भर्खरै सम्पन्न स्थानीय चुनावमा हामीले नेपालका दसवटा सहरको परिणामबारे प्रक्षेपण र विश्लेषण गरेका थियौं। हामीले गरेका ती सबै प्रक्षेपण र विश्लेषण मिलेको छ।
सेतोपाटी टिमले चुनाव प्रक्षेपण गरेका सहरहरू काठमाडौं, धरान, भरतपुर, पोखरा, विराटनगर, इटहरी, जनकपुर, धनगढी, वीरगन्ज र बुटवल हुन्।
हामीले यी दस सहरका मतदातासँग प्रत्यक्ष भेटेर त्यहाँका उम्मेदवार, उनीहरूको सरोकारका मुद्दा र राजनीतिक दलहरूप्रति उनीहरूको धारणाबारे छलफल गरेका थियौं।
त्यसमध्ये संघीय राजधानी काठमाडौंमा मतदानकै दिन भोट हालेर फर्किएका मतदाताहरूलाई 'तपाईंले कसलाई भोट दिनुभयो' भनेर पनि सोधेका थियौं। उक्त 'एक्जिट पोल' का आधारमा मतदान सम्पन्न भएको केही घन्टाभित्रै हामीले काठमाडौंमा स्वतन्त्र उम्मेदवार बालेन शाहले जित्ने प्रक्षेपण सार्वजनिक गरेका थियौं।
त्यो प्रक्षेपणमा हामीले नेपाली कांग्रेसका उम्मेदवार सिर्जना सिंह र नेकपा एमालेका उम्मेदवार केशव स्थापितबीच कडा प्रतिस्पर्धा भई सिर्जना दोस्रो र स्थापित तेस्रो हुने लेखेका थियौं। यी तीन जना मेयर उम्मेदवारबाहेक बाँकी सबैको जमानत जफत हुन्छ भन्ने पनि हामीले लेखेका थियौं।
पूर्वी सहर धरानले पनि यसपालि स्वतन्त्र उम्मेदवार हर्क साम्पाङलाई जिताएर 'सरप्राइज' दिनसक्छ भनेर हामीले आफ्नो विश्लेषणमा लेखेका थियौं।
धरान उपमहानगरका २० वटै वडाका विभिन्न टोल पुगेर करिब सय जना मतदातासँग हामीले कुराकानी गर्दा ४० वर्षीय साम्पाङप्रति धरानवासीमा अभूतपूर्व आकर्षण देखिएको थियो।
कांग्रेस र एमालेले उनलाई हलुका रूपमा लिएका भए पनि मतदाताले भने गम्भीरतापूर्वक लिएका थिए। धेरैले वैशाख ३० मा उनलाई मत दिने निधो गरेको हामीलाई बताएका थिए।
हामीले कुरा गरेकामध्ये झन्डै ३६ प्रतिशत मतदाताले साम्पाङलाई मत दिने बताएका थिए भने कांग्रेसका उम्मेदवारलाई मत दिन्छु भन्नेको संख्या २२ प्रतिशत र एमालेलाई मत दिन्छु भन्नेहरू १८ प्रतिशत थिए।
भरतपुरमा पनि हामीले कुरा गरेका मतदातामध्ये एमालेका विजय सुवेदीलाई भन्दा गठबन्धन तर्फबाट उठेकी माओवादी केन्द्रकी रेनु दाहाललाई भोट हाल्छु भन्नेहरू थोरै बढी थिए। तर हामीले कुराकानी गरेकामध्ये झन्डै एकतिहाइले कसलाई भोट हाल्छु भनेर निर्णय नगरिसकेको बताएका थिए।
भरतपुरमा हामीले २ सय ४२ जना मतदातासँग कुरा गरेका थियौं। तीमध्ये सबभन्दा धेरै ६५ जना अर्थात २७ प्रतिशतले रेनुलाई मत दिन्छौं भने। रेनुको अत्यन्त निकटमा एमालेका विजय थिए। उनलाई ५७ जना अर्थात २३ प्रतिशतले मत दिन्छु भने।
कांग्रेसका बागी उम्मेदवार जगन्नाथलाई २३ जना अर्थात ९ प्रतिशतले मत दिने बताएका थिए। कसलाई मत दिने भनेर निर्णय गरिनसकेका ९७ जना थिए। यी अनिर्णितमध्ये बहुसंख्यकले आफूहरू कांग्रेसी भएको खुलाएका थिए। अनिर्णित कांग्रेसी मतदाताले अन्तिम समयमा एमालेलाई भन्दा रेनु वा जगन्नाथलाई मत दिने सम्भावना धेरै भएको हुँदा रेनुले जित्ने विश्लेषण हामीले गरेका थियौं।
