आठ वर्षअघि एक किशोरीलाई बलात्कार गरेको आरोप लागेका मनोज पाण्डेविरूद्ध मानव बेचबिखन तथा ओसारपसारको अभियोग लगाउँदै काठमाडौं सरकारी वकिल कार्यालयले बुधबार दर्ता गरेको मुद्दामा पाँच जनाको बयानलाई मुख्य आधार बनाइएको छ।
मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आठ वर्षअघि मिस ग्लोबल इन्टरनेसनलमा भाग लिएकी १६ वर्षीया किशोरीलाई आमाबुवाको अनुमतिबिना एउटा ठाउँ भनी अर्को ठाउँ बोलाएर बलात्कार गरेको र अरूलाई समेत बलात्कार गर्न लगाएको भन्दै सरकारी वकिलले मुद्दा दर्ता गरेको हो।
मनोजकुमार जैसीसमेत भनिने पाण्डेलाई सरकारी वकिलले १० देखि १२ वर्ष कैद सजाय र ५० हजारदेखि १ लाख रूपैयाँ क्षतिपूर्ति माग गर्दै काठमाडौं जिल्ला अदालतमा मुद्दा दर्ता गरेको छ। उक्त मुद्दामा पाँच जनाको बयानलाई मुख्य प्रमाणका रूपमा लिइएको छ।
ती पाँच जनामा पूर्व मिस नेपाल माल्भिका सुब्बा र फोटोग्राफर श्रीधर पौडेलसहित तीन जना चिकित्सक छन्।
जिल्ला प्रहरी परिसर काठमाडौंले अनुसन्धान क्रममा पीडित किशोरी र आरोपित पाण्डेबाहेक यी पाँच जनासँग बयान लिएको थियो। उनीहरूले आफ्नो बयानमा मनोज पाण्डेविरूद्ध बोलेका छन्।
प्रहरीले प्रमाणका रूपमा पीडित किशोरीले टिकटकमा पोष्ट गरेको भिडिओको सिडी र आरोपित पाण्डेको अफिसमा फेला परेको ल्यापटप पनि बरामद गरेको छ। ल्यापटप परीक्षण गर्न प्रहरी प्रधान कार्यालय नक्साल पठाइएको छ। रिपोर्ट आइसकेको छैन।
होटल रिजेन्सीबाट बरामद भएका कागज पनि प्रमाणका रूपमा पेस गरिएको छ। ती कागजपत्रबाट पाण्डेले मानव बेचबिखन तथा ओसारपसार गरेको पुष्टि हुने अभियोगपत्रमा उल्लेख छ।
पीडितलाई २०७१ असोज १० गते भद्रकालीस्थित आर्मी क्लबमा भएको सुन्दरी प्रतियोगिताको केही दिनपछि 'सक्सेस पार्टी' को बहानामा बोलाई जबर्जस्ती करणी गरेको र अश्लील फोटो-भिडिओ खिचेको छु भनी त्रास देखाएर विभिन्न स्थानमा लगी जबर्जस्ती करणी गरेको अभियोगपत्रमा छ।
'त्यही क्रममा होटल रिजेन्सीमा जान बाध्य पारी पटकपटक करणी गरेको र अन्य पुरूषलाई समेत बोलाएर जबर्जस्ती करणी गर्न लगाई वेश्यावृत्तिमा लगाएकाले मानव बेचबिखन तथा ओसारपसारसम्बन्धी कसुरको वारदात पुष्टि हुन आयो,' अभियोगपत्रमा उल्लेख छ।
पीडित युवतीले आठ वर्षअघिको उक्त घटना गत जेठ पहिलो साता टिकटकमार्फत् सार्वजनिक गरेकी थिइन्। उनले उक्त भिडिओमा पूर्व मिस नेपाल माल्भिका सुब्बा र फोटोग्राफर श्रीधर पौडेलको नाम उल्लेख गरेकी छन्।
आफूले सुब्बालाई घटनाबारे जानकारी गराउन सम्पर्क गरे पनि बेवास्ता गरिएको उनको आरोप छ।
प्रहरीले यसबारे सोधपुछ गर्दा सुब्बाले भनेकी छन्, ‘सौन्दर्य प्रतियोगिता भएको अन्दाजी तीन महिनापछि पीडितले मलाई फोन गरेर तपाईंसँग मनोजका बारेमा कुरा गर्नुछ भन्नुभएको थियो। म पारिवारिक अवस्था र मानसिक तनावमा रहेकाले अहिले तपाईंसँग कुरा गर्न सक्दिनँ, पछि गरौंला भनेको थिएँ।’
