नेकपा एमालेका उपमहासचिव प्रदीपकुमार ज्ञवालीले तीनथरी गठबन्धनका कारण मुलुक कमजोर बन्दै गएको बताएका छन्।
प्रेस चौतारी नेपाल रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ज्ञवालीले राजनितिमा सत्ता गठबन्धन, अर्थतन्त्रमा वित्तिय गठबन्धन र देशविरूद्ध बाह्य शक्तिसँगको गठबन्धनले मुलुकलाई कमजोर बनाउँदै लगेको दावी गरे।
सरकार सत्ता टिकाउन र भारतसँग कम्फर्टेबल बन्नको लागि विचलनको बाटोमा हिँडिरहेको उल्लेख गर्दै विदेशीको रोहबरमा सत्ता साझेदारीको बार्गेनिङ गर्नु राष्ट्र र राष्ट्रियतामाथिकै बेइमानी रहेको बताए।
‘सरकार एकपछि अर्को गर्दै विचलनको बाटोमा हिँडिरहेको छ, हुँदाहुँदा सत्ता साझेदारीको बार्गेनिङपनि विदेशीको रोहबरमा विदेशीको आँगनमै हुनुले नेपाललाई कमजोर बनाउने काम भइरहेको छ।’ उनले भने।
नेता ज्ञवालीले सरकारले राजनितिक दलहरूका बीचमा सहमती र सहकार्य भन्दापनि निषेधको राजनिति गर्दै आएको र संसदमा प्राप्त अधिकारको चरम दुरूपयोग गर्दै संवैधानिक निकायमाथि निरन्तर प्रहार गर्दै आएको बताए।
‘अरूको दल फुटाउन जसरी रातारात अध्यादेश ल्याउने र रातारात अध्यादेश फिर्ता गर्ने काम गरियो यसले संविधानको चीरहरण भएको छ,’ उनले भने।
उनले सत्ता साझेदार दलका नेता र सरकारको कार्यशैली मुलुकको हितमा नभएको र संसदबाट पास गरिएको नागरिकता विधेयक पनि त्रुटीपूर्ण रहेको टिप्पणी गरे।
‘नेपालमा जन्मिएका नेपाली नागरिक र यसअघि नेपाली नागरिकता लिएका आमाबाबुका सन्तानले विना कुनै सन्देह नागरिकता पाउनुपर्छ यसमा हाम्रो समर्थन छ, तर वैवाहिक अंगिकृतको हकमा जसरी सिउँदोमा सिन्दुर र हातमा नागरिकता दिने विधेयक पारित गरियो यो मुलुकको हितमा छैन,’ ज्ञवालीले भने।
उनले विवाह गरेको भोलिपल्ट नै नागरिकता दिने गरि विधेयक पारित गरेर नागरिकता जस्तो गम्भीर विषयमा सरकार चुकेको बताए।
‘नेपाली नागरिकसँग विवाह गरेर आउनेहरुको लागि शिक्षा, व्यापार व्यवसाय जस्ता विषयमा ढोका खुल्ला राख्नुपर्छ, तर नागरिकता पाउनको लागि भने केहि निश्चित समय अवधी राखिनुपर्थ्यो।’
नेता ज्ञवालीले गठबन्धनबिना पाइला चाल्न सकिदैन भन्ने हिनताबोध एमालेमा नभएको उल्लेख गर्दै विचार र उद्देश्य मिल्नेहरूसँग भने गठबन्धनको ढोका खुल्ला राखिएको बताए।
‘एमालेले सत्ताको लागि विचार र उद्देश्य नमिल्नेहरुसँग सहकार्य गर्दैन तर, राष्ट्र र राष्ट्रियतालाई बलियो बनाउनुपर्छ भन्नेहरुसँग, लोकतन्त्रको रक्षाको लागि सधै अगाडी उभिनेहरुसँग सहकार्य हुन सक्छ,’ उनले भने।
ज्ञवालीले सत्ता नै अन्तिम शर्त हो भन्नेहरूसँग एमालेले सहकार्य नगर्ने दोहोर्याए।