रूपन्देहीको तिलोत्तमा नगरपालिकाको १२ ओैं अधिवेशनको चौथो बैठक पनि बजेट पारित नगरि स्थगित भएको छ।
आईतबार दिउँसो १ बजे बसेको नगरसभालाई नगरप्रमुख रामकृष्ण खाणले बैठकको गणपुरक संख्या नपुगेको भन्दै स्थगित गर्ने निर्णय सुनाएका थिए।
बैठकको प्रारम्भमा बैठकमा सहभागी एमालेबाट निर्वाचित जन प्रतिनिधिमध्ये ४२ जनाले हाजिर गरेका थिए भने उपस्थित भए पनि नेपाली कांग्रेसबाट निर्वाचित जनप्रतिनिधि मध्ये नगरप्रमुख खाण बाहेक अरू जनप्रतिनिधिले हाजिर गरेका थिएनन्।
यसअघि शुक्रबार बसेको तेस्रो बैठकमा ८९ जना उपस्थित भए पनि नगरप्रमुख खाण बाहेक ८८ जनाले हस्ताक्षर गरेका थिए।
तर नगरप्रमुख खाणले आफू निकटका ४१ जना जनप्रतिनिधिलाई मात्र फर्जी उपस्थिति पुस्तिकमा हस्ताक्षर गराएर गणपुरक संख्या नपुगेको भन्दै नगरसभा स्थगित गरेको एमालेको आरोप छ।
उपप्रमुख जगेश्वरी चौधरीले सभामा उपस्थित भएका नगरसभा सदस्यलाई षड्यन्त्रपूर्वक उपस्थिति पुस्तिकामा हाजिर गर्न नदिई स्थगित गरेको बताईन्।
एमालेबाट निर्वाचित जनप्रतिनिधिलाई हाजिर गर्नबाट बञ्चित गरेको भन्दै प्रमुख प्रशासकीय अधिकृत जीवन ज्ञवालीविरुद्ध उनीहरूले नारावाजी गरिरहेका छन्।
एमालेका जनप्रतिनिधिको नारावाजीपछि अहिले नगरसभा स्थलमा नगरप्रमुख र प्रमुख प्रशासकीय अधिकृतलाई सुरक्षाकर्मीले सुरक्षा दिएर राखेका छन्।
एमालेबाट कार्यपालिका सदस्य निर्वाचित सुरेन्द्र श्री ले प्रमुख प्रशासकीय अधिकृत ज्ञवालीले काङ्ग्रेससँगको राजनीतिक साठगाठ गरि आफूहरुलाई हस्ताक्षर गर्न नदिएको आरोप लगाए।
जनप्रतिनिधिलाई हस्ताक्षर गर्न रोक लगाएका ज्ञवाली नगरसभा स्थगित गरेपछि नेपाली कांग्रेसको नगर कमिटीको बैठकमा सहभागी भएको एमालेको आरोप छ।
गत असार १० गते प्रस्तुत गरिएको बजेट पारितको लागि उपप्रमुख जगेश्वरदेवी चौधरीले असार २१ गतेको लागि नगरसभा आव्हान गरेकी थिईन्।
तर नगर प्रमुख रामकृष्ण खाणले २१ गतेको नगरसभालाई २६ गते हुँदै ३१ गतेको लागि सारेका थिए। गणपुरक संख्या नपुगेको भन्दै ३१ गतेको बैठक स्थगित गरेका खाणले आईतबारको बैठक पनि स्थगित गरि अर्को बैठकमा अल्पमतमै बजेट पास गर्ने योजनामा रहेको उपप्रमुख चौधरीले बताईन्।
नगरप्रमुख खाण नगरसभाबाट बजेटमात्रै पारित गराउने योजनामा रहे पनि एमालेका जनप्रतिनिधिले भने बजेटसँगै न्यायीक समिति, लेखा समिति, विधायन समिति र सुशासन समिति समेत नगरसभाले पारित गर्नुपर्ने भएकोले यी विषयलाई पनि कार्यसूचीमा राख्नुपर्ने अडान लिएका थिए।
नगरप्रमुख खाणले बजेटमात्रै पास गर्ने र एमालेका जनप्रतिनिधीले बजेट पारित गर्दा चार वटा विषयगत समिति समेत नगरसभाले पारित गर्नुपर्ने वैधानिक व्यवस्था भए पनि नगरप्रमुख खाण विषयगत समिति गठन गर्ने तर्फ चासो नदिएको चौधरीले बताईन्।
नेपाली काङ्ग्रेसबाट मेयर र एमालेबाट उपमेयर निर्वाचित तिलोत्तमा नगरपालिकामा नेपाली काङ्ग्रेसका ४१ र एमालेका ४८ जना जनप्रतिनिधि निर्वाचित छन्।