त्यसपछि पीडितसँग कुनै कुरा नभएको उनले बताएकी छन्। टिकटकबाटै आफूले उक्त घटनाबारे जानकारी पाएको उनको भनाइ छ।
‘पीडितले आफूलाई अन्याय भएको भिडिओ सार्वजनिक गरेपछि मैले उक्त घटनाबारे थाहा पाएँ। पीडितप्रति मेरो पूर्ण सहानुभूति छ। मैले सामाजिक सञ्जालमार्फत् आफ्नो धारणा बताइसकेकी छु,’ उनले भनिन्।
फोटोग्राफर पौडेलले आफूलाई घटना भएको केही महिनापछि पाण्डेको अफिसमै यसबारे जानकारी भएको उल्लेख गरेका छन्। पौडेल उक्त सौन्दर्य प्रतियोगिताका फोटोग्राफरसमेत थिए।
कन्सल्टेन्सीबाट फोन आएपछि आफू पाण्डेको अफिस गएको उनले बताएका छन्।
‘प्रतियोगिताको केही महिनापछि मलाई कन्सल्टेन्सीबाट फोन गरेर लफडा भएको छ भनी जानकारी गराइएको थियो। म दिउँसो त्यहाँ पुग्दा पीडित रोइरहेकी थिइन्। पाण्डेमाथि हातपात भइरहेको थियो। पीडितले पटकपटक आफ्नो शरीरका संवेदनशील अंगहरूमा छुने, समाउने गरेको र यौन शोषण भएको बताएकी थिइन्,’ पौडेलले भनेका छन्।
आफूले त्यसै बेला पाण्डेसँग सोधपुछ गरेको उनले बयानमा भनेका छन्। पाण्डे मौन रहेपछि आवेगमा आएर क्यालेन्डरले प्रहार गरेको पनि उनले बताएका छन्।
‘मैले आवेगमा आएर टेबलमा रहेको क्यालेन्डरले हानेको हुँ। अहिले आएर पाण्डेले पीडितलाई जबर्जस्ती करणी गरी वेश्यावृत्ति समेतमा लगाएको भन्ने थाहा पाएँ,’ उनले दिएको बयानमा उल्लेख छ।
पाण्डेले घटनाबारे इन्कारी बयान दिएका छन्। उनले आफूलाई पौडेलले क्यालेन्डरले हिर्काएको भने स्विकारेका छन्।
‘सौन्दर्य प्रतियोगिता भएको केही समयपछि पीडित अचानक मेरो अफिसमा आएर मलाई शोषण भयो भनेर भनेको र त्यो अवस्थामा मेरो अफिसको स्टाफले श्रीधरलाई बोलाएका रहेछन्,’ उनले बयानमा भनेका छन्, ‘श्रीधर मेरो अफिसमा आएर सबैको कुरा बुझेपछि म बस्ने गरेको टेबलमा भएको क्यालेन्डरले मलाई हानेर तपाईं चुप लाग्नुहोस् भनेका थिए।’
त्यति बेला पीडितले पाण्डेले पठाएका मेसेज र कल रेकर्डहरू देखाएको भिडिओमा बताएकी छन्। फोटो र भिडिओ पनि त्यही बेला हटाउन लगाएको युवतीले भनेकी छन्।
अभियोगपत्रमा पीडितको उपचार गरेको मेट्रो अस्पताल, महाराजगन्जका मनोचिकित्सकको बयान पनि छ।
पीडित आफूकहाँ उपचार गराउन आउँदा आत्तिने, डराउने र आत्महत्याबारे सोच्ने गरेको उनले बताएका छन्। उपचारकै क्रमा पीडित किशोरीले उक्त घटनाबारे आफूलाई जानकारी गराएको ती चिकित्सकले भनेका छन्।
आफूलाई घटनाबारे थाहा भए पनि पीडितको अनुमतिबिना कसैलाई भन्न नमिल्ने हुँदा केही नबोलेको उनको बयान छ।
‘मेरो सम्पर्कमा आउँदा नै उनले जानकारी गराएकी थिइन्। तर उनको मञ्जुरी र अनुमतिबेगर अरू कसैलाई बताउन नमिल्ने भएकाले मैले कसैलाई भनिनँ,’ चिकित्सकले बयानमा भनेका छन्, ‘मैले उनलाई यस्ता घटना लुकाएर राख्न हुँदैन, तपाईंले प्रहरीको सहयोग लिनुपर्छ, आफूलाई परेको पिरमर्का बाहिर ल्याउनुपर्छ भनेर सल्लाह दिएको थिएँ।’
