विवादका कारण पटकपटक स्थगित हुँदै आएको तिलोत्तमा नगरपालिकाको १२ औं नगरसभाको पाँचौं बैठक मंगलबार निर्धारित समयमै सुरू भएको छ।
नगरप्रमुख रामकृष्ण खाण र उपप्रमुख जगेश्वरदेवी चौधरीबीच सोमबार साँझ भएको छलफलपछि नगरसभा अगाडि बढाउनेबारे सहमती भएको हो।
प्रमुख र उप प्रमुखबीच नगरसभा अगाडि बढाउने सन्दर्भमा सहमती भएपछि नगरसभा सुरू हुन भएको तिलोत्तमा नगरपालिकाले जनाएको छ। ‘उहाँहरूका बीचमा के कस्तो विषयमा सहमती भयो त्यो थाहा भएन, तर अब नगरसभा अगाडि बढाउने सहमती भएको छ,’ नगरपालिकाका एक अधिकृतले सेतोपाटीसँग भने।
नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि र एमालेबाट निर्वाचित जनप्रतिनिधि बीचको असमझदारी हटाउने, न्यायीक समितिमा नेपाली कांग्रेसबाट एक जना प्रतिनिधि राख्ने र नगरसभाको कार्यसूचीमा विषयगत समिति गठन गर्ने विषय समावेश गर्ने सहमती भएको नगरपालिका निकट स्रोतले बतायो।
यस्तै विवाद सिर्जना गराउने प्रमुख प्रसासकीय अधिकृत जीवन ज्ञवालीको स्थानमा अर्को प्रमुख प्रसासकीय अधिकृत ल्याउने र जनप्रतिनिधिमाथि हातपात गर्ने र पोखरीमा फाल्ने प्रहरी अधिकृतलाई कारवाही प्रकृया अगाडि बढाउने लगायतका सहमति भएको नगरपालिका स्रोतले जानकारी दिएको छ।
यसअघि प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले निभाउँदै आएको नगरसभा सचिवको भूमिकामा मंगलबार भने माधव पोखरेल छन्।
तिलोत्तमा नगरपालिकामा निर्वाचित राजनीतिक दलबीचमा असमझदारी बढ्दै जाँदा स्थिति तनावपूर्ण बनेको थियो।
उपप्रमुख चौधरीलगायत नेकपा एमाले निकट प्रतिनिधिले विषयगत समितिको चयन र बजेट नगरसभामा एकै साथ लैजानुपर्ने अडानमा थिए। नगरप्रमुख खाण लगायत नेपाली कांग्रेसबाट निर्वाचित प्रतिनिधिले न्यायीक समितिमा नेपाली कांग्रेसको प्रतिनिधीत्व सुनिश्चित नभए सम्म बजेट मात्रै पास गर्ने अडानमा थिए।
यसअघि उत्कृष्ट नगरपालिकाको रुपमा नाम कमाएको तिलोत्तमा नगरपालिकामा विवाद बढ्दै जाँदा नगरबासीसमेत निराश छन्।
यो पनि हेर्नुहोस्