केही बोलेनन्। फोन काटिदिए।
फोन काटेको दुई मिनेटपछि उनले फेरि फोन गरे र भने- हो, म उहाँको ज्वाइँ हो।
प्रधानमन्त्रीको नातेदार भएकै कारण तपाईंले बढुवामा छलाङ मार्नुभयो नि भन्ने प्रश्नमा उनले यो आफूले गर्ने कुरा नभएको बताए।
‘मैले गर्ने कुरा होइन। विभागले गर्ने हो,’ उनले भने, ‘यस विषयमा प्रवक्तालाई सोध्नुस्।’
*यसअघि अन्यथा पर्न गएकोमा सच्याइएको छ