निर्वाचन पोस्टमर्टम शृंखला- १
यसपालिको स्थानीय निर्वाचनमा प्रमुख दलहरूको 'पपुलर मत' बढ्यो वा घट्यो भन्ने ठूलो चासोको विषय हो। अर्थात् पाँच वर्षअघिको तुलनामा कुन दलको लोकप्रियता बढ्यो वा घट्यो भन्ने महत्वपूर्ण कुरा हो।
प्रमुख दल सबै एक्लाएक्लै स्थानीय निर्वाचन लडेका भए कसको लोकप्रियता बढ्यो वा घट्यो भन्ने सिधै थाहा हुन्थ्यो। तर यसपालि प्रमुख प्रतिपक्षी दल एमाले लगभग सबै ठाउँमा एक्लै चुनाव लड्यो। सत्तासीन नेपाली कांग्रेस र माओवादी केन्द्र धेरै ठाउँमा गठबन्धन गरेर लडे। त्यसैले स्थानीय तहमा कसले कति जिते भन्ने आधारमा दलहरूको लोकप्रियता मापन गर्न मिल्दैन। संसदीय निर्वाचनमा जस्तो मतदाताले दलहरूलाई समानुपातिकतर्फ मत खसाल्दैनन्। त्यसैले दलहरूले पाउने 'पपुलर मत' दाँज्न सकिँदैन।
त्यसो भए पपुलर मत कसरी मापन गर्ने?
विगतका संसदीय निर्वाचनको मतको ट्रेन्ड हेर्ने हो भने एउटा 'प्याटर्न' देखिन्छ। प्रमुख दलका संसदका उम्मेदवारहरूले पाएको मत र दलहरूले समानुपातिकतर्फ पाएको मत लगभग मिल्छ। त्यसैलाई आधार मानेर हामीले यसपालिको स्थानीय तह निर्वाचनमा एमाले र कांग्रेसले पाएको पपुलर मतको विश्लेषण गरेका छौं।
हामीले यसपालि ७३० वटा पालिका प्रमुखमा एमालेका उम्मेदवारले एक्लै लड्दा पाएको मतलाई तिनै पालिकामा २०७४ सालमा एमालेका उम्मेदवारले पाएको मतसँग दाँजेर हेरेका छौं।
त्यस्तै नेपाली कांग्रेसले यसपालि एक्लै लडेकामध्ये ४०१ वटा पालिकाको मतसँग २०७४ सालमा कांग्रेसका उम्मेदवारले तिनै पालिकामा ल्याएको मतसँग तुलना गरेका छौं।
अब तथ्यांकको विश्लेषण गरौं।
एमालेका यसपालि निर्वाचन लडेका कुल ७३० पालिकामा उसका प्रमुखहरूले (जितेका र हारेका दुवै) पाएको जम्मा मत जोड्दा ३६ लाख ३९ हजार २५ पुग्छ।
यिनै पालिका प्रमुखमा उठेर २०७४ सालमा एमालेका उम्मेदवारहरूले जम्मा ३० लाख ८३ हजार ८ सय ३ मत ल्याएका थिए।
यसरी यी पालिकामा एमालेको ५ लाख ५५ हजार २ सय २२ मत बढेको देखिन्छ। अर्थात् २०७४ सालको दाँजोमा १८ प्रतिशत मत बढेको देखिन्छ।
तर २०७४ सालको तुलनामा मतदाता संख्या पनि बढेको छ। मतदाता संख्या २५.९ प्रतिशत बढेको देखिन्छ। एमालेको मत भने १८ प्रतिशत मात्र बढेको छ। त्यसको अर्थ एमालेको पपुलर मत यसपालि यी पालिकाहरूमा ७.९ प्रतिशत घटेको देखिन्छ।
अब नेपाली कांग्रेस २०७४ मा र यसपालि पनि एक्लै उठेकामध्ये ४०१ वटा पालिकाको मतपरिणामको विश्लेषण गरौं।
