बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेले आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा बुटवल मण्डपको नाम परिवर्तन गरी ‘गिरिजाप्रसाद कोइराला बुटवल मण्डप’ बनाउने घोषणा गरे।
राष्ट्रिय गौरवको आयोजनाको रूपमा बुटवल-१० रामनगरमा ‘बुटवल मण्डप’ नामाकरण गरी यसअघि नै बुटवल सम्मेलन केन्द्र र प्रदर्शनी केन्द्र निर्माण भइरहेका छन्।
हेर्नुहोस् समाचार-
पहिला नै बुटवलको ऐतिहासिकतासँग जोडेर बुटवल मण्डप नामाकरण गरिएकोमा नवनिर्वाचित मेयर पाण्डेले राजनीतिक आस्था र पूर्वाग्रहको आधारमा नाम परिवर्तन गर्न खोजेको भन्दै त्यसको विरोध सुरू भएको छ।
मेयर पाण्डेको उक्त निर्णयको नेकपा (एमाले) बुटवल नगर कमिटी, राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटी र वडा ६ कमिटीले संयुक्त विज्ञप्ति नै निकालेर विरोध जनाएका छन्।
एमाले नगर अध्यक्ष किशन ज्ञवालीले मेयर पाण्डेले नीति तथा कार्यक्रममै समावेश गरेको उक्त निर्णय सच्चाउन आग्रह गरेका छन्। उनले जनताको अवस्था परिवर्तन गर्नुको साटो मेयर पाण्डेल नामको राजनीति गर्न लागेको आरोप लगाए।
त्यस्तै, राष्ट्रिय युवा संघ नेपाल बुटवल उपमहानगर कमिटीका अध्यक्ष सुदर्शन खाम्चा र वडा नम्बर ६ का अध्यक्ष अमित भण्डारीले बुटवल मण्डपको नाम परिवर्तन गर्ने निर्णय नसच्चाए आन्दोलन गर्ने चेतावनी दिएका छन्।
उनीहरूले कुनै पनि पालिका तथा सरकारले नीति तथा बजेट ल्याउँदा सम्पूर्ण समुदायको मर्म भावना र पहुँच हुने गरी बनाउनु पर्नेमा बुटवलले स्थानीय जनताको भावनामा ठोस पुग्ने गरी बुटवल मण्डपको नाम परिवर्तन गर्ने निर्णय गरेको भन्दै आपत्ति जनाएका छन्।
बुटवल उपमहानगरपालिकाको आगामी वर्षको नीति तथा कार्यक्रम शंकास्पद र पार्टीगत रहेको उनीहरूको आरोप छ।
उनीहरूले जनताको मर्म र भावनाविपरीत बुटवल मण्डपको नाम पार्टीकरण गर्न खोजिए शसक्त आन्दोलनमा उत्रन बाध्य हुने चेतावनी दिएका हुन्।
युवासंघले जनतासँग माफी मागेर उक्त बुँदा सच्याएर निर्णय खारेज गर्न आग्रह गरेको छ।
बुटवल मण्डपको नाममा गिरिजाप्रसाद कोइरालाको नाम जोड्ने मेयरको निर्णयको बुटवलका संघसंस्था र कांग्रेसकै स्थानीय नेताले पनि आलोचना गरेका छन्।
नेपाली कांग्रेसका क्षेत्रीय प्रतिनिधि हरि क्षेत्रीले मेयर पाण्डेले नीति तथा कार्यक्रम प्रस्तुत गरेलगत्तै नेतागणको नामबाट भन्दा पनि स्थानीयको संस्कृति, सम्पदा वा ऐतिहासिक पहिचानबाट नाम राख्दा राम्रो हुने सुझाव दिएका थिए।
उनले अहिलेको बुटवल मण्डप नै स्थानीयले मन पराएको भन्दै यो निर्णयमा पुर्नविचार गर्न आग्रह गरे।
बुटवल उद्योग वाणिज्य संघका अध्यक्ष उज्वल कसजु विभिन्न ठाउँमा रहेका यस प्रकारका मण्डप नेताको नामबाट भन्दा पनि स्थानीय पहिचानका आधारमा रहेकाले नेताको नाम राख्नु गलत भएको बताउँछन्।
रूपन्देहीको व्यापार संघका अध्यक्ष कृष्ण घिमिरे र रूपन्देही उद्योग संघका अध्यक्ष माधव पौडेलले पनि बुटवल मण्डप बुटवल मण्डपका रूपमा राष्ट्रभरि नै परिचित भइसकेको अवस्थामा अरू नाम फेर्ने निर्णयमा आफूहरूको असहमति रहेको बताएका छन्।