पीडित युवतीले भिडिओमा आफू डिप्रेसनको शिकार भएको र नर्भिक इन्टरनेसनल अस्पतालका मनोचिकित्सकसँग उपचार गराएको बताएकी छन्।
नर्भिकका मनोचिकित्सकले पनि उनको अवस्थाबारे बयान दिएका छन्। उनले पनि युवतीलाई घटना सार्वजनिक गर्न सुझाएको बताएका छन्।
पीडित किशोरीले पाण्डेकै साथीले पनि आफूमाथि बलात्कार गरेको उल्लेख गरेकी छन्। ती व्यक्ति को हुन् भन्ने खुलिसकेको छैन। पाण्डेले आफूलाई अनामनगरको होटलमा लगेको र त्यहाँ ती व्यक्ति पहिल्यैदेखि भएको उनको भनाइ छ।
‘पाण्डेले ती व्यक्तिलाई देखाउँदै यो मानिससँग शारीरिक सम्पर्क राख, म हेर्छु भनी त्रासपूर्ण तरिकाले भनेका थिए,’ पीडितले भनेकी छन्, ‘त्यो अपरिचित व्यक्तिबाट जबर्जस्ती करणी गराएर आफू हेरेर बसे। त्यो मान्छेलाई म चिन्दिनँ।’
सरकारी वकिल कार्यालयका प्रमुख गंगाप्रसाद पौडेलले ती व्यक्तिको पहिचान नखुलेको बताए।
‘उनले पनि बलात्कार गरेको भन्ने छ तर को हुन् भन्ने खुलिसकेको छैन,’ उनले भने, ‘त्यसमा पनि अनुसन्धान भइरहेको छ।’
पीडित युवतीले आफूमाथि भएको बलात्कारका घटना गत जेठमा सार्वजनिक गरेपछि प्रतिनिधिसभाका सभामुख अग्नि सापकोटाले रूलिङ गर्दै छानबिन गर्न निर्देशन दिएका थिए।
त्यसपछि काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक वसन्त कुँवरको नेतृत्वमा छानबिन समिति गठन भएको थियो। बलात्कारको घटनामा हदम्याद सकिएको हुँदा समितिले विज्ञहरूसँग छलफल गरेको थियो। विज्ञहरूले मानव बेचबिखनको कसुरमा मुद्दा अघि बढाउन सकिने राय दिएपछि प्रहरीले त्यसैअनुसार अनुसन्धान गरेको हो।
यसैबीच अर्की एक युवती पनि प्रहरीको सम्पर्कमा आएकी थिइन्। उनले पनि आफूमाथि बालयौन दुर्व्यवहार भएको भन्दै प्रहरीमा जाहेरी दिएकी थिइन्।
प्रहरीले जेठ ७ गते स्वयम्भुबाट पाण्डेलाई पक्राउ गरेको थियो। थप अनुसन्धानका लागि उनलाई जिल्ला परिसर काठमाडौं बुझाइएको थियो। परिसरले अनुसन्धान सकेर गत शुक्रबार आफ्नो प्रतिवेदन सरकारी वकिल कार्यालयमा बुझाएको थियो।
पाण्डेद्वारा सञ्चालित मोडल ग्लोबल भिसाज कन्सल्टेन्सीले विद्यार्थीहरूलाई विदेश पठाउने र मिस नेपालजस्ता सुन्दरी प्रतियोगिता तथा कार्यक्रम आयोजना गर्छ। मिस ग्लोबल पनि यही कन्सल्टेन्सीले आयोजना गरेको हो।
मिस ग्लोबल प्रतियोगितामा आफू छानिएपछि आयोजक कन्सल्टेन्सीका सञ्चालक पाण्डेले आफूलाई सफलताको पार्टीका लागि बानेश्वरस्थित एभरेस्ट होटलमा बोलाएको युवतीले बताएकी छन्। आफू त्यहाँ पुग्दा सञ्चालकबाहेक कोही नभएको उनको भनाइ छ।
उनका अनुसार, किन कोही नभएको भनेर सोध्दा ती सञ्चालकले 'तिमी अलि छिटो आयौ, एकछिन बस, पाँच-छ बजेबाट पार्टी सुरू हुन्छ' भनेका थिए। एकछिन बसेपछि उनले किशोरीलाई लेमोनेड खान दिए।
त्यसपछि कोठामा लगेर बलात्कार गरेको उनले भनेकी छन्। घटनाबारे कसैलाई बताए फोटो र भिडिओ सार्वजनिक गरिदिन्छु भनेर धम्क्याएको उनले बताएकी छन्।