यी ४०१ पालिका प्रमुखमा कांग्रेस उम्मेदवारहरूले यसपालि जम्मा १९ लाख ६७ हजार ४ सय २२ मत ल्याएका छन्। यिनै पालिकामा २०७४ सालमा कांग्रेसका उम्मेदवारहरूले जम्मा १४ लाख ९२ हजार ५ सय ६४ मत ल्याएका थिए। यी पालिकामा कांग्रेसले यसपालि ४ लाख ७४ हजार ८ सय ५८ बढी मत ल्याएको छ। अर्थात् पाँच वर्षअघिको दाँजोमा ३१.८ प्रतिशत मत बढाएको छ।
तर यो सबै कांग्रेसले यसपालि थपेको मत होइन। पाँच वर्षअघिको भन्दा यसपालि मतदाता संख्या २५.९ प्रतिशत बढेको छ। त्यसैले मतदाताको यो प्राकृतिक वृद्धिदर घटाउने हो भने कांग्रेसका पालिका प्रमुख उम्मेदवारले यसपालि ५.९ प्रतिशत मत बढाएका छन्।
यो माथिको तथ्यांकका आधारमा कांग्रेसको पपुलर मत यसपालि बढेको र एमालेको घटेको देखिन्छ। एमालेको मत ७.९ प्रतिशत घट्दा कांग्रेसको मत ५.९ प्रतिशत बढेको छ।
हामीले सहरी क्षेत्रमा एमालेको मत पाँच वर्षअघिको तुलनामा के भएको छ भनेर छुट्टै विश्लेषण गरेका छौं।
हामीले ६ महानगरपालिका र ११ उपमहानगरपालिकामा एमालेको मत केलाएका छौं। यी पालिकाहरूमा २०७४ को दाँजोमा कांग्रेसको मत भने विश्लेषण गर्न मिलेन। किनभने अघिल्लो पटक एक्लै लडेको कांग्रेसले यसपालि लगभग यी सबै पालिकामा माओवादीसँग गठबन्धन गरेको छ।
अघिल्लो पटक यी नगरहरूमा एमालेका मेयर उम्मेदवारले जम्मा ४ लाख ५ सय ६१ मत ल्याएका थिए। यसपालि जम्मा ४ लाख १९ हजार ३ सय ७८ मत ल्याएका छन्।
चुनावको अन्तिम परिणाम आउन बाँकी नगरहरूमा पनि हामीले अहिलेको मतको ट्रेन्डअनुसार कुल मत समायोजन गरेर यो संख्या राखेका हौं। हामीले जोडेको कुल मतमा हजार मतभन्दा धेरै फरक पर्दैन भन्ने हाम्रो विश्वास छ। र यसपालि कति प्रतिशत मत बढ्यो भन्नेमा त्यसले झनै झिनो अन्तर मात्र पार्नेछ।
यसरी हेर्दा एमालेले यी १७ नगरहरूमा २०७४ सालको तुलनामा यसपालि १८ हजार ८ सय १७ मत मात्र बढाएको देखिन्छ। अर्थात् ४.६ प्रतिशत मात्र मत बढेको देखिन्छ। जबकि मुलुकभरिको यसपालि मतदाता संख्या २५.९ प्रतिशत बढेको छ। त्यस आधारमा भन्दा महानगर र उममहानगर गरी यी १७ वटा पालिकामा एमालेको मत २०७४ को दाँजोमा २१ प्रतिशतभन्दा बढीले घटेको देखिन्छ।
हामीले ख्याल गर्नुपर्ने अर्को कुरा महानगर र उपमहानगरमा यसपालि देशभरको औसतभन्दा धेरै मतदाता संख्या बढेको छ। त्यसैले २०७४ को दाँजोमा यी नगरमा एमालेको मत २१ प्रतिशतभन्दा धेरै घटेको हुनुपर्छ।
यसपालि एमालेको पपुलर मत घट्नुका पछाडि तीन वटा प्रमुख कारण हुन सक्छन्।
पहिलो, पाँच वर्षअघि स्थानीय र संघीय निर्वाचन हुँदा एमाले अध्यक्ष केपी ओली आफ्नो लोकप्रियताको शिखरमा थिए। भारतीय दबाबका बाबजुद समयमै संविधान जारी गर्न र संविधान जारी भएपछि भारतले लगाएको नाकाबन्दीका बेला निर्भीकतापूर्वक उभिन उनले खेलेको भूमिकाले गर्दा ओलीको लोकप्रियता चुलिएको थियो।