पोखरा महानगरपालिकाका ३३ मध्ये हामीले २५ वटा वडामा पुगेर १ सय ५० मतदातासँग कुराकानी गरेका थियौं। ती मतदातासँग हामीले उनीहरूका मुख्य चासो, स्थानीय विकासका एजेन्डा र कुन उम्मेदवारलाई किन मत दिनु हुन्छ भनेर सोधेका थियौं।
हामीले कुराकानी गरेका १ सय ५० मतदातामध्ये ५६ मतदाताले एकीकृत समाजवादीका धनराज आचार्यलाई मत दिने बताएका थिए। तीमध्ये ३१ जनाले अघिल्लो स्थानीय निर्वाचनमा नेपाली कांग्रेसलाई मत दिएका थिए।
त्यस्तै अघिल्लोपटक मेयरमा नेकपा एमालेलाई मतदान गरेका २१ मतदाताले पनि धनराजलाई मत दिने बताए।
विगतमा एमालेको राजनीति गरेका र तुलनात्मक रूपमा मिजासिलो व्यक्तित्वका कारण एमाले मतदातासमेत धनराजप्रति सकरात्मक देखिएको हाम्रो ठम्याइ थियो। कांग्रेसका अधिकांश मतदाता पनि धनराज आचार्यको पक्षमा खुलेका थिए।
अर्कातिर हामीले कुराकानी गरेका १ सय ५० मतदातामध्ये ३८ जनाले एमालेका कृष्ण थापालाई सूर्य चिह्नमा मतदान गर्ने बताएका थिए। केही मतदाता भने अनिर्णित अवस्थामै थिए। अनिर्णित मतदाताले सूर्यमा मतदान गर्ने हो भने पोखरामा एमालेको गढ जोगिन सक्ने तर त्यो समूहको आधाले मात्र कलममा मतदान गरे एमालेको गढ भत्कने हाम्रो विश्लेषण थियो।
अनिर्णित मतदातामध्ये आधाभन्दा धेरैलाई आफ्नो पक्षमा तान्न एमालेलाई धेरै कठिन हुने पनि हामीले भनेका थियौं।
प्रदेश १ को एक मात्र महानगर विराटनगरमा हामीले १९ वटै वडामा पुगेर १ सय ३० जना मतदातासँग कुराकानी गरेका थियौं। तीमध्ये ४० प्रतिशतले कांग्रेसका नागेश कोइरालालाई मत दिने बताएका थिए।
एमाले उम्मेदवार सागर थापालाई भोट दिन्छु भन्नेको संख्या १६ प्रतिशत थियो भने ९ प्रतिशत मतदाताले स्वतन्त्र उम्मेदवार उमेश यादवलाई मत दिने बताएका थिए।
२०७४ को निर्वाचनमा दुइटा फरक गठबन्धनलाई एक्लै हराएको कांग्रेससँग विराटनगरमा बलियो परम्परागत मत कायम रहेको लगायत कारणले नागेशको पल्ला भारी भएको हामीले विश्लेषण गरेका थियौं।
इटहरी उपमहानगरमा हामीले २० वटै वडामा पुगेर ८५ जना मतदातासँग कुराकानी गरेका थियौं। उनीहरूको कुराकानीका आधारमा यसपालि इटहरीको मेयर कांग्रेसका हेमकर्ण पौडेलले जित्ने सम्भावना बलियो भएको हाम्रो विश्लेषण थियो।
हामीले कुरा गरेकामध्ये ४२ प्रतिशत मतदाताले पौडेललाई मत दिने बताएका थिए। एमालेका यामकुमार सुब्बालाई मत दिन्छु भन्नेको संख्या ३३ प्रतिशत थियो। त्यसबाहेक १४ प्रतिशतले कसलाई भोट हाल्छु भनेर निधो गरिसकेका थिएनन्।
यसपालि मतदाताको रूझान, गएको निर्वाचनमा इटहरीमा कांग्रेस-एमालेबीच मतको अन्तर र स्थानीय राजनीतिमा कायम नयाँ शक्ति सन्तुलनले पनि कांग्रेसका हेमकर्णले जित्ने सम्भावना बलियो रहेको हामीले आफ्नो विश्लेषणमा उल्लेख गरेका थियौं।
वीरगन्ज महानगरपालिकामा हामीले ३२ वडामध्ये २७ वडाका विभिन्न टोल र बस्ती पुगेर १ सय ७० जना मतदातासँग कुराकानी गरेका थियौं। तीमध्ये ७७ जना अर्थात् ४५ प्रतिशत मतदाताले गठबन्धनका उम्मेदवार राजेशमान सिंहलाई मत दिन्छु भनेका थिए भने नेकपा एमालेका विजय सरावगीको पक्षमा ३६ जना मतदाता थिए।