त्यसले गर्दा २०७४ सालको स्थानीय निर्वाचन र संघीय निर्वाचनमा एमालेको मत बढ्यो। स्थानीय निर्वाचनमा पनि एमाले पहिलो दल बन्यो। र संघीय निर्वाचनमा पहिलो पटक पपुलर मतमा नेपाली कांग्रेसलाई ४५ हजार मतले पछि पार्दै सबभन्दा ठूलो दल बन्यो। २०४८ सालमा बहुदलीय निर्वाचन भएयता एमालेले पहिलो पटक २०७४ सालमा कांग्रेसलाई पपुलर मतमा जितेको थियो।
दोस्रो कारण, एमालेमा आएको फुट र त्यसले पारेको मनोवैज्ञानिक प्रभाव हो। झन्डै दुईतिहाई मतसहित सरकारमा पुगेका ओलीले दुई-दुई पटक संसद विघटन गरेपछि उनको लोकप्रियता घटेको थियो। अदालतले दुवै पटक संसद पुनर्स्थापना गरेर ओलीले सत्ता गुमाएपछि 'ओली ब्रान्ड' मा थप क्षति पुग्यो। यसैबीच नेकपा मात्र फुटेन, नेता माधव नेपालको नेतृत्वमा एमाले पनि फुटेर नेकपा एकीकृत समाजवादी निर्माण भयो। नेता र कार्यकर्ताको एउटा पंक्ति नेता नेपालसँग गयो। एकीकृत समाजवादीले एमालेलाई कति असर पार्यो, त्यसको विश्लेषण हुन बाँकी छ। तर मुख्यगरी सहरी इलाकामा केही मत काटेको देखिन्छ।
काठमाडौंको अहिलेसम्मको मतपरिणामले त्यसको पुष्टि गर्छ। यो विश्लेषण लेख्दासम्म काठमाडौंका २३ वडाको परिणाम आएको छ। यी वडामध्ये ७ वटा वडामा एकीकृत समाजवादीले कसैसँग गठबन्धन नगरी वडाअध्यक्षमा उम्मेदवारी दिएको थियो। यी ७ वडामा एमालेका वडाध्यक्षहरूले जम्मा ८ हजार ६ सय ९६ मत ल्याएका छन्। एकीकृत समाजवादीका उम्मेदवारहरूले पनि यी वडामा जम्मा २ हजार १५८ मत ल्याएका छन्। अर्थात् उनीहरूले एमालेको तुलनामा २४.९ प्रतिशत मत ल्याएका छन्।
काठमाडौं, भरतपुर, विराटनगर, पोखरा, बुटवल, धरान, इटहरीजस्ता सहरहरूमा एमालेका मेयर उम्मेदवारहरूको मत जसरी घटेको छ, त्यसले पनि मुख्य नगरहरूमा यसपालि एमालेलाई पुगेको क्षतिबारे संकेत गर्छ।
तेस्रो, लगभग सबैजसो महानगर र उपमहानगर पालिकामा एमालेविरूद्ध सत्तासीन दलहरूले मिलेर चुनाव लडेका छन्। र उनीहरूलाई यी पालिकाहरूमा ठूलो सफलता पनि मिलेको छ। सत्ता गठबन्धन मिलेर लडेकाले आम मतदतालाई उनीहरूले नै जित्छन् भन्ने भान परेर पनि कतिपय मत त्यतै गएको हुन सक्छ।
पपुलर मतको रूझानको अझ प्रस्ट चित्र हेर्न एमाले र कांग्रेसको मतपरिणामको विश्लेषणले मात्र पुग्दैन। तेस्रो ठूलो दल माओवादी केन्द्र र मुलुकका धेरै पालिकामा उम्मेदवारी दिएको राप्रपाको मतको पनि विश्लेषण गर्नुपर्छ। एकीकृत समाजवादीले छुट्टै लडेका पालिका वा वडा तहमा ल्याएका थप मतको पनि विश्लेषण जरूरी हुन्छ। आगामी दिनहरूमा मतपरिणामबारे थप कोणबाट पोस्टमर्टम र विश्लेषण गर्नेछौं।