राजेशमान र सरावगीमध्ये कसले जित्छ भन्नेमा उम्मेदवारी नदिएको कांग्रेसको मत निर्णायक थियो। किनभने वीरगन्ज महानगरमा कांग्रेसको ठूलो प्रभाव छ। गत निर्वाचनमा वडाध्यक्षहरूले पाएको मत जोड्दा कांग्रेसले सबभन्दा धेरै ल्याएको थियो भने मेयरको चुनावमा पनि कांग्रेसले दोस्रो धेरै मत ल्याएको थियो।
यसरी विगतका निर्वाचनको मतपरिणाम र मतदाताहरूसँगको कुराकानीका आधारमा हामीले वीरगन्जमा राजेशमानकै सम्भावना धेरै भएको विश्लेषण गरेका थियौं।
हामीले बुटवल उपमहानगरका ८० जना मतदातासँग गरेको कुराकानीले पनि कांग्रेस र एमालेबीच कडा टक्कर हुने देखिएको थियो। हामीसँगको कुराकानीमा २५ जना अर्थात ३१ प्रतिशतले कांग्रेसका खेलराज पाण्डेलाई र २१ जना अर्थात २६ प्रतिशतले एमाले उम्मेदवार बाबुराम भट्टराईलाई भोट दिने बताएका थिए।
यी दुवै प्रतिस्पर्धीलाई यसपालि राष्ट्रिय प्रजातन्त्र पार्टीका मेयर उम्मेदवार मृगेन्द्र शेरचनले दबाबमा राख्ने हाम्रो विश्लेषण थियो। हामीसँगको कुराकानीमा उनलाई भोट दिन्छु भन्नेहरू १७ जना अर्थात २१ प्रतिशत थिए।
हामीले धनगढीका १९ वटै वडामा गएर त्यहाँका एक सय जना मतदातासँग कुराकानी गरेका थियौं। हामीले कुराकानी गरेका मतदातामध्ये ३९ जनाले मेयरमा स्वतन्त्र उम्मेदवारी दिएका गोपाल हमाललाई भोट हाल्ने बताएका थिए।
कांग्रेसका नृप वडलाई भोट हाल्छु भन्नेहरू ३१ जना थिए भने १२ जनाले नेकपा एमालेका रणबहादुर चन्दलाई भोट हाल्ने बताएका थिए।
अघिल्लोचोटि पनि मेयर उठेर पराजित भएका हमालप्रति यसपालि मतदाताको रूझान बढेको पाइएको थियो। धनगढीमा हावा धेरै मात्रामा हमालतिर बहेको थियो।
वडले एकपटक मौका पाइसकेका र धेरै राम्रो काम गरेको भनेर खासै प्रशंसा नभएकाले कतिपय मतदातामा हमालतिर आकर्षण देखिएको हामीले आफ्नो विश्लेषणमा लेखेका थियौं।
उता जनकपुरधामका २५ मध्ये २२ वटा वडामा हामीले १ सय ३२ मतदातासँग कुराकानी गरेका थियौं। हामीसँग कुरा गरेका मतदाताको जवाफलाई आधार मान्दा जनकपुरमा दलका भन्दा स्वतन्त्र उम्मेदवार प्रभावशाली देखिएको थियो।
सत्तारूढ पाँचदलीय गठबन्धनले जनकपुरको मेयर जनता समाजवादी पार्टीलाई दिएपछि नेपाली कांग्रेसका नगर सभापति मनोज साहले स्वतन्त्र उम्मेदवारी दिएका थिए। २०७४ को चुनावमा दोस्रो भएका साहले यसपालि केन्द्रको निर्णय अवज्ञा गर्दै पार्टी नै छाडेर स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
त्यस्तै रमण कन्स्ट्रक्सनका सञ्चालक ठेकेदार बलराम महतो पनि मेयर बन्ने दौडमा थिए। जनकपुरमा परम्परागत मत नभएको एमालेले शिवशंकर साहलाई मेयर उम्मेदवार बनाएको थियो।
हामीले गरेको कुराकानीअनुसार बहुसंख्यक मतदाता स्वतन्त्र उम्मेदवारकै पक्षमा पाइए। हामीले कुराकानी गरेका १ सय ३२ मध्ये ४४ जनाले बलरामलाई भोट हाल्ने बताएका थिए भने ४२ जनाले मनोज साहलाई मत दिन्छु भनेका थिए।
तर ठेकेदार महतोको कम्पनी कालोसूचीमा परेको मिडियामा व्यापक रूपले आएपछि निर्वाचनको दिनसम्म उनी धेरै पछि पर्दै गए र मनोज साहले चुनाव जिते।